Suchana Vatika

‘चुनाव हुँदैन जेनजीले न्याय नपाएसम्म,

‘गृहमन्त्री ओमप्रकाश अर्याल आफ्नो बोलीमा अडिग हुनुहुन्न । उहाँले प्रधानमन्त्री निवासमा दुई महिनामा काम गर्न नसके सत्ता छोड्दिन्छु भनेर हामीलाई वचन दिनुभएको थियो ।’

अहिले जेनजी र अन्य राजनीतिक समूहबीच टकराव बढ्दो छ । विशेषगरी एमाले नेतालक्षित प्रदर्शन जेनजीले गरिरहेका छन् । सिमरा घटनापछि सुर्खेत, धनगढीमा पनि जेनजीले महेश बस्नेत जाने कार्यक्रमलाई लक्षित गरेर विरोध प्रदर्शन गरे ।

यता सुदन गुरुड नेतृत्वको द काउन्सिल अफ जेनजी छ, जसले गृहमन्त्रीको राजीनामा मागिरहेको छ । यसका प्रदेश संयोजकको असहमतिका बाबजुद सुदनले गृहमन्त्रीविरुद्ध सञ्जालमा बोलिरहेका छन् ।

यो किन भइरहेको छ ? अनि जेनजीले चाहेको के हो ? यसको नाममा निषेधको राजनीतिक सुरु भएको हो ? अनि चुनाव नजिकिँदै जाँदा जेनजीहरूको रणनीति के छ ? यसबारे हामी नेपालका संयोजकसमेत रहेका जेनजी अगुवा सुदन गुरुङसँग अनलाइनखबरका कौशल काफ्लेले गरेको कुराकानी :

तपाईंहरू पछिल्लो समय सडकमा देखिनुहुन्छ । गृहमन्त्रीको राजीनामा मागिरहनुभएको छ । यसले तपाईंहरु कसैबाट परिचालित हो कि भन्दै आशंका पनि छ के हो खासमा ?

अँ । अति गर्न थाले अब त । हुँदाहुँदा मलाई कल्याण श्रेष्ठले प्रयोग गरिरहेको छ भनेर समाचार आइरहेका रहेछन् । जिन्दगीमा मैले कल्याण श्रेष्ठ भेटेकै छैन, यार । यो त सरासर चरित्र हत्या हो ।

उसोभए पछिल्लो समय यही सरकारबाट किन असन्तुष्ट हुनुहुन्छ ?

हाम्रो जेनजीका भाइबहिनीहरू समातिएका छन् । लगभग ३ हजारभन्दा बढी मान्छे त जेलभित्र छिरिसके । अपराधीकरण बढ्यो । नभएका मुद्दा, झुटा मुद्दा लगाएर थपेर मान्छेहरूलाई जेल हालिन थालेको छ । यो एकदमै गलत हो । म अहिले यसमै काम गरिरहेको छु । ती भाइबहिनीको लागि लडिरहेको छु ।

अहिलेको प्रधानमन्त्री अनि सरकारका प्रतिनिधि तपाईंहरुले नै छान्नुभएको होइन र ? किन यस्तो भयो ?

त्यो बेलाको कुरा यस्तो हो, हामीलाई जेनजीहरू सबै मिलेर नाम दिनुभएको थियो । मलाई ‘दाइ, तपाईं जे गर्नुहुन्छ, हामी तयार छौँ’ भनेर म्यान्डेट दिएको थियो । त्यो बेला सुशीला कार्कीको नाम निकाल्ने नै ओमप्रकाश अर्याल हुन् । उहाँ जेनजीको आन्दोलनमा मध्यस्थता गर्न आएको एउटा पात्र मात्र हो ।

उहाँले नै सुशीला कार्की कानुन बुझेको, सम्माननीय व्यक्ति भएको र महाअभियोग लगाएर हटाउन खोजिएकोले उहाँले काम गर्नुहुन्छ भनियो । तत्कालीन सत्तासँगको एग्रेसनले पनि उहाँले इमानदार भएर राम्रो काम गर्नुहुन्छ भनेर भनियो । हामीलाई कन्भिन्स गराइयो ।

बरु मैले कार्कीको नाम पाएपछि १७ जनाले मात्र निर्णय गरेर हुँदैन भनेर आम जेनजीको मत लिन डिस्कर्डमा भोटिङ पनि गराएँ । प्रोसेस यही हो । यसरी उहाँ प्रधानमन्त्री बन्नुभएको हो ।

अहिले फर्केर हेर्दा, ती नाम सिफारिस गर्नेहरूमाथि कुनै शङ्का लाग्छ ?

मलाई त के थाहा । आन्दोलनमा आएर भेटेका मान्छेहरू हुन् सबैजना । हामी त अन्याय सहनुहुँदैन भनेर लडेका थियौँ । अहिले आएर उहाँहरूले त्यतिखेरको समयको फाइदा लिनुभयो भन्ने मलाई लाग्छ ।

त्यो प्रेसरको फाइदा उहाँहरूले लिनुभयो । हामी जुन प्रेसरमा थियौँ, आज सरकार नबने भोलि जे पनि हुन्छ भनेर तर्साइएपछि यो सबै छिटोछिटो गरिएको थियो । हामीले पनि विज्ञका कुरा सुन्नुपर्छ भनेर पत्याएका थियौँ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.