Suchana Vatika

कम्युनिज्मको बहस प्रासङ्गिक न व्यावहारिक

कागजमा आकाशका तारा झार्ने समाजवादी दस्तावेजका प्रस्तोताहरू व्यवहारमा आफ्नो आजीवन सत्ता सुनिश्चितता, परिवार, नातागोता र आफन्तको भलाइमा केन्द्रित छन् । पार्टीमा ‘पूजक फलोअर’ को आकाङ्क्षा हाम्रा समाजवादी हस्तीहरूको आचरण र विशेषता बन्दै छ।

विश्व राजनीति यतिबेला कुनै निश्चित वाद, विचारधारा, सिद्धान्त वा आदर्शको पूर्ण खाकाद्वारा निर्देशित छैन। पूँजीवादका जानकारहरू त्यसलाई डेन्टिङ–पेन्टिङ गर्दै आफ्नो वैचारिक गुजारा चलाइरहेका छन् भने समाजवादका जानकारहरू सामाजिक प्रवृत्तिहरूलाई केलाउँदै समाजवादको सुरक्षित ढाँचा बनिरहेको तर्कद्वारा आफ्नो वैचारिक शून्यताको ढाकछोप गरिरहेका छन्।

वास्तवमा, अहिले विश्वमा न पूँजीवादसँग न समाजवादसँग नै आफ्नो सैद्धान्तिक पवित्रता र वैचारिक निखारता कायम छ। यसको खास कारण के हो भने, अब मानिसको दैनिकी र वैचारिक बहस बीचको व्यावहारिक र अन्योन्याश्रित सम्बन्ध जीवित रहेन।

शक्तिको होड र भूराजनीतिको उत्कर्ष

राजनीतिक सम्भ्रान्तहरू सधैं अहंकार, अस्तित्व र प्रभुत्वको होडमा हुन्छन्। खासगरी पश्चिमका राजनीतिक सम्भ्रान्तहरू गएका तीन सय वर्षयता विश्वव्यापी प्रभुत्व विस्तार, नियन्त्रण र कायम गर्ने नशामा छन्। उनीहरू सहजै शक्तिको हस्तान्तरण र स्थानान्तरणका लागि तयार हुने कुरा भएन।

दुई-तीन सय वर्ष पश्चिमी दबदबामा रहेको पूर्व ब्युँझिएको छ। उसले हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा बराबरीको अस्तित्व र आत्मसम्मानमा हिस्सेदारी खोजेको छ। स्वाभाविक रूपमा त्यसो हुन नसके सङ्घर्षको बाटो रोज्न पनि तयार हुने गरी पूर्वका केही राजनीतिक सम्भ्रान्तहरूले आफूलाई तयार पारेका छन्। भविष्यमा पूर्वको राजनीतिक शक्ति युरेसियाली गठबन्धनका रूपमा विकसित हुने देखिन्छ।

पश्चिम आफ्नो विरासतको सुविधा, विश्वव्यापी नियन्त्रणको विशेषाधिकार वा आर्थिक र सामरिक शक्तिबाट प्राप्त प्राधिकारको निरन्तरताका लागि आर्थिक, राजनीतिक र सामरिक सतरञ्जका सबै गोटीहरू खेल्न तयार छ।

यही कारण विश्वराजनीति भूराजनीतिको उत्कर्षमा छ। शक्ति केन्द्रहरू नाफा-घाटा, नजिक-टाढा, धर्म-संस्कृति, यस्तै-यस्तै स्वार्थहरूलाई केन्द्रमा राखेर गठबन्धनको अभ्यासमा छन्। उनीहरूले विश्वका भू-सामरिक महत्त्व राख्ने तर कमजोर मुलुकहरूलाई या त टेबुलको हिस्सा बन अर्थात् गठबन्धनमा सामेल होऊ, या त मेनु बन अर्थात् असंलग्न रहँदा शक्तिवालाहरूले तिमीलाई मिठो भोजनका रूपमा निलिदिन सक्छन् भन्ने सन्देश दिएका छन्।

एक नयाँ विश्व व्यवस्था नै यतिबेलाको सङ्घर्षको मूल मुद्दा हो। नयाँ विश्व व्यवस्था स्थापनाका लागि बहु-आयामिकको एक पूर्ण युद्ध (टोटल वार) आवश्यक छ। अहिले खुलेका वारफ्रन्टहरू त्यसैको ‘वार्मअप रिहर्सल’ मात्र हुन्।

