१ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट मारिएका शहीद र घाइतेका माग सम्बोधन नभएको भन्दै एक युवक काठमाडौंको माइतीघर मण्डलामा ६ दिनदेखि आमरण अनसनमा छन् ।
विगतका राजनीतिक भूमिकाबाट टाढिएर स्वतन्त्र रूपमा आन्दोलनमा होमिएको दाबी गरेका यादव सिंह नामका ती युवक सरकारसँग चारवटा माग राख्दै आमरण अनशन बसेका हुन् ।
‘म भुइँमा रहेका जेनजी घाइते र शहीदको लागि अनशन बसेको हुँ । माग पूरा नहुन्जेल वा हुने ग्यारेन्टी नहुन्जेलसम्म अनशन छोड्दिनँ,’ उनले भने ।
यादव तिनै व्यक्ति हुन्, जो २३ भदौको प्रदर्शनमा संसद् भवनमा नेपालको झन्डा बोकेर उभिएका थिए । संसद् भवनको गेटबाट उनले अन्य प्रदर्शनकारीलाई पनि माथि चढ्न आह्वान गरिरहेका थिए । उनीसँगै अन्य व्यक्ति पनि संसद् भवनको माथि देखिए पनि उनको तस्वीर भने भाइरल बनेको थियो ।
जेनजी आन्दोलन, जसलाई तत्कालीन समयमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको युवा विद्रोहका रूपमा चिनिन्छ ।
सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा प्रहरीले न्यूनतम बल प्रयोगको मापदण्ड उल्लङ्घन गर्दै गोली चलाउँदा शहीद र घाइते भएको भनाइ यादवको छ । त्यसैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि ती घटनामा संलग्नताको आरोप जेनजीहरूले लगाइरहेका छन् ।
यिनै पृष्ठभूमिका टेक्दै यादवले सरकारसँग तत्कालीन सरकारको नेतृत्व गरेका ओली र लेखकलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
२३ भदौको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले न्यूनतम मापदण्डविपरीत हतियारमुक्त प्रदर्शनकारीमाथि गोली चलाएकोले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तुरुन्त पक्राउ गरी सामूहिक हत्याको मुद्दामा कारबाही गर्नुपर्ने उनको माग छ ।
त्यस्तै, शहीद र घाइतेका माग सम्बोधन गरिनुपर्ने अडान पनि यादवले राखेका छन् । आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग तत्काल पूरा गर्नुपर्ने उनले बताए ।
जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको राष्ट्रिय जनआन्दोलनका रूपमा घोषणा गर्नुपर्ने माग पनि उनको छ ।
जेनजी आन्दोलनअघि सत्तामा रहेका हरेक नेता र सरकार प्रमुखहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग उनले राखेका छन् ।
‘राजनीतिक पद र प्रशासनिक ओहोदामा बसी अकुत आर्जन गर्नेहरूलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्ने र अदालतका न्यायाधीशहरूको सम्पत्ति छानबिन र कारबाहीको लागि न्यायपरिषद्मार्फत छानबिन आयोग गठन गरी प्रतिवेदनले दोषी देखाएका राजनीतिक पदाधिकारी प्रशासनिक व्यक्तिहरू र न्यायाधीशलाई तत्काल कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारको अन्त्य गर,’ चौथो बुँदामा उनको माग छ ।
यसरी जुन माग उनले राखेका छन्, त्यो माग शुक्रबार जेनजीका तीन समूह (जेनजी फ्रन्ट, जेनजी मुभमेन्ट अलायन्स र द काउन्सिल अफ जेनजी) मा पनि समावेश छन् । अन्य जेनजी समूहले जुन म्यान्डेटको मस्यौदा सरकारलाई बुझाए, त्यसमा आफूले उठाएका विषय परेको यादव स्वयंले स्वीकारे ।
