Skip to main content

Suchana Vatika

पुजीवाँदको तितो यथार्थ : नो अदर च्वाइस

‘नो अदर च्वाइस’ दक्षिण कोरियाको मात्र होइन, विश्वमा विद्यमान कठोर रोजगार-संकट, रोजगार-संघर्ष र पुँजीवादका निरर्थकताहरू माथिको व्यङ्ग्य हो ।

Summary

  • पार्क चान–वूक निर्देशित ‘नो अदर च्वाइस’ २०२५ को उत्कृष्ट डार्क-कमेडी थ्रिलर हो, जसले बेरोजगारी र अस्तित्व संकटको चित्रण गर्छ।
  • फिल्मले चरम पुँजीवादले मान्छेको सोच र नैतिकतालाई तोड्ने र कति निर्मम कार्य गर्न विवश तुल्याउने देखाउँछ।
  • ‘नो अदर च्वाइस’ले आर्थिक चिन्ता, अस्तित्व-संकट र नैतिक सम्झौताको विश्वव्यापी सान्दर्भिकता प्रस्तुत गरेको छ।

प्राय: कसैले कुनै देशको बारेमा केही कुरा गरिरहेछ भने मलाई अनयासै त्यो देशका केही सिनेमा र निर्देशकहरूको सम्झना आउँछ । रोमान्टिक ड्रामासँगै दक्षिण कोरियाली क्राइम-थ्रिलर विधाका फिल्मले विश्व सिनेजगतमा एउटा छुट्टै स्थान ओगटेका छन् । पार्क चान–वूकको ‘ओल्डबोय’ मैले हेरेको पहिलो दक्षिण कोरियाली फिल्म हो ।

मेरो स्मृतिमा यो फिल्मले एउटा गहिरो छाप छाडेको छ र मेरो सिनेमाप्रतिको प्रेम या अझ भनूँ क्राइम-थ्रिलर विधाका सिनेमा हेर्ने रुचि बढ्नुमा यस फिल्मको ठूलो हात छ ।

पार्क चान–वूक, यस्ता निर्देशक हुन्, जो कथामा हताशा बोक्छन्, र त्यसको क्रमिक वृद्धिको संरचना राम्रोसँग बुझ्छन् । ‘द ह्यान्डमेडेन’ अथवा ‘डिसिजन टु लिभ’मा मानव आत्माका सबैभन्दा अँध्यारा प्रवृत्तिहरूसँगको अवैध मोह (जस्तो:- हिंसा, विश्वासघात, धोका दिने चाहना)को घनीभाव निर्माण गर्दा होस् वा ‘ओल्डबोय’ मा बाँच्नुको अन्तिम अन्धकारतर्फ ढकल्दै गर्दा उनी आफ्ना पात्रहरूलाई भावनात्मक रूपमा भाँचिदिन्छन् र उनीहरू बिखरिएको हेर्नमा नै आनन्द लिन्छन् ।

पार्क चान–वुक आफ्ना दर्शकहरूलाई पनि सजिलै केही पनि भन्न खोज्दैनन् । उनी दर्शकलाई फिल्मका दृश्यात्मक या संवादका शाब्दिक माखेसाङ्लीले बाँधिदिन्छन्, जसले गर्दा उनीहरू हरेक क्रियालाई प्रश्न गर्न बाध्य हुन्छन्, बिम्बको खेलमा स्पष्टता खोज्न थाल्छन् । तीमध्ये केहीले उनीहरूलाई विचलित बनाउँछ, तर कसोकसो निकै अँध्यारो तर हाँस्यास्पद तरिकाले बुनिएका ती दृश्य र संवादहरूले दर्शकलाई अत्यन्तै रोमाञ्चित पनि बनाउँछ ।

पार्क चान–वुक निर्देशित ‘नो अदर च्वाइस’ मैले २०२५ मा हेरेका फिल्महरूमध्ये एउटा उत्कृष्ट पटकथाले बुनिएको डार्क-कमेडी थ्रिलर फिल्म हो । यो फिल्मले जुनसुकै हदसम्म पुगेर वा कुनै पनि उपाय अपनाएर जागिर पाउन तयार एक बेरोजगार गृहस्थ कामदारको निराशा र क्रुरताको चित्रण गर्छ । जसको परिणाम एकदम चिसो र भयावह छ । विकृत हिंसा र बेतुकाको हास्यको अनौठो मिश्रण धेरैजसो पार्क चान–वूकका फिल्महरूको ट्रेडमार्क जस्तै हो ।

