Suchana Vatika

उपसभामुख राना : विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति हो

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताएकी छिन् । किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताएकी हुन् । 

उपसभामुख रानाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त समृद्ध राष्ट्रका रूपमा व्याख्या गरेको छ । सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ, यही विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो ।’

उनले वर्तमान राष्ट्रिय परिस्थितिले हामी सबैलाई लोकतान्त्रिक मूल्य–मान्यता, विधिसम्मत शासन र उत्तरदायी संस्थाहरूलाई अझ मजबुत बनाउन आह्वान गरिरहेको उल्लेख गरेकी छिन्। त्यसका लागि जनताले देखाएको विश्वासलाई निरन्तरता दिन सबै जिम्मेवार ढङ्गले अघि बढ्नु अहिले सबैको कर्तव्य भएको पनि बताइन्।

उपसभामुख रानाले भनिन्, ‘त्यसका लागि संसद् देशको नीति–निर्देशन, जनताको आवाज प्रतिनिधित्व, संविधान र कानुनको रक्षा तथा सुशासन निर्माणको केन्द्रविन्दु हो । संसद्ले सञ्चालन गर्ने विधायन, नीति निर्माण तथा संसदीय अनुगमनका कार्यमा अब जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ । आगामी निर्वाचन लोकतन्त्रको मर्म र राष्ट्रको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण क्षण भएकाले सबै योग्य नागरिकसँग शान्तिपूर्ण, मर्यादित र उत्साहपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मेरो अनुरोध छ ।’ 

उनले भनिन्, ‘किराँत समुदायको उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसले प्रतिवर्ष हामीमा सहिष्णुता, एकता र समृद्धिको भावना जागृत गरिरहन्छन्, यी सबै पर्वहरूले हामीलाई प्रकृति प्रेम, परिश्रमको सम्मान र साझा पहिचानप्रतिको गर्वमा एकताबद्ध गरून् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.