उपलब्ध प्रमाणहरूले काठमाडौं उपत्यकामा किरातलाई सांस्कृतिक–समुदायको रूपमा मात्र पहिचान वा स्वीकार गरेको छ। किरातलाई राजकीय वंशका रूपमा पुष्टि गर्ने अहिलेसम्म पुरातात्त्विक प्रमाण फेला परेको छैन।
Summary
- वैज्ञानिकहरूले होमो सेपियन्स, नियन्डरथल र डेनिसोभान्सको उद्विकास होमो हाइडलबर्गेन्सिसबाट भएको हाइपोथेसिस आंशिक रूपमा मात्र समर्थन गर्छन्।
- काठमाडौं उपत्यकामा गोपाल–महिषपाल वंशको कुनै पुरातात्त्विक प्रमाण फेला परेको छैन र प्रारम्भिक बसोबास किरात समूहको रहेको देखिन्छ।
- नेपाल खाल्डोमा किरात वंशले शासन गरेको पुष्टि गर्न थप उत्खनन आवश्यक छ, अहिलेसम्म उपलब्ध प्रमाणले किरात सभ्यता मात्र देखाउँछ।
वैज्ञानिकहरूले हिजोआज मानव उद्विकास सम्बन्धी प्रस्तुत गरेको एक हाइपोथेसिस (Hypothesis) निकै अनुसन्धानात्मक लेखहरूमा पढ्न पाइन्छ। त्यो भनेको आधुनिक मानव अर्थात् होमो सेपियन्स (Homo sapiens) सहित लुप्त भइसकेका दुई प्रजाति होमो नियन्डरथल (Homo neanderthal) र होमो डेनिसोभान्स (Homo Denisovans) को उद्विकास सम्भवतः मध्य प्लास्टोसिन कालको होमो हाइडलबर्गेन्सिस (Homo heidelbergensis) बाट भएको हुन सक्छ। यद्यपि, अहिलेसम्म फेला परेका जीवाष्म तथा आनुवंशिक अध्ययन नतिजाहरूले यसलाई आंशिक रूपमा मात्र समर्थन गर्छ।
सेपियन्समा मिश्रित जिन
रोचक कुरा, ५०/६० हजार वर्षअघि ताका सेपियन्स, नियन्डरथल र डेनिसोभान्स बीच एकआपसमा संसर्ग भई (Interbreeding) सन्तान जन्मन्थे। यसको प्रमाण नियन्डरथलको केही डीएनए युरोपेली समुदायमा र डेनिसोभान्सको डीएनए शेर्पा लगायत दक्षिणपूर्व एसियाली मूलका मानिसको जिनोम (समग्र आनुवंशिक सामग्री) मा अझै जीवित छ। अहिलेसम्म, डेनिसोभान्सको जीवाष्म साइबेरिया र तिब्बतको उच्च पठारमा मात्र फेला परेको छ।
डेनिसोभान्सको शेर्पा समुदायमा भएको जिनको नाम EPAS1 (Endothelial PAS domain-containing protein 1) हो। EPAS1 जीनले शरीरमा अक्सिजनको स्तर कम भएको अवस्थामा अनुकूलन गर्न मद्दत गर्ने विशेष प्रोटिन बनाउन प्रोटिन–निर्माण संयन्त्र (कोशिकाको केन्द्रक अर्थात् न्युक्लियस) लाई सङ्केत दिन्छ। यो प्रोटिनले रगतमा रातो रक्तकोष उत्पादन बढाउने प्रक्रिया सक्रिय गर्छ, जसले शरीरका तन्तुहरूमा अधिक अक्सिजन पुर्याउन सम्भव बनाउँछ।
साथै, ईपीएएसवान जीनले नयाँ रक्तनली निर्माणलाई उत्तेजित पार्छ। यसबाट अक्सिजनको वितरण मार्गलाई फैलाउन सहयोग पुग्छ। यही प्रोटिनले शरीरभित्र फलामको उपयोग, सञ्चय र सन्तुलनलाई पनि व्यवस्थित बनाउँछ, ताकि कम अक्सिजनको अवस्थामै रक्त निर्माण र अक्सिजन परिवहन प्रभावकारी हुन सकोस्। फलामले रगतमा अक्सिजन घुलाएर लैजाने काम गर्छ।
यसरी, सेपियन्समा नियन्डरथल र डेनिसोभान्सको जिन रहनु भनेको सेपियन्सको उद्विकास निकै जटिल, धेरै तह, धेरै समूह र धेरै पुस्ताबाट जटिल प्रक्रियाबाट बनेको सङ्केत गर्छ। तर, सेपियन्स, नियन्डरथल र डेनिसोभान्समा जिन मिश्रित नहुँदै करिब २ लाख वर्षअघि होमो सेपियन्स अफ्रिका नजिकका युरोप (ग्रिस) र एसियाका केही भूभाग (इस्राइल) मा पुगेको थियो।