यो फिल्म हेरिरहँदा यसले बोङ जुन-होको ऐतिहासिक ओस्कार विजेता फिल्म ‘प्यारासाइट’को पनि सम्झना गराउँछ ।

अमेरिकी उपन्यासकार डोनाल्ड ई. वेस्टलेकको सन् १९९७ मा प्रकाशित व्यंग्यात्मक-थ्रिलर उपन्यास ‘द एक्स’मा आधारित यो फिल्मले एक निराश बाउ मन–सुको कथालाई पछ्याउँछ, जो एक कागज कारखानाका काम गर्छ, जो आफ्नी श्रीमती, दुई बच्चा र दुई गोल्डेन रिट्रिभर कुकुरसँगै आफ्नो बाल्यकाल बितेको पुनर्निर्मित घरमा बस्छ ।

उसले २५ वर्ष ‘सोलार पेपेर’मा काम गरेपछि उक्त कम्पनी अमेरिकीहरूको नियन्त्रणमा आउँछ र कम्पनीले मन–सुलाई जागिरबाट निकाल्न बाहेक अरु कुनै विकल्प नरहेको बताउँछ । जागिरबाट निकालिएपछि उसको परिवारको आर्थिक अवस्था गम्भीर बन्दै जान्छ र उसलाई नयाँ जागिर पाउन पनि अत्यन्त कठिन हुन्छ ।

मन–सूलाई आफ्ना विकल्पहरू क्रमशः सीमित हुँदै गएको महसुस हुन्छ र अब अन्य कुनै उपाय नै छैन जस्तै लागेपछि, ऊ आफूले चाहेको कागज कम्पनीमा जागिर पाउनको निम्ति ठूला सम्भावना भएका अन्य आफ्ना सबै प्रतिस्पर्धी उम्मेदवारहरूलाई मार्ने योजना बनाउँछ । तर उसले हत्या जस्तो अपराधिक कार्य कति जटिल र झन्झटिलो हुन सक्छ भन्ने कुरा बुझेको हुँदैन । र उसले यो पनि बुझेको हुँदैन कि उसका प्रस्तिस्पर्धीहरू, जसको ऊ हत्या गर्न चाहन्छ, उनीहरू पनि उसकै स्वाभावका जस्ता छन् र मूलतः ऊ आफ्नै विभिन्न रूपहरूलाई मार्ने प्रयास गर्दैछ ।

यो फिल्म अस्तित्व संकटले भरिएको तर हाँस्यास्पद रूपमा बढाइचढाइ गरिएको कथा जस्तो लाग्छ । तर फिल्म हेरिरहँदा निर्देशकले व्यङ्ग्यात्मक ढंगले चित्रण गरेको यस सूक्ष्म संसारभित्र जागिरबाटको निष्कासन र त्यसको विरोधमा आफ्नो अस्तित्व रक्षाका निम्ति गरिएका अपराधिक मोडहरू पनि अनौठो रूपमा स्वाभाविक बन्दै जान्छन् ।

एउटा दृश्यमा आफूले करिब पच्चीस वर्ष सम्हालेको पद बचाउन मन–सुले भन्छ– ‘अमेरिकीहरू जागिरबाट निकालिनुलाई बञ्चरो हान्नु भन्छन् तर कोरियामा यो टाउको काटिनुजस्तै हो ।’ यो अभिव्यक्ति सिर्फ पात्रको कार्यसंस्कृतिमा प्रयोग गरिएको विम्ब मात्र होइन, जागिरबाट निकालिनु वास्तवमै उसको निम्ति टाउको काटिनु सरह हो ।

मन–सु र अन्य पात्रहरूले आफ्ना निर्णयबाट आफूलाई मुक्त पार्ने प्रयास गरिरहेझैं फिल्मको शीर्षक— ‘नो अदर च्वाइस’लाई मंत्र जस्तै जपिरहन्छन्, मानौं उनीहरू आफूसँगै अरुलाई पनि विश्वास दिलाउन चाहन्छन् कि उनीहरूका निर्णय र घटित घटनाहरू उनीहरूले रोजेका होइनन् र तीप्रति उनीहरूको कुनै जिम्मेवारी छैन ।

