Suchana Vatika

महिला नेतृत्वका दल चुनाव लड्ने तरखरमा

महिलाको नेतृत्वमा रहेका ७ वटा राजनीतिक दलमध्ये ६ वटा दल आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दैछन् ।

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगमा दर्ता दलको संख्या १४३ छ । यसमध्ये ७ वटा पार्टीमा महिलाको नेतृत्व छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को पाँच जनाको अध्यक्ष परिषद् छ । त्यसमा दुई जना महिला दुर्गा सोब र ओजस्वी भट्टराई छन् । श्रृया केसीको नेतृत्वमा नागरिक सेवा पार्टी छ।

रुक्मिणी चौधरीले संघीय नेपाल पार्टी हाँकिरहेकी छन् । राष्ट्रवादी एकता पार्टीको अध्यक्षमा उमा श्रेष्ठ, नेपाल लोकतान्त्रिक पार्टीको अध्यक्षमा गीता क्षत्री छिन् । रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी र सन्ध्या तिवारीको संयोजकत्वमा जनताको जनवादी पार्टी छ ।

महिलाको नेतृत्वमा रहेका सात वटा राजनीतिक दलमध्ये ६ वटा दल आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दैछन् ।

सन्ध्या तिवारीको संयोजकत्वको जनताको जनवादी पार्टीले भने निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छैन ।

चुनाव लड्दै गरेको दल हो– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) । ‘खुलेको एक आखाँ’ चुनाव चिह्न रहेको यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा छ।

निर्वाचन आयोगमा बुझाइएको विवरणमा यो पार्टीको अध्यक्ष परिषद्मा दुर्गा सोब र ओजस्वी भट्टराई छन् । अन्य तीन जनामा  सुदन किराँती, सन्तोष परियार र अशोक जैसवाल छन्।

सोबले तत्कालीन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा केही समय संयोजक भएर समेत काम गरिन्। उनी दलित महिला संघ (फेडो) की संस्थापक अध्यक्ष हुन् ।

दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत समस्या, समग्र दलित महिलाको अवस्था, सरकार र संसद्मा दलित महिलाको प्रतिनिधि र दलित महिलाको संवैधानिक अधिकार तथा कार्यान्वनका लागि झण्डै ३५ वर्षदेखि संघर्षरत अभियन्ता हुन्।

प्रलोपाको अध्यक्ष परिषद्मा रहेकी ओजस्वी भट्टराई कानुनकी विद्यार्थी हुन्। संवैधानिक कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा अध्ययन, अनुसन्धान र अध्यापन गर्दै आएकी उनी पनि दल खोलेरै जनताको मन जितेर मुलुकमा परिवर्तन ल्याउने उद्देश्य साथ अगाडि बढेकी छन्।

अध्यक्ष परिषदकी सदस्य भट्टराई जेनजी आन्दोलनले खोजेको जस्तै समाज निर्माण गर्नेगरी आफूहरू अगाडि बढेको बताउँछिन्।

जेनजी आन्दोलनको उद्देश्यअनुसार राजनीतिमा पुस्तान्तरण गर्ने, पार्टीमा समेत विभिन्न समुदाय र उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने कार्यमा आफूहरू धेरै अगाडि बढिसकेको उल्लेख गर्दै उनी थप्छिन्, ‘संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताप्रति प्रतिवद्ध, जवाफदेहिता र पारदर्शी शासन हाम्रो मूल उद्देश्य हो ।’

नयाँ पुस्ताको नयाँ सोचअनुसार निर्णय गर्ने, तर पुराना नेताहरूको सुझाव लिइरहने पनि यो पार्टीको नीति छ। यसो गर्दा समाजमा सबै पुस्ताको सहकार्य हुने र आर्थिक विकास तथा समृद्धिको सपना छिट्टै साकार पार्न सकिने भट्टराईको विश्वास छ।

‘जेनजी पुस्ताले लडेको न्यायको लागि हो, आर्थिक सुदृढीकरण खोजेको हो,’ उनी भन्छिन्, ‘नेपालमा हुने आर्थिक लाभ समतामूलक रुपमा सबै समुदायमा पुग्ने र पुर्‍यउने तथा सिमान्तकृत समुदायलाई परिपूरण दिने हाम्रो नीति छ । यसकै लागि पार्टी खोलेरै अगाडि बढेको हो ।’

पछाडि परेका समुदायको राजनीतिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र अगाडि बढ्ने नीति लिएको उल्लेख गर्द उनी चुनावमा सफल हुने दृढ विश्वासमा रहेको बताउँछिन् ।

