Suchana Vatika

 पूर्वमन्त्री गुप्ताको बयान सुरु विशेष अदालतमा

सारांश

  • पोखराको लिचीघारी जग्गा घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ।
  • गुप्ताले मालपोतका कर्मचारीको सरुवा रोक्न र भूमि आयोगमा सदस्य बनाउन घुस लिएको आरोप छ।
  • अख्तियारले गुप्ता र रन्जिता श्रेष्ठविरुद्ध ७८ लाख घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।

काठमाडौँ । पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा पूवमन्त्री गुप्तासँग बयान भइरहेको छ । गुप्तासँग बयान सकिए लगतै आजै थुनछेक बहस हुनेछ ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।

आयोगका अनुसार कुल ७८ लाख रुपियाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको हो । डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा श्रव्य, दृश्य (अडियो, भिडियो) सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको निष्कर्ष निकालेको थियो ।

 अख्तियारले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी सुजनकुमार तामाङ, खमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगर गरी सात जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.