Skip to main content

Suchana Vatika

मासिने भयो सुन्तला हेर्दाहेर्दै

पोखरा उपत्यकाको दक्षिणपट्टि लस्कर लागेको पहाड यति बेला सुनौलो देखिन्छ।

डाँडाभरि लटरम्म फलेका सुन्तला बगैंचा छन्। बगैंचामा सुन्तला मात्र होइन, त्यसका पात पनि पहेँलिएका छन्।

उत्तरतर्फ अन्नपूर्ण हिमशृंखला प्रस्ट देखिने पोखरा–३१ कृष्तीदेखि वडा नम्बर ३२ भरत पोखरीसम्मका बासिन्दाले सुन्तला खेती गरेका छन्। बगैंचामा कोही सुन्तला टिपिरहेका छन् त कोही दाना गनिरहेका छन्।

सुन्तला बेच्न किसानले बजार धाउनुपर्दैन। व्यापारी नै गाउँ पुग्छन्।

तर पनि किसानको मनमा बेचैनी छ। किनकि सुन्तलाको उत्पादन घट्दो छ। बोटमा रोग लागेको छ। रोगले नै बोटका पातहरू पहेँलिएका हुन्।

कृष्तीका ७६ वर्षीय पिताम्बर सुवेदी दिनहुँ सुन्तला बगैंचा डुल्छन्। बेर्ना र पात पल्टाउँछन्। मल र पानी दिन्छन्। जति गरे पनि सुन्तलाका पातले हरियो रङ हाल्दैन।

‘कति मलजल दिएको छु। कति स्याहार गरेको छु। तर हरियो भएर आउँदैन,’ उनले भने, ‘यत्ति स्याहार त पहिले कहिल्यै गरेको थिइनँ। के गर्ने होला!’

कृष्तीमा पिताम्बरका सानाठूला गरी १५० वटा सुन्तला बोट छन्। पोहोर उनले सुन्तला बेचेर ५ लाख रूपैयाँ आम्दानी गरेका थिए। यस पटक १ लाख ४० हजार रूपैयाँ हुने अनुमान छ।

सुन्तलाको उत्पादन घट्नु र पात पहेँलो हुनुको कारण एउटै छ — सिट्रस ग्रिनिङ रोग।

पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सुन्तलामा लाग्ने सिट्रस ग्रिनिङ ब्याक्टेरियाका कारण लाग्छ। सुन्तला लगायत अमिलो प्रजातिका फलका फूलमा रस चुस्न जाने साइलिड नामक कीराले एउटा बोटबाट अर्को बोटमा ब्याक्टेरिया फैलाउँछ। यसरी नै नेपालभरका सुन्तलामा सिट्रस ग्रिनिङ रोग फैलिएको छ।

‘लामखुट्टेले मलेरिया रोग एउटा मान्छेबाट अर्को मान्छेलाई सारेजस्तै हो यो पनि,’ उनले भने, ‘सिट्रस रोग संक्रमित सुन्तलाको बोटबाट साइलिड नामको कीराले अर्को स्वस्थ बोटमा रोग सार्छ।’

सिट्रस ग्रिनिङले सुन्तलाका दाना पनि साना भएका छन्। स्वादमा परिवर्तन आइरहेको छ।

‘यो रोग उन्मूलन नभइकन अब सुन्तला राम्रो हुने मैले देखेको छैन,’ पिताम्बरले भने, ‘मेरो मात्र होइन, सबैको सुन्तलामा यो रोग छ। बेर्नामा पनि सरेको छ।’

पिताम्बर र सुन्तलाको सम्बन्ध नयाँ होइन।

उनी जन्मिएको वर्ष उनका बुबाले कृष्तीमा नयाँ घर बनाएका थिए। घर अगाडि एउटा सुन्तलाको बोट ल्याएर सारे। करिब ६–७ वर्षको उमेरमा फल लाग्न थाल्यो। पिताम्बर सुन्तला खाँदै हुर्किए।

खाजा होस् वा गाउँमा मेलापात जाँदा वा घरमै बस्दा, गोठालो जाँदा पनि सुन्तला खाजा लिएर गए। आफन्तलाई कोसेली पनि सुन्तला नै दिए।

त्यति बेला कृष्तीमा सबैका घरमा कम्तीमा एउटा सुन्तला थियो। व्यवसाय गर्ने उद्देश्यले भने कसैले रोपेका थिएनन्। 

सबैले परम्परागत खेती गर्थे। आफूलाई चाहिने फलफूल र अन्न आफै फलाउँथे। नगदका लागि ज्यालादारी वा अन्य रोजगारी गर्थे। पिताम्बरका बुबा पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्गमा बाटो खन्न जान्थे।