तर, चुनाव जित्नका लागि चुनौती रहेकोमा उनीहरू सतर्क छन्। ‘प्रमुख चुनौती भनेको भ्रष्टाचार र चुनावमा हुने अपारदर्शी खर्च हो,’ भट्टराई भन्छिन्, ‘अन्तरजिल्ला मतदान र विदेशमा रहेका नेपालीले मतदान गर्न पाए भने यो चुनौती कम गर्न धेरै मद्दत पुग्दछ ।’ मत किन्ने परिपाटी अन्त्य गर्नका लागि जनतालाई नै सुसुचित गर्ने प्रयासमा प्रलोपा छ।

यावत चुनौती चिर्दै गर्दा महिला नेतृत्वमा अझ सहज हुने विश्वास पनि छ।

‘महिला नेतृत्वलाई मान्छेको दु:ख बुझ्ने रुपमा पनि लिइन्छ। हाम्रो उद्देश्य सबै सिमान्तकृत समुदाय, वर्ग, क्षेत्र र भूगोलको उत्थान हो। यो बुझाउँदै जेनजीको सपना पुरा गर्ने प्रयासमा छौं’ भट्टराई भन्छिन्, ‘हामीलाई विश्वास छ–हामी सफल हुन्छौं।’

जेनजी आन्दोलनपछि गठन भएको अर्को नयाँ पार्टी हो– ‘नागरिक सेवा पार्टी’ । यसकी अध्यक्ष हुन्– श्रेया केसी।

नागरिक सेवा पार्टी यही मंसिर ८ गते निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीको चुनाव चिह्न ‘स्कुटर’ छ।

अध्यक्ष केसीकाअनुसार पार्टीमा २४ सदस्यीय केन्द्रीय समिति छ । यसमध्ये ११ जना महिला छन् । प्रतिनिधि सभा चुनावको तयारीमा रहेको यो पार्टीको उद्देश्य समावेशी नेपाल निर्माण गर्ने छ।

‘२००७ सालदेखि २०८२ सम्म जति पनि परिवर्तन भए । तिनले जनताको अवस्थामा अपेक्षित परिणाम ल्याउन सकेन । आर्थिक विकास अपेक्षित भएन । सुशासनमा निरन्तर प्रश्न उठिरहेको छ । यसलाई चिर्दै समृद्ध नेपाल बनाउने उद्देश्यसहित पार्टी गठन गरेका हौं,’ अध्यक्ष केसी भन्छिन्, ‘जेनजी मुभमेन्टको माग र अपेक्षा पनि यही हो ।’

राष्ट्रिय हित मुख्य माग र उद्देश्य रहेको भन्दै उनी थप्छिन्, ‘राष्ट्रिय एकता आवश्यक छ । परराष्ट्र नीतिमा परिवर्तन आवश्यक छ । किनभने नेपाल परराष्ट्र नीतिमा संवेदनशील हुनुपर्छ यो पार्टीको प्रमुख उद्देश्य हो।’

२०४६ देखि अहिलेसम्म नेपालले जस्तो परराष्ट्र नीति अबलम्बन गर्दै आएको छ यसमा पुनरावलोकन गर्नुपर्नेमा उनको जोड छ । ‘जेनजी मुभमेन्ट गुड गर्भनेन्स’का लागि भएकाले यसैका लागि लड्ने पनि अध्यक्ष केसीको प्रतिबद्धता छ ।

थाकेका छैनन् उमा, रुक्मिणी र गीताहरू

महिला नेतृत्व स्थापत गर्न र महिलाका मुद्दा राजनीतिक रुपमा सम्बोधन गराउनका लागि पार्टी खोलेर अगाडि बढिरहेका अरु तीन पात्र हुन्– उमा श्रेष्ठ, रुक्मिणी चौधरी र गीता क्षत्री।

रुक्मिणी चौधरीको नेतृत्वमा संघीय नेपाल पार्टी छ । गाग्री चुनाव चिह्न रहेको यो पार्टी २०७३ साल मंसिर ३० गते दर्ता भएको थियो।

यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित सिनामंगलमा रहेको छ।

चौधरी आफैँ २०६२/०६३ पछि राजनीतिमा छिन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट उनी २०६४ र २०७० सालमा संविधान सभा सदस्य भइन्।

उनी आफैँ पार्टी चलाइरहेकी छन्। निर्वाचन आयोगले जाति र भूगोलको आधारमा नाम नदिने भनेपछि परिवर्तन गरेर संघीय नेपाल पार्टी नाम  राखेकी हुन् ।

२०७४ र २०७९ दुवै चुनाव लडेको यो पार्टीले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गरेको छ ।

‘आँट गरेरै हिँडेकी हुँ । जस्तो पर्छ त्यही गर्दै अगाडि बढ्ने हो’, चौधरी भन्छिन्, ‘मैले हिम्मत हारेको छैन । आँट छ । पार्टी चलाउँछु र यसलाई स्थापित गर्छु ।’

