Suchana Vatika

तरकारी तथा फलफूल बजार सञ्चालन वीरगञ्ज महानगरपालिकाद्वारा

सारांश

  • वीरगञ्ज महानगरपालिकाले छपकैयाँमा तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ, जसले थोक बजारको अभाव पूरा गर्नेछ।
  • मेयर राजेशमान सिंहले बजार स्थानीयवासीकै लागि भएको र बीपी उद्यानको अव्यवस्थित बजारलाई हटाउने बताए।
  • बजारमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षाको व्यवस्था गरिएको छ, र दोस्रो चरणमा थप लगानीको योजना छ।

पर्सा । वीरगञ्ज महानगरपालिकाले रेल्वे सडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ। यसबाट वीरगञ्जमा लामो समयदेखि रहेको थोक बजारको अभाव परिपूर्ति हुने विश्वास लिइएको छ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले यो बजार छपकैयाँवासीकै नाममा बनाइएको र यसलाई व्यवस्थित राख्न स्थानीयको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले डेढ वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि विविध कारणले ढिलो भएको जानकारी दिए।

प्रमुख सिंहले बीपी उद्यानमा रहेको अव्यवस्थित बजारका व्यवसायीका कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन केही समय लागेको स्पष्ट पारे। उनले अब बीपी उद्यानमा रहेको अव्यवस्थित बजारलाई हटाउने अभियान थालनी गरिने र त्यहाँका व्यवसायीलाई यहाँ स्थानान्तरण गर्नका लागि विकल्प दिइएको बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए। उनले अब व्यवस्थित ठाउँमा खरिद-बिक्री गर्न र सवारी सञ्चालन पनि सरल हुने उल्लेख गरे।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपियाँको लागतमा निर्माण गरिएका १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन्। बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन्।

महानगरले आगामी दिनमा दोस्रो चरणमा थप ७० लाख रुपियाँ लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गर्ने योजना रहेको जनाएको छ। खुद्रा र थोक कारोबारलाई अलग-अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुने महानगरको भनाइ छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.