Suchana Vatika

अधिकतम लचकता देखाएँ तर पार्टी एकता जोगाउन सकिनँ – सचिवालय बैठकमा रविको ब्रिफिङ

प्रत्यक्षतर्फ यो यो सिट चाहिन्छ भनेर उज्यालो नेपालले अडान राखेको रास्वपाको भनाइ

राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङनिकट उज्यालो नेपालबीच एकताको सहमति १२ दिनमै तोडिन पुगेको छ।

रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच पार्टी एकता गर्ने पुस १४ को निर्णय कार्यान्वयनबारे पटक पटक कुरा हुँदा पनि सहमति जुट्न नसकेर आज एकता भंग भएको हो।

रास्वपा सचिवालयको आज दिउँसो बसेको भर्चुअल बैठकमा सभापति लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता बचाउन नसकेको ब्रिफिङ गरेको एक सचिवालय सदस्यले जानकारी दिए।

‘पार्टी एकताको पूर्ववत: सहमतिअनुसार अघि बढ्न मैले अधिकतम लचकता अपनाएको हुँ तर उज्यालो नेपालसँगको एकता हाललाई स्थगित गर्नुपर्ने अवस्था आयो,’ सभापति लामिछानेका कुरा उद्धृत गर्दै एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, ‘पार्टी एकता सहमति बचाउन सकिनँ।’

ती सचिवालय सदस्यका अनुसार उज्यालो नेपालले पार्टीको नाम फेर्नेदेखि प्रत्यक्षतर्फ क्षेत्रहरू तोकेर आफूलाई चाहिनेसम्म अडान राखेको थियो। त्यसमा रास्वपा नेतृत्व मान्न तयार देखिएन।

‘यो यो क्षेत्र नै चाहिन्छ भनेर माग्नुभयो, त्यो अहिले दिन सकिने कुरा भएन। समानुपातिकतर्फ पनि उहाँहरूको असन्तुष्टि रहेछन्,सिट तोकेर भागबन्डा गर्ने कुरा आयो। अहिले पार्टी एकताभन्दा पनि जितेर आएपछि एकता गरौंला भन्ने कुरा पनि आएका थिए,’ ती सदस्यले भने, ‘मेयर बालेन शाहलाई भन्दा कम केन्द्रीय समिति र पदाधिकारी स्वीकार्य छैन भन्नेजस्ता कुरा पनि आए।’

सचिवालय सदस्य शिशिर खनालका अनुसार हाललाई उज्यालो नेपालसँगको एकता स्थगित गर्ने सचिवालय बैठकले निर्णय लिएको छ।

उज्यालो नेपालका एक नेताले सेतोपाटीसँग कुराकानी गर्दै रास्वपाले आफूहरूको शक्ति स्वीकार गर्न नसक्दा एकता भाँडिन पुगेको बताए। 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.