Suchana Vatika

२१ जिल्ला खाली, एमालेको समानुपातिक सूची– झापाबाट ९ जनाको प्रतिनिधित्व

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ।

एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग सदस्यसहित १४ जनाको प्रतिनिधित्व छ।

गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको छ। यसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो छन्।

झापापछि काठमाडौंबाट ७ जनाको प्रतिनिधित्व छ, जसमा लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडेको नाम समावेश छ।

धनुषाबाट पनि ७ जनाकै प्रतिनिधित्व छ। त्यसमा उर्मिला देवी पासवान, यशोदा कुमारी यादव, मन्जु महतो, रेणु साह, अरविन्द साह, राम चरित्र साह र चन्द्रेश्वर यादव समेटिएका छन्।

पाल्पाबाट ४ जना — हीरासरा राना, ओमबहादुर घर्ती, थानेश्वरप्रसाद बस्याल र रोजी खातुनको प्रतिनिधित्व छ।

कैलालीबाट ४ जना लीलाकुमारी भण्डारी, हरिशंकर योगी, इच्छा कुमारी चौधरी र सावित्रा घिमिरे भने चितवनबाट पनि ४ जना रामबहादुर थापा मगर, सन्तबहादुर प्रजा, प्रभा बराल र यमबहादुर परियारको प्रतिनिधित्व छ।

धादिङबाट ३ जना गंगादेवी श्रेष्ठ, क्रान्ति बुर्लाकोटी र डा. पुष्प कँडेल सूचीमा समावेश छन्। काभ्रेपलाञ्चोकबाट तीन जना भक्तकुमारी लामा, सुमित्रा राजवंशी र इन्द्रबहादुर तामाङको प्रतिनिधित्व छ भने महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ३ जना कोमल वली, शान्ता चौधरी र साजिदा सिद्दिकीको नाम सूचीमा समावेश छ।

सिराहाबाट नै ३ जना छन्, जसमा आशाकुमारी यादव, चन्द्रेश्वर मण्डल र राजेश अग्रवालको नाम छ।

रौतहटबाट पनि ३ जना छन्। रअन्शु सिंह, बबिता दास कर्ण र सच्चितानन्द साह रौतहटबाट समेटिएका नाम हुन्।

ललितपुर, मोरङ, उदयपुर, लमजुङ, कास्की, स्याङ्जा, कञ्चनपुर, कालिकोट, पर्वत, बाँके, कपिलवस्तु, बारा, सर्लाही, अछाम र बझाङबाट दुई-दुई जनाको प्रतिनिधित्व छ।

पाँचथर, इलाम, खोटाङ, सुनसरी, म्याग्दी, धनकुटा, मुस्ताङसहित ३० जिल्लाबाट एकएक जनाको प्रतिनिधित्व छ।

२१ जिल्लाबाट कसैको पनि प्रतिनिधित्व छैन।

निर्वाचन आयोगमा बुझाएको सूची अनुसार ५६ को प्रतिनिधित्व देखिएको छ। २१ जिल्लाबाट कुनै पनि उम्मेदवार छैनन्।

ताप्लेजुङ, तेह्रथुम, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, गोरखा, मनाङ, बागलुङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, जुम्ला, बाजुरा, डोटी, डडेल्धुरा, बैतडीबाट प्रतिनिधि शून्य छन्।

यद्यपि यो सूचीमा उल्लेखित मीना बरामुले भने गोरखाबाट प्रतिनिधित्व गर्छिन्। ११औं महाधिवेशनमा उनी गोरखाबाटै प्रतिनिधि जितेर आएकी थिइन्। उनी यसअघि आरूघाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार थिइन्। 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.