सारांश
- जेनजी अभियन्ता तनुजा पाण्डेले कुलमान घिसिङलाई मन्त्री पद छाडेर मैदानमा जान सुझाव दिएकी छिन्।
- उनले कुलमान घिसिङले आफू कुनै पार्टीको सदस्य नरहेको प्रतिक्रिया दिएकोमा आपत्ति जनाएकी छिन्।
- पाण्डेले गैरदलीय सरकारमा बसेर पार्टीगत राजनीति गर्नु नैतिक र राजनीतिक दुवै दृष्टिले गलत हुने बताइन्।
काठमाडौँ । जेनजी अभियन्ता तनुजा पाण्डेले कुलमान घिसिङलाई मन्त्री पद छाडेर मैदानमा जान सुझाव दिएकी छिन् । हालै घिसिङले आफू कुनै पार्टीको सदस्य नरहेको प्रतिक्रिया दिएकोमा उनले आपत्ति समेत जनाएकी छिन् ।
उनले भनेकी छिन्– ‘रास्वपा उपसभापतिमा सहमति दिनु भएका कुलमान सरले “म कुनै पार्टी सदस्य होइन” भन्नु भएछ, सुन्दा त मलाई नै लाज लाग्यो, नामको अगाडि ‘माननीय’ राख्नासाथ नैतिकता भाग्छ कि क्या हो ?’
उनी थप भन्छिन्– ‘माननीयज्यूले बिर्सनु भएजस्तो छ, जब देशको परिस्थितिअनुसार विशेष ‘गैरदलीय सरकार’ गठन हुन्छ, त्यहाँ सहभागीहरूको मुख्य दायित्व केवल आफ्नो म्यान्डेट पूरा गर्नु हो। मौका पाउँदा चौकावाला राजनीति गर्नु होइन। यो सरकार कुनै दलको बहुमत वा राजनीतिक समीकरणको आधारमा बनेको होइन। यो जेनजी आन्दोलनको जगमा जन्मिएको अन्तरिम व्यवस्था हो, जसको एकमात्र लक्ष्य निष्पक्ष निर्वाचन सम्पन्न गराउनु र आन्दोलनका मागहरू सम्बोधन गर्नु हो। यस्तो अवस्थामा, सरकारकै मन्त्रीहरूले पार्टीगत गतिविधिमा सक्रिय हुनु नैतिक र राजनीतिक दुवै दृष्टिले गलत हो। ‘
‘आफ्नो संलग्नता लुकाउने प्रयास अझ लज्जास्पद देखिन्छ। नेपालमा ठग नेताहरूको कमी छैन, बिन्ती छ कृपया तपाईँ अर्को पात्र नबन्नुहोस्। यस्तै झुट, दोहोरो चरित्र र अवसरवादी राजनीति ले जनतामा निराशा मात्र थप्छन्।तपाईँले आज बोलेको झुट भोलि प्रश्न बन्छ, पर्सि आरोप बन्छ, र अन्ततः तपाईंको राजनीतिक पहिचान बन्छ। विश्वास गुमेपछि शक्ति अर्थहीन हुन्छ। त्यसैले, आस्था घरमा राखेर आउनुहोस् वा पद छोडेर मैदानमा जानुहोस् तर, गैरदलीय सरकारको कुर्सीमा बसेर पार्टीगत राजनीति गर्ने सुविधा हालको परिस्थितिमा छैन। जनता अज्ञानी छैनन्।जनताको नाममा बनेको सरकारको कुर्सीमा बसेर जनतालाई झुट बोल्ने छुट कसैलाई पनि छैन, पाण्डेले भनेकी छिन् ।