९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित गर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । प्रतिनिधिसभा निर्वाचन अगावै गर्ने कि, निर्वाचन पछाडि भन्नेमा पनि विवाद छ ।
कांग्रेसको १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर बुझाएका थिए । विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनका लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।
महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा आगामी पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाले आगामी पुस मसान्तसम्म नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । उनी हस्ताक्षरमार्फत् नभएर केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशनबारे निर्णय गर्नुपर्ने पक्षमा छन् ।
महाधिवेशनको विषयमा टुंगो लगाउन कांग्रेसले ११ मंसिरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । त्यसको अघिल्लो दिन विशेष महाधिवेशन पक्षधरले राष्ट्रिय सभा गृहमा ‘विशेष भेला’ बोलाएको छ ।
केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन बोलाइएको भेला र भेलाको एकदिनपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्ने निर्णय के–के होलान् भन्नेमा यतिबेला चासो छ ।
कांग्रेसमा पछिल्लो समय चुलिएको विवादबारे विशेष महाधिवेशन पक्षधर नेता गुरूराज घिमिरेसँग विनोद घिमिरेले गरेको कुराकानी ।
यो विषयमा रस्साकस्सी छ । पार्टीको नेतृत्वले, खासगरी शेरबहादुर देउवा नै भन्नुपर्यो अहिले । किनभने निर्वाचन आयोगमा हस्ताक्षर पठाएपछि त अन्तत: अल्टिमेट पावर शेरबहादुरमै रहेछ भन्ने बुझियो नि त्यसबाट । अस्ति कार्यवाहक दिएपछि फेरि उहाँले नै हस्ताक्षर बुझाउने निर्णय गर्यो भनेपछि त सबै कुरा उहाँमै निहित रहेछ भन्ने बुझियो ।