नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा पार्टीभित्र गुटबन्दी चलिरहेको बताएका छन्। प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममार्फत पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
पूर्व राष्ट्रपति भण्डारीसँग आफ्नो सहकार्य रहेको बताउँदै भट्टराईले उनीप्रति ‘नैतिक समर्थन’ रहेको स्पष्ट गरे। भण्डारीलाई पार्टीमा फर्किन नदिन एमाले नेतृत्वले लगाएको रोक गलत भएको पनि उनले टिप्पणी गरे। भट्टराईका अनुसार यही विषयमा आफूले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई ‘भण्डारीको मुद्दा सम्बोधन गर्न’ आग्रह गरेका थिए।
भट्टराईले भने,
“अध्यक्षले गुटबन्दीप्रति चिन्ता व्यक्त गर्नुभयो। म सम्मान गर्छु। तर गुटबन्दी छ भने ओलीकै नाममा छ, विद्या भण्डारीकै नाममा छ। मेरो नाममा कुनै गुट छैन।”
उनका अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीभित्र प्रवेश रोकिनु नै विवादको जड हो।
भट्टराईले थपे,
“उहाँले हामीलाई नैतिक समर्थन गर्नुभएको छ। जबसम्म अध्यक्षले भण्डारीको सम्मानजनक इन्ट्री गराउनुहुन्न, तबसम्म अर्को गुट जन्मिन सक्छ।”
उनले आफू कुनै द्वन्द्व बढाउन होइन, समाधानका लागि नेतृत्वसँग कुरा गरिरहेको बताए। ओलीसँग मतभेद देखिए पनि जिम्मेवारीका काम नरोकिने उनको भनाइ छ।