नयाँ विश्व व्यवस्थाका लागि संघर्ष

यतिबेला शक्तिकेन्द्रहरूको टकराव प्रत्यक्ष रूपमा कुनै वैचारिक, सैद्धान्तिक वाद वा विचारधाराको लडाइँ होइन। तर विश्व व्यवस्था एकध्रुवीय वा बहुध्रुवीय भन्ने बहसलाई विश्व दृष्टिकोणरहित भन्न सकिंदैन। त्यसो भए यो जटिल प्रकारले जेलिंदै गएको विश्वयुद्ध उन्मुख अवस्थाको कारक र स्रोत के हो?

यसका लागि सम्पत्तिको स्वामित्व, अस्तित्व र प्रभुत्व जस्ता मानवीय प्रवृत्तिहरू जिम्मेवार छन्। ती प्रवृत्तिहरूको नेतृत्व राष्ट्रिय आकाङ्क्षाले गर्छ। जब राष्ट्रिय आकाङ्क्षा अन्तर्राष्ट्रिय शक्तिको केन्द्र बन्ने महत्त्वाकाङ्क्षामा अघि बढ्छ, त्यसपछि त्यसको निरुपण ‘ट्रिगर’ बाट खोजिन्छ।

अहिले स्थापित अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू आफ्नो प्रभुत्व निरन्तरताका लागि जुनसुकै स्तरको जोखिममा पनि पुग्नुपर्ने मनोविज्ञानमा छन् भने उदीयमान शक्तिहरू विश्व व्यवस्थाको पुरानो ढाँचा र त्यसका संरक्षकहरूलाई विस्थापन गर्न जोखिमको जुनसुकै हद पार गर्ने मनोविज्ञानमा।

एक नयाँ विश्व व्यवस्था नै यतिबेलाको सङ्घर्षको मूल मुद्दा हो। नयाँ विश्व व्यवस्था स्थापनाका लागि बहु-आयामिकको एक पूर्ण युद्ध (टोटल वार) आवश्यक छ। अहिले खुलेका वारफ्रन्टहरू त्यसैको ‘वार्मअप रिहर्सल’ मात्र हुन्।

युद्ध कहाँ केन्द्रित छ ?  

शक्तिराष्ट्रहरूले सबैको भागमा युद्ध बाँड्दैछन्। जसरी उनीहरूले आफूमाथि परेको मन्दी बाँड्ने गर्छन्, त्यसैगरी युद्ध बाँड्दै छन्। युद्ध बाँडिएपछि उनीहरूका हतियारका गोदामले मूल्य पाउँछन्।

पहिलो वार फ्रन्ट (रूस-युक्रेन): त्यहाँ जमिनमुनिको खनिज सम्पदा कब्जाको होड छ भन्ने कुरा अब दुनियाँसामु स्पष्ट छ।

दोस्रो वार फ्रन्ट (मध्य पश्चिम एशिया): यस क्षेत्रमा इन्धन र जलमार्गमाथि नियन्त्रणको होड हो भन्ने कुरामा कुनै शङ्का छैन।

तेस्रो वार फ्रन्ट (अप्रत्यक्ष रूपमा अफ्रिकामा): त्यहाँ लिथियम लगायतका महत्त्वपूर्ण दुर्लभ पृथ्वी धातु र डायमण्ड जस्ता खनिजहरूमाथि नियन्त्रणका लागि छद्म प्रकारको युद्ध जारी छ।

चौथो वार फ्रन्ट (दक्षिण चीन सागर, ताइवान, यलो सी): त्यहाँ पनि समुद्रमुनिको खनिज, ऐतिहासिक विरासतको टकराव र वर्तमानको शक्ति प्रदर्शनका लागि ‘वार्मअप’ हरू हुँदैछन्।

खनिजहरूको सबैभन्दा चर्को सङ्घर्ष अमेरिका र रूसका बीच हुने सम्भावना देखिन्छ। खासगरी आर्कटिक सागर क्षेत्र र अन्टार्टिका क्षेत्रको खनिज कब्जाका लागि हुने सङ्घर्ष विश्वयुद्धको ठोस आकारमा बदलिन सक्छ।

