Suchana Vatika

पार्टी सभापति नबनी नरोकिने गगनको नीति

काठमाडौं । गगन थापाले आफ्नो र पार्टीका गल्तीहरूको फेहरिस्त आफै केलाइसकेपछि । गल्तीहरूमा सार्वजनिक ग्लानि गरिसकेपछि, गगन कति गलत छन् भनेर अब अरुले भन्नुको अर्थ भएन । गगनका प्रशंसकहरूले पनि थाहा पाए कि हिजो उनीहरूले ‘महामन्त्रीका महान् काम’भनेका विषयमा पनि महामन्त्रीले माफी मागिसके । गगनका आलोचकहरूले पनि बुझ्नुपर्‍यो कि नयाँ विषय केही भए ल्याउनुपर्‍यो, अन्यथा पुराना जतिमा उनले माफी मागिसके ।

‘गगन थापा’- नेपाली कांग्रेसका महामन्त्री । कांग्रेसभित्र देवत्वकरण र दानवीकरण दुवैको केन्द्रमा उभिएका नेता । जेन-जी आन्दोलनबारे, कांग्रेसले लिनुपर्ने बाटोबारे, मुलुकले लिनुपर्ने दिशाबारे कांग्रेसभन्दा पहिले गगन बोलिसकेका छन् । कांग्रेसको बैठक १ महिनादेखि जारी छ ।

संस्थागत निर्णयको प्रतीक्षा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेतर्फ बढी केन्द्रित छ तर गगनले यी भन्दा बढी विषयमा आफ्नो धारणा प्रस्तुत गरिसकेका छन् । झट्ट हेर्दा हतारिएजस्तो, गहिरिएर हेर्दा सम्हालिएजस्तो । कांग्रेस महामन्त्री गगन थापा फेरी एक पटक बहसको केन्द्रमा छन् । कांग्रेसभित्र परम्परागत गुटहरू जेजस्तो भए पनि गगनका पछिल्ला राजनीतिक कदमले बहसको पक्षमा पनि गगन , विपक्षमा पनि गगन नै देखिएका छन् ।

भदौ २२ अघिको नेपाल र भदौ २३ पछिको नेपाललाई फरक–फरक ढंगले हेर्नुपर्ने गगनको मत छ । गगनका हकमा पनि यस्तै हुनुपर्छ । भदौ २२ अघिका गगन र भदौ २३ पछिका गगनलाई फरक–फरक ढंगले हेरिनुपर्छ । भदौ २२ सम्म कांग्रेसमात्रै सत्तामा थिएन, गगन पनि सत्तामै थिए ।

सत्ता सञ्चालनको संयन्त्रको सदस्यका रूपमा केपी ओली नेतृत्वको तत्कालीन सरकारका काममा गगनको प्रत्यक्ष साथ थियो । कतिपय विषयमा प्रकट भएका गगनका असहमति मिडिया कन्टेन्टका विषय हुन् तर गगन सत्ताको रथमा सवार थिए । यद्यपि पछिल्लो समय दिक्क भएर संयन्त्र छाडिसेका थिए ।

२०८३ साल असारसम्म केपी ओली नेतृत्वको सरकार रहने । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने । यी सबै गगनका सम्मतिका विषय हुन् । कांग्रेसको आन्तरिक राजनीतिमा पनि गगन सत्तापक्षमै थिए । सभापति शेरबहादुर देउवासँग पछिल्लो केही समय गगनको ‘केमेस्ट्री’ गज्जब मिलेको थियो । सभापति र महामन्त्री मिलेर काम गर्दा अरुले रिस गर्न हुँदैन भनेर गगनले नै भनेका थिए । पार्टीभित्र संस्थापन इतर भनिने समूहमा गगन जान छाडिसकेका थिए । पार्टी चलाउन देउवासँग र देश चलाउन ओलीसँग गगनको गज्जब सहकार्य थियो ।

उखुसँग संगत गरेर कागती गुलियो हुँदैन । न उखुलाई अमिल्याउन सक्छ । यस्तै हो मानवीय स्वभाव र विशेषता पनि । सत्ताको सवारी चढ्दैमा गगन सत्तारुढ हुन सकेनन् । किनकि उनको मूल स्वभाव प्रतिपक्षी नै थियो । नेपाल विद्यार्थी संघको राजनीतिदेखि कांग्रेसको महामन्त्री बन्दासम्म धेरैले उनलाई ‘विद्रोही नेता’का रूपमा मानेका छन् । उनका समर्थकले पनि उनलाई सत्ताको डन्डा बोकेको भन्दा संघर्षको झन्डा बोकेको हेर्न चाहेका छन् ।

