चितवन क्षेत्र नम्बर ३ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सोबिता गौतमले भ्रष्टाचार र सुशासन कहिल्यै एकै ठाउँमा रहन नसक्ने बताएकी छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अँध्यारो र उज्यालोको उदाहरण दिँदै देशमा सुशासन कायम गर्न भ्रष्ट शक्तिहरूको अन्त्य अनिवार्य रहेको उल्लेख गरिन्।
“अँध्यारो र उज्यालो एकै ठाउँमा रहन सक्दैन, त्यसैगरी सुशासन चाहने हो भने भ्रष्टाचारीको अन्त्य हुनैपर्छ,” गौतमले भनिन्, “त्यसका लागि मतदाताले भ्रष्ट पार्टीहरूलाई पराजित गर्नैपर्ने बेला आएको छ।”
सम्बोधनका क्रममा उनले आगामी निर्वाचनपछि बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार बन्ने दाबी समेत गरिन्। बालेनको नेतृत्वमा बन्ने सरकारले नै देशको नयाँ भविष्य कोर्ने उनको भनाइ थियो। निर्वाचन नजिकिँदै गर्दा रास्वपाले सुशासन र नेतृत्व परिवर्तनलाई मुख्य चुनावी एजेन्डा बनाएको छ।