सिरहा — अहिले त हाम्रो गाउँघर पनि रमाइलो भएको छ । भोट हाल्ने दिन नजिक आएपछि दिनदिनै नेताहरू आइरहेका छन् । पहिले महिनौं सुनसान हुने गाउँमा चहलपहल बढेको छ । टाढा गएका चिनजानका मानिस पनि आएका छन् । गाउँमा धेरै मानिस आएका बेला बरु म चाहिँ हुदिनँ ।
फुर्सद हुनेलाई पो चुनाव लागेको छ । मलाई त काम लागेको छ । कि म खेतमा हुन्छु, कि बजार पुगेको हुन्छु । अहिले म ४५ वर्षको भएँ । अहिलेसम्म धेरै चुनाव हेरियो । धेरैपटक नेताले यो गर्छु, त्यो गर्छु भनेर आश्वासन पनि दिए । नेताहरूले गरेको वाचा पूरा भएको भए हाम्रो यो हालत हुन्थेन । नेतालाई किसानको भोटसँग मात्रै मतलब हुने रहेछ । हाम्रो समस्यासँग होइन ।
त्यसैले अब नेताप्रति विश्वास लाग्नै छाड्यो । आफ्नो काम बाहेक नेताहरूको अघिपछि गर्न समय पनि छैन । बिहानै खेतमा जान्छु, त्यहाँबाट तरकारी टिपेर जिल्लाका लगभग सबै बजार–बजार डुल्छु । मैले सुखीपुर नगरपालिका–७ स्थित बल्हीमा रहेको आफ्नै दुई कट्ठा बारीमा तरकारी खेती गरेको छु ।
सिजनअनुसार कहिले खुर्सानी, कहिले भान्टा, कहिले टमाटर लगायतका फरक–फरक किसिमका तरकारी उब्जाउँछु । खासगरी बजारमा तरकारी बिक्री गर्ने मेरो जिम्मेवारी हो । प्रायः श्रीमती र छोराछोरीले बारीमा काम गर्छन् । मेरा ४ छोरी र एक छोरा छन् । उनीहरू गाउँकै सरकारी स्कुलमा पढ्छन् ।