तर, सेपियन्सको प्रभावकारी आप्रवासन चाँहि करिब ७० हजार वर्षअघि ताका मात्र भयो। त्यसबेला, सेपियन्स उत्तरपूर्वी अफ्रिकाबाट अरब प्रायद्वीप र तटीय मार्ग हुँदै दक्षिण एसिया प्रवेश गरे। त्यसबेला, दक्षिण एसिया मानवरहित थिएन। सम्भवतः होमो डेनिसोभान्स अस्तित्वमा थिए।
पुरातत्त्व अध्येता गुड्रन कर्विनसले लेखेको Prehistoric Cultures in Nepal, Vol. One शीर्षक पुस्तकमा लुम्बिनी प्रदेशस्थित दाङ–देउखुरी उपत्यकामा करिब ६० हजार वर्षअघि होमो सेपियन्सको उपस्थिति थियो (सन् २००७)।
यही शीर्षक पुस्तकको दोस्रो भोलममा दाङ–देउखुरी उपत्यकामा त्यतिखेर बनाइएका ढुङ्गाका हतियारका तस्बिरहरू समावेश छन्। ६० हजार वर्षअघि दाङ–देउखुरी उपत्यकामा भेटिएका पुरातात्त्विक प्रमाण (विशेषगरी ढुङ्गाका औजार तथा पुराना शिविर–सङ्केत) ले मानिस दक्षिण एशिया हुँदै नेपालका तराई तथा नदी–घाटी प्रणालीमा फैलिन थालेको इङ्गित गर्छ।
ती प्रारम्भिक मानवहरू नदीका किनार (Riverbank settlements) नजिक बसोबास गर्थे। तिनले नदी किनारमा रहँदा सफा पिउने पानी, माछा–कछुवादेखि वन्यजन्तु सम्मका स्रोत सजिलै पाउँथे। यो तिनले बनाएका काठकै साना शिविरजन्य वस्तु, ढुङ्गाका चिरपट औजार, र आगो (Charcoal) प्रयोगका चिन्ह फेला परेबाट अनुमान लगाइएको हो।
दाङ–देउखुरी, बबई र कर्णालीका खोँच–घाटीबाट ती प्राचीन मानिसहरू मौसम अनुकूल हुँदा क्रमशः पहाडतिर सर्न थाले। तर ६०–५० हजार वर्षअघि मानिस उच्च हिमालतर्फ गएनन्। किनभने वातावरण कठ्याङ्ग्रिने थियो। ती प्रारम्भिक मानिसहरू उच्च उचाइ, कम अक्सिजन र हिमाली चिसोसँग अनुकूलित थिएनन्।
त्यसैले उनीहरू उत्तरतिर सोझै चढेनन्, बरु पहिले मध्य–पहाडका न्यानो खोँच–घाटी (राप्ती–तनहुँ–स्याङ्जा–पाल्पा–नुवाकोट–दोलखा) हुँदै विस्तार भए। जलवायु न्यानो हुँदा मात्र उनीहरू करिब १० हजार वर्षअघि उच्च हिमाली घाँसे मैदानतर्फ अघि बढे।
काठमाडौंको पारिस्थितिकीय प्रणाली
बाह्र हजार वर्षयता, काठमाडौं उपत्यका पानी सुकेर बिस्तारै खुला जमिन हुँदै थियो। सुरुमा यसको केही भाग दलदली थियो। वरिपरि खुला वन र झाडीहरू विस्तार बढ्दै थिए। फूल फुल्ने वनस्पतिको रजकण (पोलेन ग्रेन) जीवाष्म अध्ययनले त्यसताका उपत्यकामा सबभन्दा पहिले बाँझ, उत्तिसजस्ता चिसो मन पराउने रुखहरू फैलिएका थिए भन्ने देखाएको छ।
यसबारे जानकारी खुमनारायण पौडेललिखित Study of Pollen & Spores (सन् २०१७) शीर्षक पुस्तकमा समावेश छ। उपत्यकामा अन्य के कस्ता वनस्पतिहरू थिए भन्ने विस्तृत जानकारी उनै पौडेललिखित Vegetation History of Nepal Himalaya (सन् २०१८) शीर्षक पुस्तकमा पढ्न पाइन्छ। पुस्तकमा उल्लेख धेरै प्रजाति लोप भइसकेका छन्। ती लोप भएका प्रजातिका नाम विश्वव्यापी मान्यता पाएको छैन।
