Suchana Vatika

एमाले नेता पक्राउ नाबालिग बलात्कार अभियोगमा

 सारांश

  • एमाले नेता शिवशंकर साहलाई नाबालिग बलात्कारको आरोपमा भारतबाट पक्राउ गरिएको छ।
  • पीडित पक्षसँग रकम लिएर घटना मिलाउन खोजेको आरोपमा नाबालिगका मामा सञ्जय महासेठ पनि पक्राउ परेका छन्।
  • घटनामा संलग्न मनोजकुमार साह यसअघि नै पक्राउ परिसकेका छन्, भने अन्य दुई जना फरार छन्।

जनकपुरधाम । नाबालिग बलात्कार अभियोगमा प्रहरीले एमाले नेता शिवशंकर साह (हिरा)लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ मंगलबार राति धनुषा ल्याइएको हो।

प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ साह भारततर्फ फरार भएका थिए। फरारपछि प्रहरीले निगरानी बढाउँदै भारतीय काउन्टरपार्टसँग समन्वय गरी सीतामढीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी, नाबालिगका मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ। धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार महासेठले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत लिएको आरोप छ।

प्रहरीका अनुसार गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो। सो घटनामा संलग्न अभियोगमा जनकपुरधाम उपमहानगरपालिका–१० का स्वर्गीय किशोरीलाल साहका छोरा मनोजकुमार साहलाई यसअघि नै काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याइसकिएको छ। मनोज साहको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जसमा दुई जना अझै फरार छन्।

हिरा साह गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयरका उम्मेदवार थिए। उनी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन्। एमालेको आसन्न ११औँ महाधिवेशनका लागि उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि छनोट भएका थिए।

प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ। केही राजनीतिक दबाब आए पनि प्रहरीले जघन्य अपराधमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.