‘मैले जे माग उठाएको छु, त्यो माग त्यसमा छ । अब सहमति कहिले होला वा उहाँहरुले गर्नुहोला थाहा छैन,’ उनले भने ।
तर, पनि अनशनमा किन त ? यादवले थपे, ‘म्यान्डेट बुझाउनुभन्दा अगाडिदेखि म अनशनमा बसेको हो । सरकारले मसँग सम्झौता गर्नुपर्यो । त्यो कार्यान्वयन हुने ग्यारेन्टी गर्नुपर्यो । अनि पो मैले अनशन तोड्छु त ।’
आफूसँग विभिन्न समूहले छलफल गरेको दाबीसमेत यादवले गरे । उनका अनुसार जेनजी फ्रन्टकी अगुवा रक्षा बम, प्रवेश दाहाललगायत अन्य घाइते र शहीद परिवारका व्यक्तिले आएर एक्यबद्धता जनाइरहेका छन् । आफूहरूको माग पनि सोही किसिमको रहेकोले यसमा समर्थन जनाउँछौँ भन्दै आउने धेरै रहेको दाबी उनले गरे
यादवसँग केही दिनअघि स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्माले पनि भेट गरेकी थिइन्। माइतीघर मण्डलामै पुगेर मन्त्री शर्माले उनीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
‘मेरो मन्त्रालय अगाडि नै तपाईंहरू हुनुहुन्छ रे भनेर म आएकी हुँ । मैले केही डाक्टरहरूलाई पनि भनेको छु । उहाँहरू आउनुहुन्छ,’ शर्माले सिंहलाई भन्दै गर्दा भिडबाट कसैले प्रतिप्रश्न गरे, ‘अहिलेसम्म डाक्टर न सरकारी अस्पतालबाट आए न कतैबाट !’
त्यसपछि मन्त्री शर्माले आफूले डाक्टर पठाइदिने वाचा गरिन् । सोहीअनुसार उनको उपचारको प्रबन्ध पनि भयो । केएमसी अस्पतालका डाक्टर आएर उपचार गराए ।
त्यसपछि शनिबार प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि वार्ता भएको सिंहले बताएका छन् । उनका अनुसार सरकारले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता नदेखाएपछि अनशन तोड्न नसकिएको हो ।
‘प्रधानमन्त्री र गृहमन्त्रीसँग बालुवाटारमा हाम्रा प्रतिनिधि साथीहरूको वार्ता सम्पन्न भएको छ । हाम्रा मागहरूमा लिखित सम्झौता नभएपछि अनशन निरन्तर चल्ने जानकारी गराउँछु,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन् ।
जेनजी आन्दोलन हाइज्याक भएको बताउँदै आएका यादवको विगतलाई लिएर विभिन्न प्रश्न पनि उठिरहेका छन् । यसबारे उनले आफूमाथि उठेका प्रश्न स्वाभाविक रहे पनि अहिले स्वतन्त्र रूपमा अनशन बसेको बताए ।
‘यो आन्दोलन नै हाइज्याक भयो । हामी ग्राउन्डमा गोली थापेका जेनजी सडकमै छौँ । अनि तिनै समूहले ममाथि केके भनिरहेका छन्, त्यो सबैको जवाफ मसँग छ,’ उनले भने ।
२७ वर्षीय सिंह कञ्चनपुर पुनर्वासका स्थायी बासिन्दा हुन् । विगतमा माओवादी केन्द्रसँग जोडिएका उनले पछिल्लो समय आफू स्वतन्त्र रहेको बताउने गरेका छन् । उनी माओवादी निकट अखिल क्रान्तिकारीको गत महाधिवेशनमा उपमहासचिव लडेका पनि थिए, जसमा १७ भोटले पराजय बेहोर्नुपरेको उनको भनाइ छ ।
तर, माओवादी पार्टीभित्र गुटबन्दी र नातावाद मौलाएपछि वाक्क भएर सो पार्टीबाट अलग भएको उनले बताए । ‘जेनजी आन्दोलनपछि छोडेको भन्ने गलत बुझाइ कतिपयमा रहेको पनि पाएँ । तर ९ महिनाअघि नै मैले फेसबुक स्टाटसमार्फत माओवादी पार्टीमा रहेर राजनीति गर्दिनँ भनेर घोषणा गरेको थिएँ । माओवादीको सिद्धान्तभन्दा पनि त्यहाँको गुटगत व्यवहार र नातावाद हाबी भएकोमा मेरो असन्तोष थियो,’ उनले भने, ‘अहिले म कुनै कमिटी वा समूहसँग जोडिएको छैन ।’