२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुटे बहुमतबाटै निर्णय लिने रणनीति बनाएको छ ।
पार्टीको १५ औं महाधिवशेन २१ फागुनको निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने रस्साकस्सी चलिरहेका बेला शनिबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय भेलाले इतर समूह सहमतिमा नआए बहुमतबाट निर्णय गर्ने रणनीति बनाएको हो ।
शीर्ष नेताहरू, पदाधिकारी र केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति गरी ७० जनाको उपस्थिति रहेको भेलाका सहभागीहरू इतर समूह सहमतिमा नआए बहुमतबाट निर्वाचनपछि महाधिवेशनको निर्णय गर्नुपर्ने निष्कर्षमा पुगिएको संस्थापन पक्षीय नेताहरूको भनाइ छ ।
भेलामा सहभागी एक पूर्वपदाधिकारीले भने, ‘सकेसम्म सहमतिमा नै चुनाव पछि महाधिवेशन गर्ने गरी कार्यतालिका आओस् भन्ने हो । सहमतिमा नआए बहुमतको आधारमा महाधिवेशन मिति निर्धारण गर्नुपर्ने पक्षमा छौं ।’
१४ औं महाधिवेशनबाट पहिलोपटक केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित एक केन्द्रीय सदस्यले पनि आगामी निर्वाचनपछि महाधिवेशन गर्ने विषयमा सहमति नभए केन्द्रीय समिति बैठकमा मतदानको माध्यमबाट टुंगो लगाइने बताए ।
‘उत्तम विकल्प भनेको सहमति नै हो । सहमतिमै चुनावपछि महाधिवेशन गर्ने गरी कार्यतालिका आओस्,’ उनले भने, ‘नभए मतदानको माध्यमबाट टुंगो लगाउने प्रयास गरौं भन्ने निष्कर्ष भेलाले गरेको छ ।’
अर्का मनोनीत केन्द्रीय सदस्यले पनि भेलाले सहमति मै निर्वाचनपछि महाधिवशेन गर्ने गरी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नुपर्ने पक्षमा भए पनि सहमति नभए मतदानका माध्यमबाट निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । ‘चुनावपछि अधिवेशनको कार्यतालिका सहमतिमै आओस् । सहमति नभए भेटिङबाट टुंगो लगाउने निष्कर्ष हामीले निकल्यौं,’ उनले भने ।
नयाँ बानेश्वरको आनन्दभूमि इभेन्ट्समा शनिबार आयोजित भेलामा पूर्वपदाधिकारीहरू बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्रीहरू महेन्द्र यादव र उमाकान्त चौधरी उपस्थिति थिए ।
भेलामा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी साउद, गोविन्द भट्टराई, शिवप्रसाद हुमागाईं, सुशीला थिङ, गोविन्द शाह, कल्याणकुमार गुरूङ, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, रंगमती शाही, विद्या तिमिल्सिना, कान्तिका सैजुवालको उपस्थिति थियो ।
यस्तै केन्द्रीय सदस्य डा. रणबहादुर रावल, प्रदीप सुनुवार, जीवन राना, सुशीला मिश्र भट्ट, सीतादेवी देवकोटा, सीताकुमारी राना, जावेदा खातुन जागा, कल्याणी रिजाल, उर्मिला थपलिया, रूपा विकलगायत ७० जना भेलामा सहभागी थिए ।