युवा हुँदै गएपछि पिताम्बरको सुन्तलामोह बढ्यो। उनले बियाँबाट बेर्ना जमाए। २०२७ सालमा कोदो, मकै जस्ता अन्न फल्ने बारीमा सुन्तलाका बिरूवा रोपिदिए।

अन्न फल्ने बारीमा सुन्तला रोपेपछि आमाले ‘तैंले यो नहुने काम गरिस्’ भनेर गाली गरिन्।

पिताम्बरले जबाफ दिए, ‘होइन आमा, तपाईं नकराउनुस्। सुन्तला त सार्नुपर्छ।’

उनले बारीमा ४० वटा बिरूवा रोपेका थिए। मलपानी दिए। रोपेको ६–७ वर्षमा फल लाग्यो। बारी पहेँलै देखियो।

लटरम्म सुन्तला परिवारले मात्र खाएर सकिने भएन। बाँडेर पनि सकिएन। पिताम्बरले सुन्तला बेच्न पोखरा लैजाने निर्णय गरे।

गाउँबाट पोखरा बजार पुग्न डेढ घन्टा पैदल हिँड्नुपर्थ्यो। खाँग्रे (ठूलो डोको) भरि सुन्तला हालेर नाम्लोले बोकेर पोखरा विमानस्थल लगे। 

त्यो बेला विमानस्थलको रनवे कालोपत्र भएकै थिएन। काठमाडौं र भैरहवा जहाज चल्थ्यो। विमानका यात्रुहरू सुन्तला किन्थे। एक रूपैयाँमा १५ वटा सुन्तला बेचेको उनलाई सम्झना छ।

पछि पिताम्बरले कृष्तीबाट पोखरा बजारसम्म सुन्तला बोक्न खेताला हाले। महेन्द्रपुलमा पनि सुन्तला बेचे।

दिनभर सुन्तला बेचेर साँझ घर फर्कँदा पिताम्बरसँग ३ सय रूपैयाँसम्म हुन्थ्यो।

एकदिन उनले पैसा दिँदै आमालाई भने, ‘कस्तो हुँदो रहेछ आमा सुन्तला खेती!’

आमाले जबाफ दिइन्, ‘तैंले बुद्धि पुर्‍याइस् बाबु। मैले उतिखेर गाली गरेँ। सुन्तला खेती त गर्नुपर्ने रहेछ। अझ थप्।’

पिताम्बरले २०४२ सालमा ९० वटा बोट थपे। त्यति बेला गाउँमा तीर्थलाल सुवेदीले सुन्तला नर्सरी स्थापना गरेका थिए।

तीर्थलालले गाउँले सबैलाई सुन्तलाको व्यावसायिक खेती गर्न हौसला दिए। कतिपय गाउँलेका बारीमा लगेर आफै बेर्ना सारिदिए।

‘तीर्थलाल दाइले नर्सरी स्थापना गरेपछि नै हाम्रो गाउँमा सुन्तला खेती फस्टाएको हो,’ पिताम्बर भन्छन्।

गाउँलेले व्यावसायिक सुन्तला खेती गर्न थालेपछि पैसाका लागि अन्य काम भौंतारिनुपरेन।

नगद आम्दानी हुने भएकाले कृष्तीदेखि भरत पोखरीसम्म करिब ५०० जना किसानले व्यावसायिक सुन्तला खेती गरेको पोखरा महानगरको आर्थिक महाशाखा प्रमुख कडरिया बताउँछन्।

यो क्षेत्रलाई कृषि कार्यालयले ‘सुन्तला पकेट क्षेत्र’ भनेको छ।

कडरियाका अनुसार कृष्तीमा जस्तै सुन्तला खेती पोखरा आसपासका सबै डाँडामा लटरम्म हुन्थे। उपत्यकाभित्र मालेपाटन, बाटुलेचोर, हेमजा लगायतका क्षेत्रमा पनि बगैंचा थिए। अहिले बगैंचा फाँडिइसके। बाँकी बचेका सुन्तलामा रोग लागेको छ।

अहिले पोखरा महानगरभित्र करिब ३५० हेक्टर जमिन सुन्तला बगैंचाले ओगटेको छ। ३५ हजार वटा फल दिने बोट छन्। यी बोटमा फलेका सुन्तला किनबेच हुँदा १० करोड रूपैयाँको कारोबार हुने कडरिया बताउँछन्।

‘सबभन्दा धेरै सुन्तला कृष्तीदेखि भरत पोखरीसम्मका किसानले फलाउँछन्,’ उनले भने।

सुन्तला अरू खेतीभन्दा सजिलो हुने पिताम्बरको अनुभव छ।

उनका हजुरबुबाले रोपेका एउटा बोटले १२० वर्षसम्म फल दिएको उनले देखेका छन्। लामो समय फल दिने र नगद आम्दानी हुने भएकाले पनि सुन्तला खेती गरेर स्थानीयले विगतमा मनग्य आम्दानी गरिसकेका छन्।