मन–सु, आफ्नो जीवनको निर्दयी हालतमा उभिएको एउटा सामान्य पात्र हो । ऊ परम्परागत अर्थमा यस कथाको भिलेन होइन, न त ऊ प्रशंसा गर्नुपर्ने एन्टी-हिरो नै हो । ऊ लाज र अपेक्षाको भारीले खोक्रो भएको हताश मानिस हो, जो जागिरबाट निकालिनुलाई सजाय मान्छ । तर त्यो सजाय आर्थिक मात्र होइन, अस्तित्वगत छ । र त्यस सजायबाट मुक्त हुन ऊ आफ्नै अस्तित्वलाई टुक्रा-टुक्रामा क्षय गर्दै जान्छ र उसलाई लाग्छ, समाजको आँखामा अपराध भनेको केवल बेरोजगार हुनु हो । ‘नो अदर च्वाइस’ले चरम पुँजीवादले मान्छेको सोच र नैतिकतालाई कति सजिलै तोडिदिन्छ र कति निर्मम कार्य गर्न विवश तुल्हाउँछ भन्ने कुराको चित्रण गर्छ ।

निर्देशक पार्क चान–हूकको उदेश्य यहाँ गरिबी होइन, समाजभित्र व्यक्तिगत पहिचानको लडाईँ देखाउनु हो र कसरी पूँजीवादले ‘जागिर नै हाम्रो मूल्यको पर्यायवाची हो’ भन्ने कुरालाई विश्वस्त पार्छ । फिल्ममा मन-सूले भोकमरीको सामना गर्दैन, न उसको परिवारले निम्न स्थितिको आर्थिक संकटसँग जुज्नु पर्छ । ऊभित्र डर छ, ऊ जागिरे सफलताको खुड्किलाबाट खस्न चाहदैन । उसको सफलताको प्रतीक बनेर उसको घर उभिएको छ ।

त्यसलाई गुमाउनको सम्भवाना र अहिलेको समयमा मध्यमवर्गीय सामान्यताको प्रतिनिधित्व गर्ने ‘नेटफ्लिक्स सदस्यता’ रद्द गर्नुपर्ने स्थितिबाट ऊ विञ्चलित हुन्छ । आफ्नो र आफ्नो परिवारको रक्षाको निम्ति ऊ एकपछि अर्को अपराध गर्दै जान्छ । ऊ आफ्नो परिवारसँग झुट बोल्दैन तर साँचो कुरा पनि खुलस्त भन्दैन । मन–सूले आफ्नो परिवारलाई जागिरको अन्तर्वार्ताको निम्ति लामो समयसम्म गायब हुने र उनीहरूका लागि ‘युद्ध लडिरहेको’ भनेर बताउँछ ।

मन–सु अन्य विकल्पहरूको कल्पना गर्नुको सट्टा आफूसँग अन्य कुनै विकल्प नरहेको कुरामा नै विश्वस्त हुन्छ र एकपछि अर्को गर्दै आफ्ना प्रतिस्पर्धीहरूको हत्या गर्न थाल्छ । अन्य मान्छे या दर्शकको आँखाबाट हेर्दा उसको हालत र उसले गरिरहेका यी अपराधिक, अराजक क्रियाकलापहरू हाँसोउठ्दो लाग्छ । तर पात्र स्वयंको नजरबाट हेर्दा भने त्यही कुरा आफ्नो अस्तित्व जोगाउन गरिएको विकल्पहीन प्रयासबाट उब्जिएको दु:खान्त परिस्थिति जस्तो मात्र लाग्छ ।

यो फिल्म हेरिरहँदा यसले बोङ जुन-होको ऐतिहासिक ओस्कार विजेता फिल्म ‘प्यारासाइट’को पनि सम्झना गराउँछ । यी दुई फिल्मले अतिवादी पूँजीवादको चित्रण गर्छन्, जसमा तीव्र गतिमा विघटित घटनाहरूलाई सँघाल्ने दौडमा पात्रहरू थप वास्तविक अपराधलाई अँगाल्न पुग्छन् ।

वैमा पुँजीवादमुनि बाँचिरहेको जीवनको गहिरो अध्ययन छ, जहाँ कथा सुरुमा हाँस्यात्मक ढङ्गले प्रारम्भ हुन्छ तर बिस्तारै कथाले परिस्थितिको गाढा अँध्यारोतर्फ मोड लिन्छ । दुवै फिल्मको केन्द्रमा एउटा घर छ र आर्थिक स्तरको सिढीमा माथि उक्लिन श्रमिक वर्गका पात्रहरू यहाँ जुनसुकै हदसम्म जान तयार छन् ।

