Suchana Vatika

नाममा आएको धम्कीपत्रले प्रहरीलाई टाउको दुखाइ उच्चपदस्थको

Summary

  • काठमाडौं उपत्यका प्रहरी कार्यालयले धम्कीपत्रपछि अनुसन्धान अघि बढाएको र मातहतका प्रहरी कार्यालयहरूलाई सतर्क रहन निर्देशन दिएको छ।
  • धम्कीपत्रमा अख्तियार प्रमुख प्रेमकुमार राईसहित विभिन्न नेताहरूको नाम उल्लेख गरी १० दिनभित्र राजीनामा दिन धम्की दिइएको छ।
  • प्रकाश पाठक नाम बताउने व्यक्तिले भिडियो सन्देशमार्फत आफू भारतमा रहेको र प्रहरीलाई चुनौती दिएको प्रहरी स्रोतले जनाएको छ।

१६ मंसिर, काठमाडौं । केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भयो । निकै शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जाएको छ । यो विषय सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको छ ।

धम्कीसहितको पत्र आएपछि अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएको छ । उपत्यका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयहरूलाई सतर्क रहन भन्दै निर्देशन दिएको छ ।

एक प्रहरी अधिकृतका अनुसार ती व्यक्तिले आफ्नो आवाज समेत परिवर्तन गरेर भिडियो बनाएको पाइएको छ । लोकेसन पनि फरक ठाउँको राखेर आतंक सिर्जना गर्ने प्रयास गरिएको देखिएको ती प्रहरीले बताए ।

‘आतंक सिर्जना गर्न खोजेको जस्तो देखिन्छ । यसको कुनै ठूलो समूह पनि देखिँदैन । के उद्देश्य हो भन्ने पनि देखिँदैन,’ ती प्रहरी अधिकारीले भने ।

‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (इएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर प्रकाश पाठकको नाम उल्लेख छ ।

जहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, पूर्वपरराष्ट्र मन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएको छ ।

यतिमात्रै होइन यो पत्र सार्वजनिक भएपछि एउटा भिडियो सन्देश समेत सार्वजनिक गर्दै प्रकाश पाठक नाम बताउनेले १० दिनभित्र राजीनामा दिन अख्तियार प्रमुख राईलाई धम्की दिएका छन् ।

बहालवाला अख्तियार प्रमुखलाई ज्यान मार्नेसम्मको धम्की आएपछि यसबारे अख्तियारले प्रहरीसँग समेत छलफल गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा गत सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतलाई बोलाएर घटनाबारे जानकारी गराइएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा यसरी धम्की दिने व्यक्ति भने नेपालमा नरहेको प्रहरी स्रोतले बतायो । विदेशमा रहेर आतंक फैलाउने उद्देश्यले यस्तो धम्की दिएको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

यसरी धम्की दिने व्यक्तिको पृष्ठभूमि पनि आपराधिक देखिएको प्रहरी स्रोत बताउँछ । आफूलाई प्रकाश पाठक बनाउने ती व्यक्तिविरुद्ध यसअघि प्रहरीले विभिन्न कसुरमा मुद्दा चलाएको एक अनुसन्धान अधिकृतले बताए ।

अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै यसबारे प्रहरी अधिकारीहरूले केही बोलेका छैनन् । भिडियोमा ती व्यक्तिले भने आफू भारतमा रहेको दाबी गरेका छन् । एक घण्टामै तीन/चार ठाउँ सरेर आफू बस्ने गरेकाले प्रहरीले नभेट्ने दाबी गर्दै सुरक्षा संयन्त्रलाई खुल्ला चुनौती दिएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.