Suchana Vatika

ईश्वर पोखरेल नेतृत्वको प्रतिष्ठानलाई बाइकट, भर्खरै बनेको भोलेन्टियर फोर्सबाट प्रतिनिधि

अध्यक्ष ओलीलाई भेटेर ईश्वर पोखरेलले जनाए आपत्ती

एमालेले सबै विभागबाट प्रतिनिधि आउने व्यवस्था गरेको छ । केन्द्रीय कार्यालयबाट समेत छुट्टै प्रतिनिधि आएका छन् । तर वरिष्ठ उपध्याध्यक्ष प्रमुख रहेको प्रतिष्ठानबाट प्रतिनिधि आउने व्यवस्था गरिएको छैन ।

१९ मंसिर, काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट महाधिवेशन प्रतिनिधि चयन नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार दिउँसो गुन्डु पुगेर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्ठानबाट पनि महाधिवेशन प्रतिनिधि आउने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘प्रतिनिधि चयनको मापदण्ड त एउटै हुनुपर्यो, अस्ति भर्खर घोषणा गरिएको नेशनल भोलियन्टर फोर्सको नाममा प्रतिनिधि आएको सुनेँ,’ पोखरेलले ओलीसँग भने, ‘अनि पार्टीको यति महत्वपूर्ण क्षेत्रबाट प्रतिनिधि नआउने सर्कुलर किन गरियो ?’

एमालेले सबै विभागबाट प्रतिनिधि आउने व्यवस्था गरेको छ । केन्द्रीय कार्यालयबाट समेत छुट्टै प्रतिनिधि आएका छन् । तर वरिष्ठ उपध्याध्यक्ष प्रमुख रहेको प्रतिष्ठानबाट प्रतिनिधि आउने व्यवस्था गरिएको छैन ।

‘पार्टीले संस्थागत निर्णय गरेरै शुरु भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने, तर पार्टीबाट कुनै निर्णय नभएको फोर्सको नाममा प्रतिनिधि आउने भन्ने हुँदैन,’ पोखरेलको अडान थियो ।

स्रोतका अनुसार पोखरेलले फोर्सबाट अहिले प्रतिनिधि आउन नसक्ने पनि अडान लिएका छन् । ‘तपाईँ ती व्यक्तिहरु (फोर्सबाट आएका प्रतिनिधि) ल्याउनुपर्छ जस्तो लाग्छ भने मनोनीतबाट ल्याऔं, तर पार्टीले संस्थागत निर्णय नगरेको क्षेत्रबाट प्रतिनिधि आउनु हुन्न,’ पोखरेलले भनेका थिए ।

जवाफमा ओलीले भने प्रतिष्ठान पढ्नेहरुको क्षेत्र भएकाले राजनीतिक सहभागिता जरुरी नभएको तर्क गरेका थिए । ‘त्यो त यसो पढ्नेओर्ने गर्नलाई बनाइएको हो नि,’ ओलीले भनेका थिए ।

पार्टीबाट कार्य विभाजन हुँदा पनि ईश्वर पोखरेललाई प्रमुख बनाइएको यो प्रतिष्ठान ओली आफैंले थालेका थिए । २०७९ साउनमा ओली नै प्रमुख अतिथि रहेर प्रतिष्ठान उद्घाटन भएको थियो । तर अस्ति १६ कात्तिकमा गुन्डुबाटै घोषणा गरिएको फोर्सका नामबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा प्रतिष्ठान प्रतिनिधि ल्याइएको छैन ।

उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईलाई पनि साथमै लिएर गुन्डु पुगेका पोखरेलले जिल्लाहरुमा रहेको प्रतिनिधिको विवादबारे पनि ध्यानाकर्षण गराएका थिए ।

ओखलढुंगा र धनकुटामा पुन: प्रतिनिधि चयन गर्ने निर्णय गरिएको, तर अरु विवादित जिल्लाबारे निर्णय नभएकोमा पोखरेल सहितका नेताहरुले ध्यानाकर्षण गराएको स्रोतले बतायो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.