भदौ २३ पछि गगन पनि बदलिए । पुरानो लयमा फर्किए । पार्टीलाई यथास्थितिमा नराखौँ भनेर प्रस्ताव गरे । सत्तारुढ गगनको हिस्सा कांग्रेसमा ‘गुट’बनाउन काफी हुन्थ्यो, हस्तक्षेप गर्न होइन । सत्ताको मनोविज्ञान छाडेर, आन्दोलनको अवमूल्यन नगरी, संस्थापन बन्ने हतारोमा गरिएका गल्तीमा ‘सरी’ भनिसकेपछि गगनको तागत बढेको छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत हस्ताक्षर, केन्द्रीय समितिमा निर्वाचनअघि महाधिवेशनको पक्षमा देखिएको समर्थन गगन ‘फर्म’मा फर्किसकेपछिका कुरा हुन् ।

विद्यार्थी राजनीति गर्दा गगन विद्रोही देखिए । त्रिचन्द्र कलेजमा बागी लडेरै स्ववियू सचिव भए । उनी सत्ता र पार्टीभित्र बागी बनेर स्थापित भए । पार्टीभित्र प्रतिस्पर्धा गरेको पहिलो महाधिवेशनमै लोकप्रिय मतसहित केन्द्रीय सदस्य भए । केन्द्रीय सदस्यमै दोहोरिने सजिलो बाटो रोजेनन् । कृष्ण सिटौलालाई सभापति माने र महामन्त्रीमा प्रतिस्पर्धा गरे ।

आफ्नै ससुरा अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा प्रतिस्पर्धा गर्न तयार हुनु सहज विषय पक्कै थिएन । गत महाधिवेशनमा महामन्त्रीमा लोकप्रिय मतसहित विजयी भए । परम्परागत हिसाबले पार्टी चलाउने छुट छँदै थियो । कार्य तालिका बनाए, क्रियाशीलको काम थाले । प्रयत्न गरे । कहिलेकाहीँ परिणाम भन्दा प्रयत्न महत्त्वपूर्ण हुन्छ । गगनले सोचे जति परिणाम दिएनन् तर प्रयत्न छाडेनन्

राजनीतिमा कोही निरपेक्ष सफल वा असफल हुँदैन । त्यसैले गगन सफल महामन्त्री होइनन् । असफल पनि होइनन् । पार्टी र राज्यसत्ताको भूमिकामा कहिलेकाहीँ अलमलिएझैँ देखिए । शुभेच्छुकसँग टाढिएझैँ देखिए । देश दौडाहामा गाडीवालाहरूको लस्करले गगनलाई ‘गाडीवालका गगन’ बनाइसकेको थियो । जेन-जी आन्दोलनले उनलाई पनि ब्युँझायो । बालुवाटार  र बूढानीलकण्ठको दृष्टिकोणबाट उनी अलग्गिए । आन्दोलनको भावनालाई सम्मान गरे । पार्टीभित्र रूपान्तरणको औचित्य स्मरण गरे । त्यसैले अहिले गगन निर्णायक मोडमा उभिएका छन् ।

बदलिएका गगनले पार्टीभित्र प्रभाव विस्तार गरेका छन् । कांग्रेसभित्र ५४ प्रतिशतको समर्थन गगन एक्लैको उपलब्धि नहोला तर ती सबैको सहानुभूति र स्वामित्व अब गगनसँग जोडिन पुगेको छ । राजनीतिमा यस्तै उपलब्धिको अर्थ हुन्छ । सत्ताका गगनभन्दा संघर्षका गगन शक्तिशाली हुँदै गएको स्वीकारोक्ति मिडियाका हेडलाइनले मात्रै होइन कांग्रेसभित्रको शक्ति संघर्षसँग जोडिएको तथ्य तथ्यांकले पनि बोलिरहेको छ ।

गगनप्रति आलोचनात्मक दृष्टिकोण राख्नेहरू उनलाई अवसरवादी भन्छन् । समर्थकहरू गतिशील भन्छन् । आलोचकहरू व्यक्तिगत लाभका लागि जोसँग जहाँ पनि मिल् नसक्ने भन्छन् । समर्थकहरू समयको चेत बुझेको नेता मान्छन् । अब गगन विशुद्ध समर्थक वा आलोचकका मात्रै रहेनन् । जसरी नेपाली कांग्रेस नेता र कार्यकर्ताको निजी मामिला होइन त्यसरी नै गगन उनका आसेपासे र आलोचकहरूको ‘खुराक’ मात्रै होइनन् ।