सुन्तलाका बोट मानिसको बस्तीभन्दा टाढा हुन नहुने उनी बताउँछन्।

‘सुन्तलालाई मान्छेको हावा र मान्छेलाई सुन्तलाको हावा चाहिँदो रहेछ,’ पिताम्बरले भने, ‘सुन्तलालाई मान्छेको संगत चाहिन्छ। बारीमा रोपेर छाड्छु अनि फलेपछि टिप्न जान्छु भनेर हुँदैन।’

सुन्तलाका अन्य समस्या समाधान गर्ने विभिन्न उपाय छन्। कतिपय रोग–कीराको उपचार सम्भव पनि छ।

कडरियाका अनुसार असिनाबाट सुन्तला जोगाउन किसानलाई जाली किन्न महानगरले ७० प्रतिशत अनुदान दिएको छ। प्रतिबोट १५० रूपैयाँका दरले किसानलाई अनुदान दिएको थियो। विगत ४ वर्षयता सुन्तला जोगाउन महानगरले ८० लाख रूपैयाँ अनुदान दिइसकेको छ।

उक्त रकमले सुन्तला बगैंचा व्यवस्थापन गर्ने, मल र पानी नियमित गर्न किसानलाई प्रोत्साहन मिलेको कडरिया बताउँछन्। यसले सुन्तलाको आयु केही समय लम्ब्याउन सकिने भए पनि उपचार भने सम्भव नभएको उनले बताए।

‘सुन्तलालाई खुराक बढाएर केही समय आयु लम्ब्याउने उद्देश्यले अनुदान दियौं,’ उनले भने, ‘यसरी ५ वर्षमा मर्ने सुन्तलाका बोटको खुराक बढाएर १५ वर्षसम्म बचाउन सकिएला।’

सुन्तलाका स्वस्थ बेर्ना सारिएका ठाउँमा जाली ओढाइएको उनले बताए।

सिट्रस ग्रिनिङ रोग सार्ने कीरा साइलिड नयाँ बिरूवामा बस्न नपाओस् भनेर जाली लगाइएको कडरियाले बताए। सिट्रस ग्रिनिङबाट सुन्तलालाई पूर्ण रूपमा मुक्त गर्न सबै बोट मासेर जलाउनुपर्छ। रोगी बोटका त जरा समेत जलाउनुपर्छ।

यति गरेपछि १ हजार १०० मिटर उचाइमा उत्पादित सुन्तलाका बेर्ना लगेर सार्नुपर्छ। अनि मात्र सुन्तला बगैंचालाई सिट्रस ग्रिनिङ रोगमुक्त बनाउन सकिने कडरियाले बताए।

यो गर्दा पनि छरछिमेकका सुन्तला वा नजिकै अमिलो प्रजातिका फलफूलमा सिट्रस ग्रिनिङ भए सर्ने खतरा रहन्छ। अन्य बगैंचा टाढा भएका केही किसानले यस्तो अभ्यास थालेको कडरियाले बताए।

‘पोहोर ५०० बोट सुन्तला नष्ट गरियो। केही किसानले सबै बोट नष्ट गरेर नयाँ रोप्न थालेका छन्,’ उनले भने, ‘यसरी नयाँ बिरूवा रोप्दा फल दिन ५ देखि ७ वर्ष लाग्छ।’

सिट्रस ग्रिनिङ पोखराबाटै नेपालभर फैलिएको विभिन्न अनुसन्धानहरूले देखाएका छन्।

नेपाल सरकारले पहिलो पटक सुन्तलाको प्रवर्द्धन गर्न सन् १९६० मा पोखरा र धनकुटामा बागबानी अनुसन्धान केन्द्र स्थापना गरेको थियो। केन्द्रमा त्यति बेला भारतको सहारानपुरबाट सुन्तलाका बिरूवा ल्याइएका थिए। तिनै बिरूवासँगै सिट्रस ग्रिनिङका ब्याक्टेरिया पनि नेपाल भित्रिएका थिए।

भारतका कृषि वैज्ञानिक एसपी घोषले सन् १९६७ तिर गरेको अभिलेखमा पोखराको बागबानी अनुसन्धान केन्द्रका सुन्तलाका बोटमा पहिलो पटक यो रोग रेकर्ड गरेका थिए। रोग पत्ता लागेको करिब ५० वर्षमा देशभरका सुन्तला संक्रमित भइसकेका छन्।

