Suchana Vatika

कानुनले के भन्छ, बालेनले छाडेपछि काठमाडौं महानगरमा के हुन्छ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गरेपछि राजीनामा दिने तयारी गरिरहेका छन्।

उनको राजीनामापछि काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुनेछ।

मेयर बालेनले एक-दुई साताभित्रै राजीनामा दिए मेयरको पदावधि १६ महिना बाँकी रहने छ।

स्थानीय तह निर्वाचन ऐनले कुनै कारणबाट मेयर लगायतका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन हुने व्यवस्था गरेको छ।

तर त्यो बाँकी अवधि एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि त्यही कानुनमा उल्लेख छ।

काठमाडौं महानगरका मेयरबाट बालेनले अबको दुई साताभित्र राजीनामा दिएको अवस्थामा एक वर्षभन्दा बढी समय बाँकी हुने भएकाले उपनिर्वाचन गर्न कानुनले रोकेको छैन।

उपनिर्वाचन घोषणा गर्ने बेला जुन सरकार हुन्छ, त्यो सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय गर्नुपर्ने कानुनी व्यवस्था छ।

आयोगका एक अधिकारीका अनुसार आयोगले कति ठाउँमा निर्वाचन गर्नुपर्ने छ भन्ने हेरेर परामर्शका बेला छलफल हुन्छ।

‘घोषणा गर्नुअघि कति ठाउँमा उपनिर्वाचन गर्नुपर्ने छ हेरिन्छ, त्यसपछि सरकारले मिति तय गर्ने हो,’ उनले भने।

चुनाव भएर अर्को मेयर नआउन्जेल उपमेयरले कार्यवाहक भएर काम गर्ने कानुनी व्यवस्था छ। काठमाडौंका उपमेयर सुनीता डंगोल छिन्। उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.