तर बोङ जुन–होको ‘प्यारासाइट’ दुई परिवारबीचको वर्ग संघर्षमा केन्द्रित छ भने ‘नो अदर च्वाइस’लाई पार्क चान–हूकले सामाजमा आफू लायक भएर उभिन, सामाजिक अस्तित्वको रक्षाका निम्ति आफ्नो आर्थिक स्थिति कायम राख्न कोही कति हदसम्म जान्छ भन्ने डरलाग्दो प्रश्नमा केन्द्रित गरेका छन् ।

जसको उत्तर अत्यन्तै हाँस्यास्पद, अराजक, क्रूर, हिंसात्मक र दुःखद् छ । पार्क चान–हूकसँग दृश्यको आकर्षणमा खेल्दै शैलीगत स्वभावका आफ्नो कल्पनालाई हेरफेर गर्नसक्ने सुन्दर क्षमता छ । र यो फिल्मभरि त्यस क्षमताको आवाज चिच्याइरहेछ– हामी सबै एउटै सामाजिक, आर्थिक र मनोवैज्ञानिक दुःस्वप्नमा फसेका छौँ ।

फिल्मका अधिकांश संवादहरू विम्बात्मक छन् । जस्तो अन्तिमको दृश्यमा, मन–सुकी श्रीमती मी-रीले भन्छे– “हामी यो घर बेच्ने छैनौँ । हामी यो घर बेच्न सक्दैनौँ । हामीले भरखरै त्यो स्याउको रूख रोपेका छौँ ।” यो संवादले दुईवटा व्याख्या दिन्छ । एक– सोझो अर्थमा ऊ भन्न खोजिरहेकी छे कि उनीहरूले यो घर सँगै बनाएका हुन् र त्यसको निकै स्याहारसुसार गरेका छन् । उनीहरू त्यसलाई त्यसै बेच्न सक्दैनन् ।

दुई– बिम्बात्मक रुपमा ऊ संकेत गरिरहेकी छे कि उसको श्रीमानले त्यो स्याउको रूखमुनि गाडेको लासबारे उसलाई ज्ञात छ । यदि उनीहरूले त्यो घर बेचे भने, नयाँ घर मालिकहरूले कुनैदिन त्यस ठाउँलाई खन्न सक्नेछन् र त्यो गोपिनीयता बाहिर आउन सक्नेछ । त्यसैले उनीहरू त्यो घर बेच्न सक्दैनन् । जस्तो: मी-री पनि आफ्नो श्रीमानले गरेको अपराधलाई स्विकार्दै त्यसको भागिदार बनिसकेकी छे ।

यस अर्थमा यस्ता संवादले भरिएको यो फिल्म बोझिलो छ र यसलाई गहिरिएर बुझ्नको निम्ति पटक-पटक हेर्न र दृश्यहरूको अध्ययन गर्न फिल्मले माग गरिररहन्छ । ‘नो अदर च्वाइस’ दक्षिण कोरियाको मात्र होइन, विश्वमा विद्यमान कठोर रोजगार-संकट, रोजगार-संघर्ष र पुँजीवादका निरर्थकताहरू माथिको व्यङ्ग्य हो । यसले अस्तित्व रक्षाको अन्तिम बिन्दुमा उभिएर बाँच्नको निम्ति आफूलाई पुन: परिभाषित गर्दा हामी के बन्छौँ भन्ने कुराको शोक मनाउँछ ।

‘नो अदर च्वाइस’ हाम्रो आर्थिक संरचनाहरूले कसरी निर्दयतालाई पुरस्कृत गर्छ भन्ने बारेमा एक चिसो व्यंग्य हो । यस फिल्ममा निर्देशक पार्क चान–हूकले बेरोजागरीबाट उत्पन्न परस्थितिलाई एउटा खेल मैदान बनाउँछन्, जहाँ अराजकता छ, व्यंग्य छ, रक्तपात छ । हुन त यो फिल्म कोरियाली भुगोल र समाजमा सेट गरिएको छ, तर यसभित्र छरपष्ट भएका विषयवस्तुहरू जस्तै: आर्थिक चिन्ता, अस्तित्व-संकट, स्थितिको अत्याधिक लगाव र त्यसको परिणाम, नैतिक सम्झौता विश्वव्यापी रुपमै सान्दार्भिक छन् । संसारमा, बाँच्नु भनेको खाना वा आश्रयको बारेमा होइन, आफ्नो अस्तित्वको र स्थितिको नाजुक कल्पनालाई टिकाइराख्नु पनि हो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.