२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले विगतमा आफूहरूले मुद्दा उठाएर बीचमै छोड्ने गरेको स्वीकार्दै यसपटक उठाएको एजेण्डाबाट पछि नहट्ने सन्देश दिन खोजेका छन् ।
२८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्नो धारणा राख्ने क्रममा दुवैजनाले विगतका गल्तीको स्वीकारोक्तिसहित यसपटक उठाएको पार्टी पुनर्संरचनाको एजेन्डालाई निर्णायक तहमा पुर्याएरै छाड्ने सन्देश दिन खोजेका हुन् ।
सभापति शेरबहादुर देउवासँग विगतमा एजेन्डा राखे पनि निष्कर्षमा पुर्याउन नसकिएको तथ्य राख्दै महामन्त्रीद्वय थापा र शर्माले अब विगतमा जस्तै गल्ती दोहोरिन नदिने दृढता व्यक्त गरे ।
करिब एकघण्टा केन्द्रीय समितिमा विचार राखेका महामन्त्री थापाले आफूले विगतमा गरेका गल्तीको फेहरिस्त नै प्रस्तुत गरे । उनले सभापति देउवासँग १८ वटा मुद्दामा विमति राखे पनि निष्कर्षमा पुर्याउन नसकेको स्विकारे ।
थापाले विगतमा आफ्ना कुरा राखे पनि अन्तिममा ‘सभापति देउवाले भनेको’ र ‘बहुमतले निर्णय गरेको’ भनेर स्वीकार गर्नु आफ्नो भूल भएको स्वीकारे । ‘मैले गल्ती गरेकै हो । मैले त्यो बेलामा आफ्नो कुरा राखेँ । यस्तो हुन्छ भन्ने कुराको अनुमान लगाए,’ उनले बैठकमा भने, ‘तर, अन्तिममा गएर सभापतिले भन्नुभयो, बहुमतले भन्यो भनेर त्यसलाई मानेँ ।’
तत्कालीन समयमा आफूले सम्पूर्ण शक्ति लगाएर लड्नु पर्नेमा बीचमै आफू पछि हटेकोप्रति पश्चाताप गरे । ‘मैले मान्न हुँदैन थियोे । म घुँडा धसेर बस्नुपर्थ्यो । म लड्नु पर्थ्यो । मैले अस्वीकार गर्नुपर्थ्यो । मैले निर्णय गर्न दिन हुन्नथ्यो,’ उनको भनाइ थियो, ‘मेरो सम्पूर्ण ताकतबल लगाउनुपर्थ्यो । तर, मैले आफ्नो कुरा राखेँ । भएन त भएन, मैले मान्नु पर्छ भनेर मानेँ ।’
महामन्त्री थापाले विगतमा आफूले उठाएका एजेन्डा बीचमै छाडेर गल्ती गरेको स्वीकार गर्नुलाई अब विगतको गल्ती नदोहार्याउने प्रण गरेको ढंगमा ब्याख्या कांग्रेसवृत्तले गरिरहेको छ । उनीनिकट नेताहरू महामन्त्री थापाले अहिले उठाइएको महाधिवेशनको मुद्दालाई निर्णयमा पुर्याइ छाड्ने अठोट बैठकमा गरेको तर्क गर्छन् ।
‘मैले यहाँ कोसिस गरेको थिएँ, परिणाम आएको थिएन भनेर कार्यकर्तासँग आफ्नो तर्फबाट भएको गल्ती, कमजोरीलाई सार्वजनिक रूपमा स्वीकार गर्नुभएको हो । त्यसलाई लोकतान्त्रिक आचरणका रूपमा हेर्नुपर्छ,’ थापानिकट युवा नेता शंकर तिवारी भन्छन्, ‘उहाँले अब विगतको जस्तो गल्ती गर्दैन, अहिले उठाएको मुद्दालाई जसरी पनि निष्कर्षमा पुर्याउँछु भन्ने अठोट लिएको रूपमा बुझ्नुपर्छ ।’
र्का महामन्त्री शर्माले बैठकमा अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नभएको जिकिर गर्दै ‘अघिको मनस्थिति’ अनुरुप नभएर ‘पछिको परिस्थिति’ अनुरुप सोच्नुपर्ने आवश्यकता औंल्याए । अहिलेको विषम परिस्थितिमा महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ ऊर्जा, नयाँ दृष्टि र नयाँ सन्देश दिन सकेमात्रै देशले पनि कांग्रेसलाई नयाँ विश्वासका लागि भरोसा गर्न सक्ने जिकिर गरे ।