Suchana Vatika

१२ घण्टापछि ४ जना मृतकको पहिचान : भीमफेदी जिप दुर्घटना

घटनामा ६ जनाको घटनासथलमै मृत्यु भएको थियो भने ३ जना घाइते भएका छन् । १२ घण्टापछि मात्रै ४ मृतक र घाइतेको पहिचान भएको छ । २ जना मृतकको पहिचान भएको छैन ।

२१ पुस, हेटौंडा । काठमाडौं- हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार टाटासुमो जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । जिपमा ६ जना पुरुष, एक जना महिला, एक बालिका र एक जना बालक थिए ।

घटनामा ६ जनाको घटनासथलमै मृत्यु भएको थियो भने ३ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनाको १२ घण्टापछि मात्रै मृतक र घाइतेको पहिचान गरेको छ ।

मृतक दुई जनाको भने अझै पहिचान हुन नसकेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

डिएसपी बोगटीकाअनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

अन्य मृतक करिब ३५ वर्ष र ४० वर्षका पुरूषको पहिचान हुन नसकेको डिएसपी बोगटीले जानकारी दिए । उनीहरूको हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, हेटौंडा अस्पतालमा उपचार भइरहेको घाइतेमध्ये २ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।

जिपका चालक हेटौंडा उपमहानगरपालिका-४ कर्राचोक बस्ने करिब ४०-४५ वर्षका गणेश थापा र मृतक सविता लम्सालको छोरा १२ वर्षका अभ्यास लम्साललाई भरतपुर रिफर गरिएको हो ।

उनीहरूको अवस्था गम्भीर रहेको डिएसपी बोगटीले जानकारी दिए । हेटौंडा अस्पतालमा उपचाररत् अर्का घाइते रौतहटको चन्द्रपुर नपा-२ बस्ने रिचा चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.