Suchana Vatika

धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की, भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् ।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।

‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ,’ उनले भनिन् ।

त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको उनले बताइन् । ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।’

उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने स्पष्ट पारिन् । ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरिन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.