३० लाख युवालाई स्वदेश नफर्काए राजनीतिको अर्थ छैन
सारांश
- नारायणकाजी श्रेष्ठले नेकपा एमालेसहित सबै कम्युनिष्टहरूलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरे।
- उनले पार्टी एकता चुनाव जित्न वा शक्ति आर्जनका लागि मात्र नभई राष्ट्रियताको रक्षा, उपलब्धि संस्थागत गर्न र शान्ति प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताए।
- श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायको एजेण्डा स्थापित गर्न नसक्दा ‘जेनजी’ विद्रोह भएको र युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने धारणा राखे।
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सबै कम्युनिष्टहरु र नेकपा एमालेलाई पनि पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् ।
सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बाहिर रहेका सबै क्रान्तिकारी कम्युनिष्टसहित एमालेलाई पनि एकतामा आउन आह्वान गरेका हुन् ।
आफ्नो पार्टीले गरेको एकता सन्देश सभा सामान्य आमसभा मात्र नभई ‘सङ्कल्प सभा’ को संज्ञा दिँदै श्रेष्ठले पार्टी एकता केवल चुनाव जित्न वा शक्ति आर्जन गर्नका लागि मात्र नभएको स्पष्ट पारे ।
‘पार्टी एकता शक्ति आर्जन गर्न र चुनाव जित्न गरियो, त्यो ठिक हो । तर, एकता किन भन्नेमा प्रष्ट हुनुपर्छ,’ श्रेष्ठले भने, ‘हामीले देशको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनताको रक्षा गर्न, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न एकता आवश्यक ठानेका हौँ ।’
नेता श्रेष्ठले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको एजेण्डा स्थापित हुन नसक्दा ‘जेनजी’ विद्रोह भएको टिप्पणी गरे । उनले विदेशमा रहेका ३० लाखभन्दा बढी नेपाली युवालाई स्वदेशमै श्रम र पसिना बगाउने वातावरण बनाउन नसके आफ्नो राजनीतिको औचित्य पुष्टि नहुने जिकिर गरे । ‘समाजवाद निर्माण गर्नका लागि आर्थिक समृद्धि अपरिहार्य छ,’ उनले भने, ‘एकीकृत पार्टीका नेता कार्यकर्ताले यो उद्देश्य पूरा गर्न हामी के गर्छौँ भन्ने कुरामा प्रष्ट हुनैपर्छ ।’
सम्बोधनका क्रममा श्रेष्ठले पार्टी र नेताहरू स्वयं पनि रूपान्तरण हुनुपर्नेमा जोड दिए । विचारको उज्यालोमा मात्रै अगाडि बढ्न सकिने भन्दै उनले सङ्गठनमा विधि र पद्धतिको पालना कडाइका साथ हुनुपर्ने बताए । ‘पार्टीभित्रको भ्रष्टीकरणलाई अन्त्य गर्नुपर्छ र जनतासँगको सम्बन्धलाई सुदृढ गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि मात्रै पार्टीले वास्तविक विजय हासिल गर्न सक्छ ।’
उनले राष्ट्रियतामाथिको खतरा रोक्न र देशलाई सामाजिक तथा आर्थिक समृद्धिको दिशामा लैजान निर्वाचन आवश्यक रहेको समेत औँल्याए ।