Suchana Vatika

मुसिकोटदेखि मुसिकोटसम्म : जनार्दन शर्मा

शर्मा जे गर्दैछन्, यसले उनलाई माओवादी पक्कै बनाउने छैन । ‘सेन्टर टु लेफ्ट’ पनि बनाउने छैन। ‘सेन्टर टु राइट’ बनाउनेछ। त्यत्रो राजनीतिक विद्रोह गरेको मुसिकोटले कालो झण्डा देखाइराख्ने मात्रै छैन, अन्ततः उनको सम्पूर्ण हिसाबकिताब माग्नेछ।

सुरुमा रुकुम पश्चिमस्थित नेकपा(माओवादी केन्द्र)को मुसिकोट नगर समितिले नेता जनार्दन शर्माको ‘विद्रोह’लाई साथ दियो भनेर सम्पूर्ण सार्वजनिक मिडियामा पढ्न पाइयो । त्यसपछि त्यहीँ शर्मालाई कालो झण्डा देखाइयो भनेर पनि पढ्न र देख्न पाइयो। राजनीतिमा कुनै खास प्रभाव भएका नेताका पक्षमा र उनका विपक्षमा यस्ता पक्षधरता र गैरपक्षधरता भईरन्छन्। तर आफ्नै गृहनगर मुसिकोटले अन्ततः कालो झण्डा फहराएर विरोध गर्नुमा जनार्दनको आफ्नै व्यक्तित्व र भनाइगराइहरू जिम्मेवार छन्।

नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित दर्जनौं कम्युनिष्ट एवं बामपन्थी शक्तिबीच एकता हुने भएपछि त्यसमा गम्भीर असहमति जनाउँदै तत्कालीन नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी छाडे ।

तर पार्टीमा रहुन्जेल त्यस पार्टीको आन्तरिक जनवादका लागि उनले धेरै लडभिड गरेको देखियो । लडभिड गर्दा उनले राखेका जनवादी केन्द्रीयताका मूल्य-मान्यताप्रति पार्टीको तल्लो तहसम्मै आकर्षण थियो । माओवादीको सैद्धान्तिक मुल्य र युद्ध-आन्दोलनक्रमका सहिद, बेपत्ता, अपाङ्ग तथा घाइतेप्रति उनी सम्पूर्ण समर्थित थिए । अध्यक्ष प्रचण्डले यीनै मुद्दा छाडेकाले आफूले ‘विद्रोह’ गरेको उनले सुरुमै भनेका थिए।

०७४ सालमा अब राजकीय स्थिरता एवं कम्युनिष्ट मूल्यपद्धतिका लागि एमाले र माओवादी केन्द्र एक हुनैपर्छ भन्ने प्रचण्डपछिका मुल अभियन्ता उनै थिए । तर त्यो एकता टिकेन । एमालेको जनताको बहुदलीय जनवाद र समाजवाद-संक्रमण अपरिहार्यसहितको माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवादको फ्युजन भएर, त्यो एकताको आधार जनताको जनवाद बनेको थियो ।

तर अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई मात्रै होइन, माओवादी आन्दोलनलाई मात्रै होइन, समग्र कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रीय आन्दोलनलाई समेत माइनस गरेपछि तथा प्रधानमन्त्रीका रूपमा पार्टी र राज्य, दुबैलाई भड्खालोमा हाल्न खोजेपछि त्यो टुट्यो ।

टुटेको भलिभाती स्वीकार्यतासहित जनार्दन माओवादी केन्द्रमै भए । अहिले जेनजी आन्दोलनको प्रभावलाई समेत स्वीकार्दै प्रचण्डले टुटेका कडीहरू जोड्दैगर्दा जनार्दन भने मुसिकोटमा कालो झण्डा बेहोर्दैछन्।

जनार्दनले नेपाली कम्युनिष्ट पार्टी हुन किन अस्वीकार गरे, यसबारेका परिघटनाहरू झनपछि झन खुल्दै छन्। अलि अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भनेका थिए- ‘डा. बाबुराम भट्टराई र जनार्दन शर्माले रास्वपाको नेतृत्व गर्ने इच्छा जाहेर गर्नुभएको छ।’

रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निकाल्ने पक्ष भएर गरिएको हस्ताक्षर ‘क्याम्पियन’ होस् वा उक्त पार्टीका वार्षिकोत्सव वा सानातिना कार्यक्रममा समेत उपस्थित वा समर्थित भएर, डा. भट्टराईले भने पहिल्यैदेखि आफूलाई त्यता उजागर गरेकै थिए । त्यसो त अब कम्युनिष्ट भइराख्नुको औचित्य छैन भन्दै नयाँ शक्ति पार्टीका रुपमा राजनीतिको वैकल्पिक शक्ति हुने प्रयास उनले ०७२ सालदेखि नै गरेका हुन्।

