Suchana Vatika

आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान : कास्कीमा जेनजी आन्दोलन

 सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता चन्द्रबहादुर थापा पोखरा मेयरको घरमा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ परेका छन्।
  • जिल्ला अदालत कास्कीले थापासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ, भने एक नाबालकलाई सुधार गृह पठाइएको छ।
  • आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ, जसमा झण्डै ५ अर्बको क्षति भएको सरकारी तथ्यांक छ।

पोखरा । जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी र तोडफोड गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा १० का सभापति चन्द्रबहादुर थापा कारागार चलान भएका छन् । उनले आन्दोलनका क्रममा पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गरेको किटानी जाहेरी छ ।

जिल्ला अदालत कास्कीले उनीसहित ४ जनालाई एकैदिन पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा थापा सहित बिना मल्ल भनिने विमला सापकोटा, बुद्ध भनिने चिनबहादुर खवासलाई पुर्पक्षका लागि थुनामा पठाएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए ।

सोही घटनामा अर्का एक नाबालकलाई पनि पुर्पक्षका लागि सुधार गृह पठाइएको छ । घटनामा संलग्नताको आधारमा पक्राउ परेका चन्द्रका भाइ खली भनिने हरिबहादुर थापालाई भने २ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । आन्दोलनको दोस्रो दिन उनीहरुले सरकारी सम्पत्तिसँगै मेयर आचार्यको घरमा आगजनी र तोडफोड गर्दै गरेको फोटो, भिडियोको प्रमाण सहित जाहेरी दिइएको थियो ।

आगजनी र तोडफोडको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले उनलाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो । उनीसँगै मादी ६ का सभापति भोजराज पौडेल पनि निलम्बनमा परेका छन् । आन्दोलनको मौका छोपेर सरकारी र निजी सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

हालसम्म ५७ जना पक्राउ परिसकेका छन् भने १४ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । २९ जना अनुसन्धानकै क्रममा हिरासतमा छन् । अन्य १४ जना धरौटीमा रिहा भएका पाण्डेले जानकारी दिए । घटनामा संलग्नहरूको बारेमा प्रमाण सहित सरकारी कार्यालयहरूले आफ्नै जाहेरी दिएका छन् भने व्यक्तिगत रुपमा पनि जाहेरी परेको छ ।

त्यसक्रममा कास्कीभर झण्डै ५ अर्बको क्षति भएको सरकारी तथ्यांक छ । जिल्लाभर १ सय १६ वटा सरकारी कार्यालयमा क्षति पुगेको थियो । संघीय कार्यालय २६ वटा, प्रदेशका ३३ वटा, स्थानीय तह सहित भवन र सवारी साधनमा २ अर्ब १८ करोड बराबरको क्षति भएको रिपोर्ट छ ।

यस्तै, १ सय १९ चार पाङ्ग्रे सवारी र २ सय १० वटा दुई पाङ्ग्रे सहित ३ सय २९ वटा सवारी साधनमा क्षति पुगेको थियो । २७ वटा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको रेकर्ड छ । होटल र नेताका घर समेत जोड्दा २ अर्ब ७३ करोड रुपैयाँको निजी सम्पत्ति क्षति भएको विवरण प्राप्त भएको कास्की प्रशासनले जनाएको छ ।  

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.