अन्टार्टिकामा रूसी वैज्ञानिकहरूले ११ अर्ब ५ करोड ब्यारेल तेलको भण्डार रहेको पत्ता लगाएका छन्, जो इतिहासकै सर्वाधिक ठूलो भण्डारको सङ्केत हो। यद्यपि यस संरक्षित क्षेत्रबाट तेल निकाल्ने आफ्नो कुनै इरादा नभएको रूसको स्पष्टोक्ति छ। ती क्षेत्रहरूमा खनिजका लागि दुई सामरिक शक्तिको टकराव निकट भविष्यमै देखिने अनुमानहरू शुरु भएका छन्।

यता प्रशान्त महासागरको मारियाना ट्रेन्च जहाँ चीनले ११ किलोमिटर मुनिको समुद्री गहिराइमा इतिहासकै सर्वाधिक गहिरो ड्रिल गर्ने खबर छ। सगरमाथालाई उल्ट्याएर त्यो समुद्रमा हाल्दा पनि अझै २ किलोमिटर गहिराइ रहने ठाउँमा यति धेरै पैसा, प्रविधि र जोखिम चीनले पक्कै पनि व्यापक खनिजहरूको सङ्कलन र भविष्यको आर्थिक साम्राज्यकै लागि गर्ने कुरामा द्विविधा हुने कुरा भएन।

अहिले पनि दुर्लभ पृथ्वी धातुको ८० देखि ९० प्रतिशत निर्यातमा चीनको योगदान छ। पृथ्वीको दुर्लभ पृथ्वी धातु सकिंदै जाँदा विकसित मुलुकहरूको आँखा समुद्रमुनिको खनिजदेखि अन्तरिक्षसम्म छ।

मारियाना ट्रेन्चबाट चीनले झिक्ने फायर आइस इनर्जीले ऊर्जा क्षेत्रको नवीनतामा एक प्रकारको क्रान्ति नै ल्याउने अनुमान छ। त्यस गहिराइमा हुने ड्रिलसँगै चीनले त्यहाँ पृथ्वीको चाल अनुसन्धानका लागि सेन्सरयुक्त उपकरणहरू राख्ने र त्यसले समुद्री सुनामी तथा भूकम्पको पूर्वानुमानमा सहयोग हुने गरी मौसम विज्ञानका रहस्यहरू पत्ता लगाउन सहज हुनेछ। त्यसका अतिरिक्त त्यति धेरै गहिराइमा भेटिने अवशेषहरूले पृथ्वीको जीव र वनस्पति उत्पत्तिको इतिहासमा केही नयाँ तथ्यहरू फेला परे भने जीवविज्ञानको ढाँचाको पुनर्लेखन पनि हुने अनुमानहरू छन्।

सन् २०४० सम्म चीनले चन्द्रमाबाट हिलियम पृथ्वीमा ल्याउने योजनामा काम गर्दैछ, जसले धर्तीको ऊर्जा समस्या समाधान हुने आशा गरिएको छ। विकसित मुलुकहरूले ब्रह्माण्ड विज्ञानमा हुने अनुसन्धानलाई मानवीय दैनिकीसँग जोड्ने र फाइदा लिने तयारी गर्दैछन्। चन्द्रमाको ऊर्जादेखि अन्तरिक्ष पर्यटनलाई ध्यानमा राखी एक बाह्य अन्तरिक्ष अर्थव्यवस्थाको अवधारणामा योजनाबद्ध कामहरू हुँदैछन्। सारतः यो पनि लेनिनले भने झैं शक्तिराष्ट्रहरूको स्रोत, सम्पदा र प्रभुत्वको लडाइँ हो। यसलाई कुनै सैद्धान्तिक आकारको चस्माले मात्रै हेर्न सक्ने अवस्था छैन।

बहुध्रुवीय विश्व व्यवस्था, बहु-आयामी युद्ध

एकध्रुवीयताको अन्त्यपछिको विश्व व्यवस्था द्विध्रुवीय वा बहुध्रुवीय हुन्छ, अहिल्यै यकिन गर्न सकिंदैन, तर अहिलेको विश्व व्यवस्था र शक्ति सन्तुलनमा परिवर्तन ल्याउन बहु-आयामी युद्ध शुरु भइसकेको अनुमान गर्न कठिन छैन। यस युद्धको मोडेल पहिलो र दोस्रो विश्वयुद्ध भन्दा नितान्त भिन्न छ।

