नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच डेढ घण्टा छलफल भएको छ । २१ फागुनको निर्वाचनपछि सभापति थापा र संयोजक प्रचण्डबीच पहिलोपटक छलफल भएको छ ।
समसामयिक राजनीतिको विषयमा छलफल भएको जानकारी प्रचण्डनिकट स्रोतले दियो । ‘चुनावपछि कुराकानी भएको थिएन । विकसित घटनाक्रमको विषयमा छलफल भएको छ । परिवर्तनका पक्षमा दलहरूबीच कसरी मुद्दामा सहकार्य गरेर जान सकिन्छ भन्ने विषयमा छलफल भएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो ।
कांग्रेसको आधिकारिकता थापाले पाएपछि ललितपुरस्थित प्रचण्डको निवासमा दुई नेताबीच छलफल भएको हो । प्रचण्डनिकट स्रोतका अनुसार एमालेसँग चलेको वामपन्थी एकताको विषयभन्दा तत्काल चुनावी समीक्षा गरी परिवर्तनका मुद्दामा सहकार्य गर्ने विषयलाई नेकपाले प्राथमिकता राखेको छ ।
संविधान, गणतन्त्र, संघीयतासहितका पक्षधरसँग छलफल गर्ने विषयलाई प्रचण्डले प्राथमिकतामा राखेका छन् ।