Skip to main content

Suchana Vatika

भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन गर्ने, न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो

ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् । ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म वेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भनेका छन् । 

२० पुस, काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख आतंकवाद विरोधी इकाइ हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको फोटो सार्वजनिक गरेर मादुरो दम्पत्तिलाई नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका थिए । ट्रुथ सोसलमा सार्वजनिक फोटोमा मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधेको देखिन्छ । उनले ग्रे रंगको ट्र्याकसुट लगाएको र कानमा हेडफोन राखेको देखिन्छ ।

साथै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् । ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म वेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भनेका छन् ।

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध कानुनी मुद्दा चलाइने जनाएको छ । उनीहरुमाथि लागुऔषध कारोबारलाई प्रश्रय दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिनगन र खतरनाक उपकरण राख्ने तथा त्यसमा षड्यन्त्र गरेको अभियोग छ ।’

उनले थप लेखेकी छन्, ‘उनले चाँडै अमेरिकी भूमिमा अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्नेछन् ।’ तर मादुरोकी पत्नीमाथि कुन आरोप लाग्ने भन्ने खुलाइएको छैन ।

अमेरिकाको निन्दा

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको रूस, चीन, कोलम्बिया लगायत देशले निन्दा गरेका छन् ।

रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले वेनेजुएलामाथि सशस्त्र आक्रमण गरेको छ, जुन गम्भीर चिन्ताको विषय हो र यसको निन्दा गरिनुपर्छ ।’

कोलम्बियाले पनि चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको चार्टर अनुसार कुनै पनि एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने बताएको छ ।

आक्रमणबाट सैन्य संरचनामा कति क्षति भयो र कति मानिस हताहत भए भन्नेबारे अझै स्पष्ट विवरण आएको छैन । आक्रमण भएका स्थानमा बम विष्फोट भएका र धुँवाको मुस्लो देखिन्थ्यो ।

भेनेजुएलाले भन्यो– हामी झुक्नेछैनौं

वेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारले राष्ट्रपति मादुरो वा प्रथम महिला सिलिया फ्लोरेसबारे कुनै जानकारी नपाएको बताएकी छन् । उनले दुवै जीवित रहेको तत्काल प्रमाण माग गरेकी छन् ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको बताएका छन् । उनले विदेशी सैनिकको उपस्थितिको विरोध गर्ने चेतावनी दिँदै देशभर सैन्य बल परिचालन गरिएको घोषणा गरेका छन् ।

स्पेनी भाषामा जारी भिडियो सन्देशमा उनले यसलाई ‘वेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन् । उनले भने, ‘हामीमाथि आक्रमण भयो, तर हामी झुक्ने छैनौं ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.