तर नेपाली कम्युनिष्ट पार्टीले माओवादी (सिद्धान्त) छाडेको मूल आक्रोशमा त्यसमा सामेल नभएको सार्वजनिक उद्घोष गरिरहेकैबीच रास्वापा जस्तो उदार पुँजीवादी शक्तिको नेतृत्व गर्ने इच्छा जनार्दन शर्माले समेत देखाए होलान् र ? त्यसैले मनिष झाको त्यो दावीलाई अविश्वसनीय ठानिएको थियो।

राजनीतिमा पछिल्ला गठजोडहरू जसरी बने र बन्दै गरेका छन्, त्यसले झाको दाबीलाई विश्वसनीय बनायो। रास्वापाका सचिवालय सदस्य एवम् शक्तिशाली नेता सन्तोष परियार, र दुर्गा सोबले नेतृत्व गरेको डा.भट्टराईको नयाँ शक्ति र शर्माको प्रगतिशील अभियान एकठाउँ भए। जहाँ माओवाद भन्ने चिज कहिँकतै भेटिदैन। भोलि माओवाद भेटिन्छ कि! भनेर हेर्नुको गुन्जायससम्म देखिंदैन।

‘त्यहाँ माओवाद भेटिनै पर्थ्यो’ भन्ने यो लेखको वा लेखकको आग्रह होइन। माओवाद त मरिगए छाड्न मिल्दैन भनेर नेपाली कम्युनिष्ट पार्टी हुनबाट अलग भएका शर्मा अब कस्तो लोकतान्त्रिक(पार्टी) बोकेर हिंडिरहेका छन् ? भन्ने प्रश्न मात्रै हो।

एक प्रभावशाली नेता परियारलाई नै आफूबाट खोसेपछि रास्वपाले तत्काललाई डा. भट्टराई र शर्मालाई नेतृत्व पक्कै मान्नेछैन । अध्यक्ष(रवि लामिछाने)को सहकारी काण्ड र त्यसलाई बेकरार गर्ने फर्जी ‘रिहा काण्ड’ले उ आफैं घर न घाटको भएको छ। उज्यालो नेपाल पार्टीका प्रमुख ‘होल्डर’ तथा वर्तमानका शक्तिशाली विकासेमन्त्री कुलमान घिसिङलाई भावी प्रधानमन्त्री बनाउने लाइनमा रास्वपा पुगिसक्यो।

तर भट्टराई र शर्माले बनाउन खोजेको प्रगतिशील लोकतान्त्रिक पार्टी पनि रास्वपाभन्दा पृथक सैद्धान्तिक धरातलको हुनेछैन र भोलि उनीहरूबीच सौहार्द सम्बन्ध एवम् एकता सहितको भेट हुनेछ भनेर विश्लेषण गर्नु जनताका लागि सही सूचना हुनेछ।

अनुमान गरेर हेर्दा र सत्य के हुनसक्ला ! भनेर विश्लेषण गर्दा वैकल्पिक भनिएका रास्वपा र नयाँ शक्ति सहितका पक्षधरहरूलाई एकठाउँमा ल्याउँछु भन्ने विश्वासले नै शर्मा नेपाली कम्युनिष्ट पार्टीप्रति असहमत भएका रहेछन् । हाललाई रास्वपाले आफू वा डा. भट्टराईको नेतृत्व नमान्ने बुझेपछि नै शर्माहरूले परियारलाई जोडेका रहेछन्। यद्यपि परियार वैचारिक अवधारणाबीच रुमल्लिएका तर जनसापेक्ष लोकतान्त्रिक अभियन्ता हुन् । उनी जनार्दन-बाबुरामतिर राम्रै बुझेर जोडिएका होलान्, यसमा मेरो कुनै टिप्पणी छैन । तर मेरो बुझाइमा यो जोडाई भने कुलमान घिसिङको पार्टीदेखि वीरेन्द्रबहादुर बस्नेतको पार्टीसम्म पुग्नेछ।

ठीक छ, शर्मा आफूलाई लागेको गर्न स्वतन्त्र छन् । गर्दै गरेको काममा सफल होउन् । तर माओवाद नाममा आफूलाई विश्वास गरेका नेताकार्यकर्ता पंक्तिलाई भोलिसम्मै विश्वासमा लिने जुन चुनौती छ, जो उनको आफ्नै ‘स्ट्रेन्थ’ पनि हो, त्यही चुनौतीले उनलाई घरको न घाटको बनाउने भने निश्चित छ।

शर्मा जे गर्दैछन्, यसले उनलाई माओवादी पक्कै बनाउने छैन । ‘सेन्टर टु लेफ्ट’ पनि बनाउने छैन। ‘सेन्टर टु राइट’ बनाउनेछ। त्यत्रो राजनीतिक विद्रोह गरेको मुसिकोटले कालो झण्डा देखाइराख्ने मात्रै छैन, अन्ततः उनको सम्पूर्ण हिसाबकिताब माग्नेछ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.