चितवनको भरतपुर कुनाकाप्चाबाट केन्द्रमा पुग्न नारायणगढ बजार धाउनुपर्थ्यो भन्ने समय अब इतिहासजस्तै भइसकेको छ। भरतपुर महानगरका १ देखि २९ वडा भित्रिन ३० मिनेटै पर्याप्त हुने गरी सडक सञ्जालले शहरलाई पूर्ण रूपमा जोडिदिएको छ। पछिल्ला ८ वर्षमा मात्र महानगरभित्र १,०६५ किलोमिटर सडक कालोपत्रे भएको छ, जसको चौडाइ ६ देखि १६ मिटरसम्म छ।
महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा ६२२ किलोमिटर सडक बनाइएको थियो। दोस्रो कार्यकालका तीन वर्षमा थप ४४२ किलोमिटर सडक निर्माण भएपछि भरतपुरले सडक विस्तारमा तीव्रता पाएको छ। यही गतिमा काम जारी रहे दोस्रो कार्यकालको अन्त्यसम्म कुल कालोपत्रे दूरी ७३५ किलोमिटरभन्दा बढी पुग्ने अनुमान छ। संघ र प्रदेश सरकारमार्फत करिब २०० किलोमिटर सडक थपिँदा शहरको कनेक्टिभिटी झनै मजबुत भएको छ।
रेनु दाहालका अनुसार विकासको मुख्य आधार सडक नै भएकाले शहरको आर्थिक गतिशीलतासँगै सेवा–सुविधाको पहुँच सहज भएको छ। सडक बनेपछि ट्रान्सपोर्ट लागत घटेको, समयको बचत भएको र सबै क्षेत्रलाई जोड्ने आधार तयार भएको उनको भनाइ छ।
सडक विस्तारसँगै भरतपुरले अब हरियाली र सौन्दर्यीकरणको नीति अवलम्बन गरेको छ। पुल्चोकदेखि गोन्द्राङ, बाइपास, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ जस्ता प्रमुख मार्ग संघीय सरकारको पहलमा निर्माण सम्पन्न भएका छन्। मंगलबजार–शिवनगर–पार्वतीपुर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ संघीय बजेटमा बनेको हो।
महानगरको ८८ किलोमिटर चक्रपथ सडक निर्माणको तयारी सम्भव भइसकेको छ। यस्तै, मुख्य सडकका लगभग ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ती जडान भइसकेको छ भने बाँकी १५० किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ।
भरतपुर आज सडक, सुरक्षा, हरियाली र स्मार्ट संरचनाको संयोजनमा रूपान्तरित हुने मोडमा प्रवेश गरिसकेको देखिन्छ।