Suchana Vatika

प्रचण्डको घोषणा रुकुम पूर्वबाट चुनाव लड्ने

रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।

Summary

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको छ।
  • प्रचण्डले रुकुम पूर्वबाट चुनाव लड्ने हुँदा पश्चिम रुकुमका जनतासँग पनि एकाकार हुने प्रतिबद्धता जनाउनुभएको छ।
  • प्रचण्डलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए, तर २१ फागुनको निर्वाचनअघि उनको उम्मेदवारी स्थान सार्वजनिक भएको थिएन।

२६ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।

‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’

उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दु:ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए ।

यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए ।

२०६४ मा पहिलोपटक निर्वाचन लडेका प्रचण्डले हरेकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् ।

२०६४ मा भएको संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा २ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । दुवै ठाउँबाट उनी विजयी भए ।

२०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार बनेका थिए । काठमाडौंबाट पराजित भए पनि उनी सिरहाबाट विजयी बने ।

संविधानसभाबाट संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा उनी गृहजिल्ला चितवन २ बाट उम्मेदवार बने र विजयी पनि भए ।

२०७९ मा भएको निर्वाचनमा उनी गृहजिल्ला चितवन छाडेर गोरखा २ मा निर्वाचन लड्न गए । त्यहाँ पनि उनी विजयी बने ।

यसपटक उनलाई उम्मेदवार बन्न पार्टीका आधा दर्जभन्दा बढी जिल्लाबाट नाम सिफारिस भएका थिए । चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ, रुकुम पूर्वबाट उनको सिफारिस भएको थियो । उनी रुकुम पूर्वका लागि सकारात्मक बनेका खबर आइरहेका थिए ।

शनिबार उनले आफू रुकुम पूर्वबाटै आगामी निर्वाचन लड्ने घोषणा गरे ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.