काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टी नेतृत्वले विधान अनुसार आफूहरूले गरेको मागलाई बेवास्ता गरेको बताएको छ । अभियानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भनेको छ, ‘करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको यो मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेकोमा हामी गहिरो दुःख व्यक्त गर्छौँ।’
अभियानका नेतृत्वकर्ता देवराज चालिसेले नियमित महाधिवेशनको मिति नतोक्ने, विशेष महाधिवेशनको माग सम्बोधन नगरेर केन्द्रीय समिति लम्ब्याइरहने नेतृत्वको काम जिम्मेवार नभएको बताए । ‘नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय होइन,’ चालिसेले पत्रकार सम्मेलनमा भने ।
उनले पार्टीको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहीनता भइरहेको अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने बताए ।