गगनसँग लामो संगत गरेका कांग्रेस नेता डा. सुरजराज काफ्ले गगनलाई सर्वसाधारणको नेता मान्छन् । पार्टीको महामन्त्रीका रूपमा पार्टी र सत्ताका मामिलामा जोडिँदा पनि गगनभित्रको ‘आम मान्छे’ कमजोर नभएको दाबी गर्छन् । २०५५ सालमा गगन त्रिचन्द्रको सभापति हुँदा काफ्ले उपसभापति थिए । लगत्तै २०५७ मा सभापति भए । मध्यमवर्गको परिवारमा जन्मिएर कांग्रेस पार्टीको महामन्त्री हुँदै राष्ट्रिय राजनीतिमै हस्तक्षेप गर्नसक्ने व्यक्तित्व बनाएकाले गगनलाई औसत नेता मान्न नहुने काफ्लेको मत छ ।

‘गगनजी ग्रास रुटबाट उठेर आएको व्यक्ति हो । मध्यमवर्गको नेता हो । कांग्रेसजस्तो कन्जरभेटिभ पार्टीमा एउटा सामान्य पृष्ठभूमिबाट आएर नेतृत्वमा आउनु नै विद्रोह हो’, काफ्लेले भने । नेपालमा धेरै नेताहरूको राजनीति मन्त्री भएसँगै ओरालो लाग्ने गरेको भए पनि गगनले सरकारमा हुँदा समेत आफ्नो व्यक्तित्व जोगाएर काम गरेको काफ्लेको तर्क छ ।

‘सत्तामा पुगेपछि नेता बिग्रियो भन्छन् तर गगनले त स्वास्थ्यमन्त्री हुँदा पनि राम्रै काम गरे । मन्त्री हुँदा पनि नबिग्रिएको मान्छे महामन्त्री भएपछि बिग्रियो भन्नु न्यायोचित हुँदैन’, उनले भने ।

कांग्रेस एमाले गठबन्धन सरकार बनेपछिका केही समय सफ्ट देखिनुलाई सामान्य मान्नुपर्ने काफ्लेको भनाइ छ । ‘बलियो सरकारले केही सुधारका काम गर्न सक्छ की भनेर उहाँ सफ्ट हुनुभयो । पार्टी संस्थापनप्रति पनि सफ्ट कर्नर राख्नुभयो तर उहाँको एकल प्रयासले भएन । त्यसैले आन्दोलनको भावनाअनुसार उहाँले आफूलाई रिभर्स गर्नुभयो । पार्टीभित्र रूपान्तरणको लडाई लडिरहनुभएको छ’, काफ्लेले भने । गगनले सत्ताको सजिलो छाडेर सुधारका लागि संघर्षको बाटो रोज्न एक सेकेण्ड पनि ढिलो नगरेको उनका शुभेच्छुकहरूको दाबी छ ।

जेन-जी आन्दोलन नेपालमा सुशासन र विकासको खोजीका लागि भएको थियो । आन्दोलनलाई ‘विध्वसं’ करार गरेर कांग्रेसलाई ‘इतिहासमा सीमित राख्ने’ प्रयत्न भइरहेकै छ । कांग्रेसजनले बिर्सनु हुँदैन की नेपालको सबैजसो राजनीतिक आन्दोलनमा सत्ताको बन्दूक कांग्रेसतर्फ तेर्सिएको थियो । जेन-जी आन्दोलनमा पहिलो पटक कांग्रेसले सत्ताको बन्दूक समायो र निहत्था नागरिक मारिए । कलंकको यो टीका कांग्रेसको निधारबाट यथास्थितिको रुमालले पुछ्न सक्दैन । त्यसका लागि वास्तविक रूपान्तरणको ‘फेसवास’ जरुरी छ ।

आफ्ना गल्तीका लागि माफी माग्न सक्ने मात्रै होइन आफ्ना सही निर्णयमा गर्व पनि गर्नसक्ने , आफ्ना नेताको ‘स्तुति गान’ मात्रै होइन की कमजोरीको ‘निन्दा’ पनि गर्नसक्ने कांग्रेसले मात्रै आफूलाई सान्दर्भिक राख्न सक्छ । यसका लागि फर्ममा फर्किएका गगनसामु पनि अन्तिम अवसर मात्रै बाँकी छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.