Summary
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ।
- निर्वाचन आयोगले साढे १० बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
- २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् ।
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने र साढे १० बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ ।
एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले भने, ‘कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्यो भने पनि हाम्रो लक्ष्य साढे १० बजेसम्ममा रिजल्ट आउट गर्ने हो ।’
भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत् भोटिङ भएको थियो । २ हजार २६३ प्रतिनिधिहरुमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । यसअनुसार ३६ जना अनुपस्थित भएका छन् ।
अब मुचुल्का गरी विद्युतीय भोटिङ मेसिनममा रहेका चिप्सलाई शिलबन्दी गरिने छ । त्यसपछि उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहिरुको रोहबरमा मत गणना गरिने छ ।