उपत्यकाको खुला घाँसे मैदानमा हरिण, लोप भइसकेको जङ्गली गाईगोरु, स्याल, खरायो र नदीमा माछा, कछुवा, पानी छेउछाउ विचरण गर्ने जलचर चराको आगमन हुन थाल्यो। बोटबिरुवाको फैलावट र साना–मझौला जनावरहरूको वृद्धि भएपछि शिकारी–सङ्ग्रहकर्ताहरूका लागि उपत्यका वरिपरि बस्न अनुकूल वातावरण बन्न पुग्यो। यही प्राकृतिक रूपान्तरणले मानिसलाई क्रमशः उपत्यकातिर आकर्षित गर्यो।
मानिसले सर्वप्रथम बर्खामा बाढीबाट जोगिन उचो र समथर भूभाग रोजे। प्रारम्भिक मानवले विशेषगरी गोकर्ण, हाँडिगाउँ, थानकोट, चोभार लगायत क्षेत्र रोजे, जहाँ दलदल थिएन र पानी–स्रोत थियो। ती ठाउँहरू उपत्यकाको सरदर सतहभन्दा ३०–४० मिटर उचो थियो।
उपत्यकाको केन्द्र भागमा अहिलेको हाँडिगाउँ त्यसबेला वर्षायाममा डुबानबाट सुरक्षित थियो। त्यहाँ नदी–खोला नजिक भएकाले पानी, माछा, कन्दमूल, घाँसे मैदानको स्रोत सजिलै उपलब्ध थियो। यस्ता मध्यम उचाइ, जहाँ दिनभर घाम लाग्ने ठाउँ भएकाले त्यो भूभाग सुरक्षित बास, छिटो शिकार–स्रोत, कृषियोग्य जमिन, र सिँचाइका प्रारम्भिक सम्भावना प्रदान गरेको हुनुपर्छ। बूढानीलकण्ठ क्षेत्र त डुबान हुनबाट सुरक्षित थियो। तर, बिहानको घाम कम र जलचर जनावर अलि कम भएकाले त्यति उपयोगी थिएन होला।
उता हिमालपारि, तिब्बतमा सेपियन्सका लागि वातावरण प्रतिकूल थियो। त्यसैले तिब्बतमा सेपियन्स निकै पछि मात्र बसोबास गर्न थालेका हुन। ७० हजार वर्षअघि अफ्रिकाबाट निस्केको सेपियन्स दक्षिण र दक्षिणपूर्व एसिया हुँदै ३०, ३५ हजार वर्षअघि साइबेरियासम्म पुगेका थिए। चीनमा विशेषत येलो याङ्जे नदी आसपासका क्षेत्रमा करिब १० हजार वर्षअघि ताका खेतीपाती सुरु भइसकेको थियो।
तिनीहरूमध्ये केही तिब्बत हुँदै हिमालय पार गरेर यता नेपालको उच्च पहाडी भेगमा आइपुगे। त्यसबेला, नेपाल खाल्डोमा चोभारबाट पानी बाहिर निकास भएर सुक्दै थियो। त्यहाँ विशाल दलदली क्षेत्र र त्यसपछि खुला घाँसे मैदानमा रूपान्तरण भइरहेको थियो।
मानव आप्रवासन
काठमाडौं उपत्यकामा आइपुग्ने दाङ–देउखुरी तर्फबाट नभई, उत्तर र उत्तर–पूर्व (सुनकोशी–भोटेकोशी–मेलम्ची–तामाकोशी मार्ग) हुँदै आएका प्रारम्भिक टिबेटो–बर्मन (Proto–Kiranti) समूहहरू थिए।
काठमाडौं उपत्यकाको उत्तरी पहाडमा सबैभन्दा पहिले मानव आगमन करिब १०–९ हजार वर्षअघि उत्तरी लाङटाङ–हेलम्बु करिडोरबाट आएको अनुमान छ। यो कुरा एपी गजुरेल, बीएन उप्रेती र अरूहरूले सन् १९९८ मा लेखेको Geological and Geomorphological Studies of the Kathmandu Valley शीर्षक लेख पढ्दा थाहा पाइन्छ।
लेखमा शिवपुरी क्षेत्रमा करिब १० हजार वर्षअघि मानव बसोबास अनुकूल वातावरण बनेको लेखिएको छ। सम्भवतः त्यतिखेर आइपुगेको समूह प्रोटो–तामाङ थिए होलान्। उनीहरू भ्याली (Valley) भित्र खासै स्थायी बसोबासका निम्ति आएनन्। किनभने उनीहरू उच्च हिमाली भेगमा जीविका यापन गर्न मात्र अभ्यस्त थिए। अहिलेसम्म पनि तामाङहरूको काठमाडौं खाल्डो वरिपरिका जिल्लाहरूमा सघन रूपमा बसोबास छ।