Suchana Vatika

विशेष महाधिवेशन रोक्न नियमित महाधिवेशनमा जाऔँ : विश्वप्रकाश शर्मा

‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा अहिलेको मुल प्रश्न यो होइन । नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन,’ शर्माले भने, ‘तर, विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७ (२) को स्पष्ट निर्देशन छ र यो हामी सबैका लागि बाध्यात्मक छ ।’

झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न भएको जिकिर गर्दै उनले मागलाई विशेष महाधिवेशनको आयोजना र त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्ने बताए । ‘यसमा हामी द्विविधामा पर्नुहुन्न,’ महामन्त्री शर्माले भने ।

शर्माले महाधिवेशनका लागि कांग्रेससँग तीन विकल्प रहेको पनि बैठकमा सुनाए । उनकाअनुसार पहिलो विकल्प आगामी पुस १६–१९ मा १५ औं महाधिवेशन गर्नु हो ।

‘बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको यो ऐतिहासिक तिथिमा महाधिवेशन सम्पन्न गरेर पार्टीभित्र एकता अभिवृद्धि गर्दै सिंगो देश समक्ष फेरि पनि राष्ट्रिय एकता र मेलमिलापको अपील गर्ने,’ महामन्त्री शर्माले भने ।

दोस्रो विकल्पमा उनले झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानको धारा १७ (२) बमोजिम माग गरेअनुरुप मंसिरभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने बताए ।

‘गाउँमा पार्टी जोगाएर बसेका हामी जत्तिकै र हामीभन्दा बढी मेहनत गर्न सक्ने साथीहरूको हस्ताक्षरलाई अनादर गर्ने छुट हामी कसैलाई छैन,’ महामन्त्रीले भने ।

केन्द्रीय कार्यसमिति आफैंले विशेष महाधिवेशन आह्वान पनि गर्न सक्ने महामन्त्री शर्माको भनाइ थियो । ‘महाधिवेशन प्रतिनिधिको मागबमोजिम आयोजना गर्दा कतिपय व्यवहारिक अलमल हुन सक्दछन् भन्ने ब्याख्या हो भने ‘केन्द्रीय समितिले चाहेमा’ भनेर विधानको सोही दफामा उल्लेख भएअनुरुप विशेष महाधिवेशन बोलाउन सकिन्छ,’ उनले भने, ‘यो तेस्रो विकल्प हो ।’

महामन्त्री शर्माले बैठकमा ‘पुसको अन्तिम साता जुनसुकै मितिमा पनि महाधिवेशन गर्न सकिने’ भन्दै चौथो विकल्पका रूपमा प्रस्तुत गरे ।‘फेरि पनि नियमितमै जाउँ भनेर सहमतिपूर्वक बीचको बाटो खोज्ने हो भने पुसको अन्तिम साताको कुनै पनि मितिमा १५ औं महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘अन्ततः नियमित महाधिवेशनमै जाँदा त्यसले हामीलाई विधान परिमार्जन गरेर व्यापक युवा सहभागिता बढाउन सहज पनि हुनेछ ।’

महामन्त्री शर्माले महाधिवेशन आयोजना गर्दा आमनिर्वाचनलाई असर पर्छ भन्दै आएका नेताहरूको भावनालाई आफूले सम्मान गरेको पनि बताए ।

‘म निवेदन गर्दछु– सुतेर बसेको पार्टी लिएर भन्दा अधिवेशन र विविध अभियानमार्फत् जुर्मुराएको पार्टी लिएर चुनावमा जाँदा त्यसले फागुन २१ को निर्वाचनमा पार्टीको प्रदर्शनलाई सकारात्मक बल पुग्नेछ,’ उनले भने ।

नियमित महाधिवेशनको मिति घोषणासँगै सबैभन्दा पहिले पार्टी एकताबद्ध भएको सन्देश जाने महामन्त्री शर्माको भनाइ थियो । मिति घोषणाले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गर्ने र नगर्नेहरूका बीचको दूरी मेटिएर जाने उनले तर्क गरे ।

महामन्त्री शर्माले मिति घोषणाले ६ हजार ७४३ वडामा एकैसाथ क्रियाशील सदस्यता नवीकरण र वितरणको अभियानले गति लिने पनि दाबी गरे ।

‘करिब चार लाख नयाँ सदस्य बन्ने छन् । यो समग्र जुर्मुराहटले आगामी निर्वाचनका लागि पार्टीमा नयाँ जागरण पैदा गर्नेछ,’ शर्माले भने ।

अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नभएको जिकिर गर्दै उनले ‘अघिको मनस्थिति’ अनुरुप नभएर ‘पछिको परिस्थिति’ अनुरुप सच्नुपर्ने आवश्यकता पनि औंल्याए ।

‘आजको विषम परिस्थितिमा नेपाली कांग्रेसले महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ उर्जा, नयाँ दृष्टि र नयाँ सन्देश देशलाई दिन सक्नै पर्छ,’ महामन्त्री शर्माले भने, ‘तब देशले पनि कांग्रेसलाई नयाँ विश्वासका लागि भरोसा गर्न सक्ने छ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.