आगामी चुनावमा अधिकतम निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर अगाडि बढ्ने उनको तयारी छ। उनी थप्छिन्, ‘चुनाव लड्छौं । विगतमा के भयो होइन, अब के गर्ने भन्नेमा छौं। निरन्तर जनतामा गइरहन्छौं।’

उमा श्रेष्ठको नेतृत्वमा ‘राष्ट्रवादी एकता पार्टी’ छ । ’परेवा’ चुनाव चिह्न रहेको यो पार्टी पनि दुई दशक देखि नै अस्तित्वमा छ ।

श्रेष्ठका अनुसार यो पार्टीले शाहीकालको अन्त्यतिर भएको स्थानीय तहको चुनावमा भाग लिएको थियो । त्यसबेला भक्तपुर, मैतिदेवी र चितवनका केही वडामा चुनाव जितेको श्रेष्ठ बताउँछिन् ।

उनी भन्छिन्, ‘०६२/०६३ पछि पनि हामी पार्टीकै रुपमा अगाडि बढिरहेका छौं । २०६४, २०७० र २०७४ को चुनावमा सबैतिर भाग लियौं, उम्मेदवार उठायौं । तर, परिणाम हाम्रो पक्षमा आएन ।’

यो पार्टीले ४ मंसिर २०७९ को चुनाव भने लडेन । तर, आगामी २१ फागुनका लागि तय भएको चुनावमा भाग लिने गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

‘यसपटक हेरौं केही आश जगाउने गरी परिणाम ल्याउन सकिन्छ कि !’ श्रेष्ठ भन्छिन्, ‘साथीहरूलाई भनिरहेका छौं, चुनावको तयारीमा लागिरहेका छौं ।’

श्रेष्ठ नेतृत्वको पार्टीमा २१ सदस्यीय कार्यसमिति छ। श्रेष्ठका अनुसार कार्यसमितिमा उनीसहित ८ जना महिला छन् भने बाँकी पुरुष छन्।

महिलालाई पार्टी हाँक्न कतिको सहज छ ?

उमाको जवाफ छ, ‘अप्ठ्यारो अलि अलि पर्छ नै, किनभने नेपाली समाज पुरुषप्रधान समाज हो । अलिकति विश्वास नगर्ने पनि हुँदो रहेछ। पार्टीको अध्यक्ष को हो भन्दा मै हुँ भन्दा मुख बिगार्ने पनि हुँदो रहेछ। तर, हिम्मत हारेको छैन।’

श्रेष्ठका अनुसार उनले काठमाडौं उपत्यकामा रहेको कला र संस्कृति खासगरी नेवारी संस्कारको संरक्षण गर्नका लागि पार्टी खोलेकी हुन् । यसकै लागि संघर्ष गरिरहेकी छन्।

‘जेनजीको भावना अनुसार पार्टी अगाडि बढ्ने छ’ उनको प्रतिवद्धता छ।

गीता क्षत्रीको नेतृत्वमा ‘नेपाल लोकतान्त्रिक पार्टी’ छ। दुई हात जोडेको नमस्कार चिन्ह रहेको पार्टी २०७५ साउन ३१ मा दर्ता भएको हो। यो पार्टीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहेको छ।

सन्ध्या तिवारीको नेतृत्वमा ‘जनताको जनवादी पार्टी’ छ । फणा उठाएको नाग (सर्प) चुनाव चिह्न रहेको यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १० नयाँ वानेश्वरमा रहेको छ।

यो पार्टीले २०७९ को चुनाव लडेको थिएन। यसपटक पहिलो पटक चुनाव लड्ने तयारी छ ।

टुटफुट झेल्दै रञ्जिता

महिलाले हाँकिरहेको अर्को पार्टी हो– ‘नागरिक उन्मुक्ति पार्टी’। यसको नेतृत्वमा रञ्जिता श्रेष्ठ छिन् । यो पार्टी २०७८ साल फागुन ३ गते दर्ता भएको हो। यसको चुनाव चिह्न पिँध भएको सादा ढकिया छ। सुरुमा यो पार्टीको संरक्षकमा रेशम चौधरी थिए।

२०७९ को चुनावमा यो पार्टी प्रतिनिधिसभामा चार सिटसहित एउटा शक्तिको रुपमा उदाएको थियो । तर, हाल रेशम चौधरी लगायतले यो पार्टी छाडेका छन् ।

रेशम चौधरीको समर्थनमा कविर सोबको नेतृत्वमा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन भएको छ । यो पार्टीको चुनाव चिह्न चकिया जाँतो छ।

अर्थात्, ‘नागरिक उन्मुक्ति पार्टी’की अध्यक्ष रञ्जिता टुटफुट झेल्दै अगाडि बढिरहेकी छन्।

