Suchana Vatika

गगन थापा : सभापतिले नाम मात्रको कार्यवाहक दिनुभयो, शक्तिको अभ्यास आफैले गर्नुभएको छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

पार्टीमा कार्यवाहक दिने, बैठकहरूमा नआउने तर शक्तिको सबै अभ्यास कायमै राखिरहेको भन्दै महामन्त्री थापाले केन्द्रीय कार्यालय सानेपाबाटै खुला असन्तुष्टि राखेका हुन्।

गत असोज २८ गते सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर पछिल्ला राजनीतिक भेटघाटलगायत पार्टीका आन्तरिक गतिविधिमा सभापति देउवा नै सक्रिय छन्।

‘पार्टी सभापतिजीले कार्यवाहक दिनुभएको छ तर नाम मात्रको कार्यवाहक,’ केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि आज सानेपामा पत्रकारहरूसँगको कुराकानीमा महामन्त्री थापाले भने, ‘सभापतिजी बैठकमा आउनुभएको छैन तर बाँकी सबै शक्ति अभ्यास त्यहीँबाट भइरहेको छ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सभापति देउवामाथि आक्रमण भएको थियो। उनको बूढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको थियो। सभापति देउवा दम्पती सिंगापुरमा उपचार गरी स्वदेश फर्किएपछि सक्रिय भूमिकामा छन्।

महामन्त्री थापाले सभापति देउवालाई पार्टीको सर्वोत्तम हित हेर्न र तोकिएको समयमा महाधिवेशन गर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन्।

‘सभापतिज्यूले केन्द्रीय समितिमा उपस्थित भएर कार्यवाहक दिनुभएको थियो। देशभरका नेता कार्यकर्ताले अब सभापतिजी अभिभावकीय भूमिकामा रहनु हुन्न भन्ने आशा गरेका थिए तर त्यस्तो भएन, शक्तिको अभ्यास उहाँले गर्दै आउनुभएको छ,’ उनले भने, ‘सभापतिजीलाई खुला आग्रह छ, पार्टीको सर्वोत्तम हितका लागि चिन्ता गर्नुहोस्।’

उनले क्रियाशील सदस्यता वितरण र नवीकरण टुंगो लगाउनुपर्ने जिम्मेवारी वडा, क्षेत्र र जिल्लाकै बढी भएको र आफू संयोजक रहेको क्रियाशील व्यवस्थापन समितिले समन्वय मात्रै गरिदिने भएकोले महामन्त्रीहरूलाई दोष दिन नमिल्ने पनि बताए।

मंसिर १५ गते केन्द्रीय समिति बैठकबाट कांग्रेसले पुस १६ गतेदेखि वडा अधिवेशन सुरू गरी ६ तहको अधिवेशन गरेर पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो। तर आजसम्म क्रियाशील सदस्यता टुंगो लागेको छैन।

आजसम्म करिब ५३ जिल्लाको क्रियाशील सदस्यता नवीकरण ‘सिष्टममा इन्ट्री’ भइसकेको छ। 

त्यसैले तोकिएको कार्यतालिकाअनुसार अधिवेशन नहुने देखिएको भन्दै महामन्त्री थापाले आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा तीन तहको मात्र अधिवेशन गर्न प्रस्ताव गरेका छन्।

पुस १६ मा गर्ने भनेको वडा अधिवेशन केही दिन सारेर गर्ने, प्रतिनिधि सभा क्षेत्रीय महाधिवेशन गर्ने र केन्द्रीय महाधिवेशन गर्ने गरी आफूले प्रस्ताव गरेको महामन्त्री थापाले बताए।

यो प्रस्तावमा छलफल भइरहेको छ। अझै एक/दुई दिन केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। 

महामन्त्री थापाले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने पनि बताएका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.