Suchana Vatika

दीपक श्रेष्ठ नियुक्त, लुम्बिनी विकास कोषको सदस्य-सचिव

 सारांश

  • सरकारले गोरखाका दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ।
  • प्रधानमन्त्रीले श्रेष्ठलाई धार्मिक संस्थामा इमानदारीपूर्वक काम गर्न र धर्मको ख्याल राख्न निर्देशन दिएकी छिन्।
  • श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव रहेको र उनले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा गोरखाका दीपक श्रेष्ठलाई मनोनित गरेको छ । 

मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिइन् । ‘तपाईंलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो धार्मिक संस्था हो । धर्मको हेक्का राखेर काम गर्नुहोला । तपाईंको अहिलेको कामले भविष्यमा तपाईंका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकून् ।’ 

श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने वचन व्यक्त गरे ।

गोरखाको सहिद लखन गाउँपालिका वडा नं ६ का श्रेष्ठसँग इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव छ । मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् ।

केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । 

अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादन लागि पुरस्कृत पनि गरेका थिए । आयोगले २०७६ सालमा आफूलाई उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कृत गरेको उनले बताए । 

अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किएका थिए । पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.