‘महिलाले नेतृत्व लिनु सजिलो छैन । हाम्रो समाज, संरचना र राजनीतिक वातावरण अझै धेरै हदसम्म पुरुष केन्द्रित छ।’ उनी भन्छिन्, ‘महिलाले दोब्बर मेहनत, दृढता र निरन्तरता देखाउनुपर्छ।’

तथापि, उनी निराश छैनिन् । उनी थप्छिन्, ‘तर चुनौती जहाँ छ, त्यहाँ अवसर पनि छ। मैले पनि ती सबै चुनौतीहरूलाई अवसरमा बदल्दै अघि बढिरहेकी छु।’

नागरिक उन्मुक्ति पार्टी जनताको अधिकार, न्याय र समानताको एजेण्डा लिएर अघि बढिरहेको र बढिरहने उनको प्रतिवद्धता छ । ‘आगामी चुनावका लागि तयारी निकै गम्भीर र योजनाबद्ध छ’ उनी भन्छिन्, ‘संगठन विस्तारदेखि नीति तथा एजेण्डा सुदृढीकरणसम्म, सबै मोर्चामा हामी मजबुत रूपमा काम गरिरहेका छौं।’

फेरि पनि जनताले विश्वास गर्ने उनको विश्वास छ । भन्छिन्, ‘जनताले विश्वास गर्नुभएको यात्रालाई अझ प्रभावकारी बनाउन म र मेरो टोली पूर्ण रूपमा प्रतिबद्ध छौं।’

सहज बन्दै समाज

राजनीतिक नेतृत्वमा स्थापित हुन खोजिरहेकाहरूलाई निराश नहुन सशक्ति पार्टीकी अध्यक्ष पद्मिनी प्रधानाङ्गको सुझाव छ। उनी आफैँ पनि नेपालमा महिलाको नेतृत्वमा पार्टी खोलेर अगाडि बढेकी थिइन्।

प्रधानाङ्गको नेतृत्वमा स–शक्ति पार्टी बनेको थियो । यो पार्टीले २०६४ सालको चुनाव लड्यो । २०७० सालमा फेरि दल दर्ता गर्नुपर्ने लगायतको निर्वाचन आयोगको प्रावधानमा असन्तुष्टि जाउँदै सर्वोच्च अदालत गयो । अदालतको फैसला संविधानसभाको निर्वाचन पछाडि मात्रै हायो । त्यसपछि यो पार्टी अगाडि बढेन।

आफूले महिलाको नेतृत्वमा पार्टी अगाडि बढाउन खोज्दा र अहिलेको अवस्था निकै फेरिएको उनको अनुभव छ। उनका नजरमा पहिले भन्दा नेपाली समाज महिलाको नेतृत्व स्थापित गर्नका लागि सहज भएको छ । उनी भन्छिन्, ‘जहाँ अवसर पाउँछ त्यहाँ नगएर आफैँ नेतृत्व र जिम्मेवारी लिए अगाडि बढ्न सके अहिले महिला नेतृत्व स्थापित हुन सक्दछ।’

महिला अधिकारकै विषय स्विकार्य नरहेको अवस्थाबाट नेपाली समाज निकै अगाडि बढिसकेको छ।

‘हामीले काम गर्दा समाजले महिला अधिकार स्वीकार गरिसकेको थिएन। अहिले समाजले स्वीकार गरेको छ’ उनी भन्छिन्, ‘महिलाले अधिकार परिवारमा त खोजेको हो नै, राज्यबाट पनि हो। हामीले अधिकार राज्यसँग नै माग्थ्यौं, किनभने सरकारले निर्णय गरेपछि त्यो घरमा पनि पुग्छ।’

महिला नेतृत्व स्थापित गर्न समाजलाई बुझाउन गरेको संघर्ष सम्झँदै उनी भन्छिन्, ‘महिला सक्षम भयो भने पुरुषलाई पनि सहज हुन्छ । समाज ठीक गतिमा अगाडि बढ्छ । पुरुषको कमाइ मात्रैले घर चलाउन गाह्रो हुन सक्छ । महिला पनि कमाइमा हुँदा घर चलाउन सहज हुन्छ।’

अहिले समान अधिकारको विषय धेरै हदसम्म समाजले स्वीकार गरेको र व्यवहारिक रुपमा कार्यान्वयनमा आउने क्रममा रहेको प्रधानाङ्गको बुझाइ छ ।

यस्तो अवस्थामा महिलाहरू अवसर र आरक्षणमा नलागेर क्षमता बढाउन र नेतृत्व लिनमा तम्सिनुपर्ने उनको सुझाव छ । उनी थप्छिन्, ‘हामीले खोजेको समानता हो । यसका लागि सक्षम हुन आवशयक छ । सक्षम हुन सक्दा महिला नेतृत्व स्थापित हुने वातावरण बन्दै आएको छ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.