काठमाडौं । प्लाटिनम कलेजका तत्कालीन सीईओ जीवनकुमार गुरुङ २०८० फागुन १४ मा पक्राउ परे । दुबईबाट चन्द्र घलेले ल्याएको १४ किलो सुनकाण्डमा ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ६५ वर्षीय गुरुङ १५ लाख धरौटीमा छुटे ।
पर्वत महाशिला गाउँपालिका–६ घर भएका गुरुङ एउटा मुद्दामा छुटे पनि खुलेर हिँड्न पाएनन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार उनीमाथि सीआईबीले ६० किलो र भेप प्रकरणमा पनि अनुसन्धान थाल्यो । त्यसपछि फरार भएका गुरुङ आफ्नै सहकर्मीबाट ठगिएको आरोप छ ।
गुरुङले २०८२ मंसिर १ मा वैदेशिक रोजगार विभागमा आफ्नै सहकर्मी शम्भु दयाल अग्रवालबाट ठगिएको भन्दै जाहेरी दिएका थिए । वैदेशिक रोजगार न्यायाधिकरणबाट मंसिर ९ मा पक्राउ अनुमति जारी भएपछि गुरुङका सहकर्मी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई मंसिर १४ मा पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । अग्रवाल अहिले ललितपुरको महानगरपालिका–४ स्थित जावलाखेलमा बस्छन् ।
गुरुङ, अग्रवाल र साहिल अन्सारी मिलेर काठमाडौंमा एसिया रिक्रुटमेन्ट प्रालि सञ्चालन गरेका थिए । उक्त मेनपावर मार्फत उनीहरुले वैदेशिक रोजगारीमा श्रमिक पठाउने गरेका थिए ।
आफू सुनकाण्डमा मुछिएपछि एसिया रिक्रुटमेन्टको सञ्चालकमध्येका शम्भु अग्रवालले ३१४ जना श्रमिक विदेश पठाएर त्यसबापत प्राप्त रकम हिनामिना गरेर ‘आपराधिक विश्वासघात’ गरेको गुरुङको आरोप छ । अग्रवालले श्रमिकहरुबाट १४ करोड १३ लाख रुपैयाँ हिनामिना गरेर आफू र कम्पनीलाई ठगेको जिकिर गरेका छन् । गुरुङले वैदेशिक रोजगार विभागमा दिएको जाहेरीमा भनिएको छ, ‘शम्भु अग्रवालले श्रमिक पठाएर रकम बुझेर सो रकम भ्रमण खर्च र पार्टीलाई नेपाल भिजिट गराउँदा खर्च भएको भनेका छन्, तर उनको दाबी गलत हो ।’
आफ्नो अनुपस्थितिमा अग्रवाल एसिया रिक्रुटमेन्टको प्रमुख भएर काम गरेको र श्रमिकलाई रोमानिया पठाएर शुल्क लिएर आफूलाई ठगेको उनले दाबी गरेका छन् । १४ करोड १३ लाख रकम अग्रवालले हिनामिना गरेको प्रमाणको रुपमा विभागमा गुरुङले ब्यालेन्स सिट पेस गरेका छन् । जाहेरीमा उनले भनेका छन्, ‘मलाई हिसाब नदिई उनले ठगी गरे ।’
रकम माग्दा अग्रवालले आफूलाई धम्की दिएको गुरुङको दाबी छ । उनले जाहेरीमा लेखेका छन्, ‘अग्रवालले मेनपावरमा आइस् भने तँलाई हेर्छु भनेर मलाई धम्की दिए ।’
अग्रवाललाई पक्राउ गर्न विभागले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । जीवनकुमार गुरुङ २०८० चैत ५ मा १५ लाख धरौटी तिरेर काठमाडौं जिल्ला अदालतबाट निस्किए । तर सीआईबीले खोजिरहेका गुरुङ कसरी ‘फुत्किए’ भन्ने प्रश्न उठ्यो । उनी फुत्किँदा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गुरुङविरुद्ध अनुसन्धान गरेर पूरक अभियोग लैजान सिफारिस गरिसकेको थियो । २०८१ जेठ ताका उनी ६० किलो सुन प्रकरणमा सीआईबीको तीव्र खोजी सूचीमा थिए ।
गुरुङको गाडी चढ्थे सुन तस्करीमा संलग्न वाङ
तस्करीको ६० किलो सुन र भेप प्रकरणमा संलग्न देखिएका जीवनकुमार गुरुङले चिनियाँ सुन तस्करलाई गाडी दिएका थिए । पूर्व सभामुख कृष्णबहादुर महराको सिफारिसमा भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई गुरुङले गाडी दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
वाङले चढ्ने गाडी प्रहरीले बरामद गरेको थियो । रिनावल्ट कम्पनीको डस्टर गाडी जीवनको नाममा रहेको भेटिएको छ । गाडीबारे बुझ्न यसअघि सीआईबीले गुरुङलाई पटक–पटक सीआईबीमा बोलाएर छाडेको भेटिएको छ । तत्कालीन एआईजी किरण बज्राचार्य सीआईबीमा हुँदा गुरुङ पटक-पटक सीआईबीमा पुगेपनि अनुसन्धानको घेरामा परेनन् ।
चिनियाँ सुन तस्कर वाङ विगत १५ वर्षदेखि नेपालमा थिए । वाङले प्रयोग गर्ने गाडी बरामद गरेर प्रहरीले गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा बुझाएको छ ।