कागजमा आकाशका तारा झार्ने समाजवादी दस्तावेजका प्रस्तोताहरू व्यवहारमा आफ्नो आजीवन सत्ता सुनिश्चितता, परिवार, नातागोता र आफन्तको भलाइमा केन्द्रित छन्।

यसमा कतिसम्मको दायरालाई सीमित युद्ध भन्ने र कुन हद पार गर्दा त्यसलाई पूर्ण युद्ध भन्ने, त्यो परिभाषाले ठोस आकार युद्धको समाप्तिपछि मात्रै लिनेछ। पूर्ण युद्ध भन्नाले परमाणु हतियारको प्रयोगलाई बुझिनेछ भन्ने मोटामोटी धारणा छन्। तर त्यसको परिणाम यही विश्व व्यवस्थाको निरन्तरताको सुनिश्चितता वा नयाँ व्यवस्थाको सुरुवात भन्ने कुराले मात्रै दिनेछ।

युद्धका आयाम र विशेषताहरू निकै भिन्न छन्। एक-अर्का माथिको आक्रमणमा जल सेना युद्ध, मिसाइल युद्ध, साइबर युद्ध, डिजिटल सूचना युद्ध, स्याटेलाइट युद्ध र अन्तरिक्ष युद्धका विभिन्न रूपहरूमा व्यक्त हुँदैछन्। व्यापार युद्ध लामै समयदेखि जारी छ। हाइब्रिड युद्धको रिहर्सलमा शक्ति राष्ट्रहरू व्यस्त छन्। आफ्नो आकाशको प्रतिरक्षा र अरूको आकाशको प्रतिरक्षा रेखालाई निष्क्रिय गर्ने अभ्यासमा आफ्नो सम्पूर्ण सामर्थ्य खर्च गर्ने होडबाजी जारी छ।

यस युद्धको जटिलताले नयाँ-नयाँ नवीनता र वैज्ञानिक आविष्कारहरूको जन्म पनि गराउँदैछ। तर, जब यो युद्ध ‘अल आउट वार’ का रूपमा विश्वव्यापी बन्नेछ, यसले भयानक विश्व विनाशको बाटो तय गर्ने कुरामा द्विविधा छैन।

नेपालको सन्दर्भमा विरोधाभास

अहिलेको विश्वले ब्रह्माण्ड विज्ञानका रहस्य खोज्दै जाँदा बहु-ब्रह्माण्डको सम्भावनालाई पहिल्याएको छ। समानान्तर सिद्धान्तमा विमर्श गर्दैछ। विश्वमा बहुध्रुवीय विश्व व्यवस्थाको व्यापक बहस र अभ्यास जारी छ। तर, नेपालका कम्युनिस्ट पार्टीहरूमा सत्ता स्वार्थका लागि एकल नेतृत्व, एकल नेतृत्वको प्राधिकारपूर्ण सङ्गठन र विचारमा एकध्रुवीयताको जोडतोडले चिच्याहट छ।

ब्रह्माण्ड विज्ञानभन्दा जटिल लाग्ने कम्युनिज्मबारे बहसका लागि हामीसँग व्यावहारिकता, प्रासङ्गिकता र नैतिकता कुनै बाँकी छैन। समाजवाद कागजी दस्तावेजको अनन्त म्याराथनका रूपमा स्थापित छ। कागजमा आकाशका तारा झार्ने समाजवादी दस्तावेजका प्रस्तोताहरू व्यवहारमा आफ्नो आजीवन सत्ता सुनिश्चितता, परिवार, नातागोता र आफन्तको भलाइमा केन्द्रित छन्।

पार्टीमा ‘पूजक फलोअर’ को आकाङ्क्षा हाम्रा समाजवादी हस्तीहरूको आचरण र विशेषता बन्दै छ। उत्पादन गर्नुपर्छ भन्दा किसानको अभिनय, विकास गर्नुपर्छ भन्दा उद्घाटनको अभिनय र निर्यात गर्नुपर्छ भन्दा युवा शक्ति नै लाइन लगाइदिने अवस्थाबाट हामी मुक्त हुने देखिंदैन।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.