सिट्रस ग्रिनिङ लाग्ने ब्याक्टेरियाको उत्पत्ति २० औं शताब्दीमा चीनमा भएको अनुसन्धानहरूले देखाएका छन्। करिब १०० वर्षअघि चीनमा अमिलो प्रजातिका फलफूलमा ‘पहेँलो पालुवा आउने रोग’ का रूपमा पहिचान गरिएको थियो। यो रोग चीनको दक्षिणी क्षेत्रमा सन् १९१९ मै फैलिएको थियो।

orange1-1767981038.jpeg

विक्रम सम्वत् २०२५ मा गरिएको अनुसन्धानमा पहिलो पटक सुन्तलामा ह्रास आएको अभिलेख गरिएको थियो। त्यसपछि २०२७ सालमा यसरी सुन्तला उत्पादनमा ह्रास आउनुका कारण सिट्रस ग्रिनिङ भएको कृषि अनुसन्धानकर्ता नोर एट अलले निष्कर्ष निकालेको थियो।

नेपालमा सुन्तला सखाप पारिरहेको ब्याक्टेरिया चीनमा उत्पत्ति भएर भारत हुँदै नेपाल आइपुगे पनि सुन्तलाको उत्पत्ति भने नेपालबाटै भएको अनुमान छ। चीनको दक्षिणतर्फ र भारतको उत्तरतर्फका जंगलमा सुन्तला उत्पत्ति भएको कृषि वैज्ञानिकहरूको निष्कर्ष छ।

राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम, काठमाडौंका पूर्व प्रमुख राम साहले करिब ४ हजार वर्षअघि मानिसले जंगलबाट सुन्तलाका बिरूवा ल्याएर खेती गर्न थालेको अनुमान र मान्यता रहेको ‘नेपाली सुन्तलाको इतिहास, विज्ञान र प्रविधि’ पुस्तकमा उल्लेख गरेका छन्।

सन् १८९० मा ब्रिटिस इन्डियाको अमिलो प्रजातिका फलफूल वैज्ञानिक इमानुएल डब्लु बोनाभिया बुटवल आसपास पुग्दा सुन्तलाको जंगल देखेको पनि उल्लेख गरेका छन्।

जापानी वैज्ञानिक डा. ट्योजाबुरो तनाकाले सिट्रस जातका फलफूल खोजी क्रममा सन् १९२९ मा नेपाल आउँदा सुन्तला नेपालको रैथाने फल भएको पुष्टि गरेका छन्।

साहले करिब ९० वर्षअघि संखुवासभाको माङ्गतेवा जाँदा सुन्तलाको जंगल देखेको उल्लेख गरेका छन्। सुन्तला र मौसमको परागसेचनबाट जन्मिएको जुनार पनि नेपालमै उत्पत्ति भएको उनले उल्लेख गरेका छन्।

नेपालमा प्राचीनकालदेखि सुन्तला खेती हुँदै आए पनि व्यावसायिक रूपमा २०२७ सालबाट बगैंचा बनाउन थालिएको थियो। मध्यपहाडी भेगमा समुद्री सतहबाट ८ सय मिटरदेखि करिब १५०० मिटर उचाइसम्म फल्ने सुन्तला दार्चुला र संखुवासभाका किसानले जंगलबाट ल्याएर खेती थालेको अनुमान छ।

घरमै परम्परागत बोटका बिउ जमाएर व्यावसायिक सुन्तला रोपेका कृष्तीका पिताम्बर शर्माले सुन्तलाकै कारण आफू रोजगारीको खोजीमा भौंतारिनु नपरेको बताउँछन्।

सुन्तला बेचेरै उनले घर खर्च धाने, तीन छोराहरू पढाए। 

सरकारले २०८० चैत ३० गते सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्‍यो। तर सुन्तलाको समस्या समाधान गर्ने ठोस कार्यक्रम घोषणा गरेन। कृषकले सुन्तलाका रोगमुक्त बगैंचा स्थापना गर्ने विकल्प पाएनन्।

बगैंचामा रोग फैलिएपछि पिताम्बरले आफ्नै हिसाबले अनेक उपाय अपनाए। नयाँ बिरूवा रोपे। त्यसमा पनि रोग लागेर पुरानाभन्दा छिटो मर्न थाले। सय वर्ष बाँचेका सुन्तलाका बोट देखेका पिताम्बर नयाँ बिरूवाले फल दिनुअघि नै मरेको देख्न विवश भए।

‘नयाँ बिरूवामा झनै छिटो रोग लागेर मर्न थाल्यो,’ पहेँलो पात पल्टाउँदै पिताम्बरले भने, ‘हेर्दाहेर्दै सुन्तला मासिने भयो।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.