Suchana Vatika

धृतराष्ट्रबाट देउवाले सिक्नुपर्ने पाठ – नेपाली कांग्रेसमा महाभारत

महाभारतको युद्धले केवल हस्तिनापुर तहसनहस मात्र गरेन, उतिबेलाको द्वापर युगको पूरा दुनियाँ नै त्यसबाट प्रभावित भएको थियो। त्यसैले आन्तरिक द्वन्द्वलाई बेवास्ता वा अत्यधिक बढाउने प्रवृत्ति नेपाली कांग्रेसको लोकतान्त्रिक संरचनालाई कमजोर पार्छ।

लोकतन्त्रमा सत्ता ‘बुलेट’ होइन, ‘ब्यालेट’ बाट प्राप्त हुन्छ। यहाँ शक्ति बन्दुकको नालबाट होइन, मतदाताको मतबाट जन्मिन्छ। त्यसैले लोकतन्त्रमा हुने सत्ता संघर्ष हिंसात्मक युद्ध होइन, विचार, संगठन र जनसमर्थनको प्रतिस्पर्धा हो। चुनावी अभियानलाई पनि एक प्रकारको शान्त युद्ध मान्न सकिन्छ। नेताहरू मैदानमा उत्रिन्छन्, कार्यकर्ताहरू परिचालित हुन्छन्, रणनीति बनाइन्छ, प्रचार गरिन्छ, र जनताको मन जित्ने प्रयत्न गरिन्छ। युद्धजस्तै तयारी, परिश्रम र समर्पण चाहिने भएकाले यसलाई ‘राजनीतिक ब्याटल’ भन्न मिल्छ। यस्ता लोकतान्त्रिक ब्याटलहरू केवल बाहिर मात्र होइन, पार्टीभित्र पनि देखिन्छ।

नेतृत्व चयन, नीति निर्धारण, उम्मेदवार छनोट र सांगठनिक प्रभाव विस्तारका क्रममा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हुन्छ। यदि स्वस्थ तरिकाले सञ्चालन भयो भने पार्टीलाई जीवन्त बनाउँछ, तर अस्वस्थ भएमा पार्टी कमजोर पार्न सक्छ। त्यसैले लोकतान्त्रिक प्रतिस्पर्धालाई द्वन्द्व होइन, परिष्कृत प्रतिस्पर्धाका रूपमा बुझ्न आवश्यक छ। ब्यालेटमार्फत हुने संघर्ष सभ्य, शान्त र जनमुखी हुनुपर्छ। यही मार्गले लोकतन्त्रलाई सुदृढ बनाउन मद्दत गर्छ।

तर केही ब्याटल यस्ता हुन्छन् जसले पार्टीको अस्तित्व नै समाप्त पार्ने सम्भावना पनि उत्तिकै हुन्छ। यतिबेला महाभारतको प्रसंग नेपाली कांग्रेसको आन्तरिक ब्याटलमा उपयुक्त उदाहरण हो। महाभारतको युद्ध शक्ति वा अधिकारका लागि मात्र थिएन, अहंकार, दम्भ र स्वार्थका कारण भयो। जब विवेकभन्दा अहंकार बलियो बन्छ, विनाशको बाटो आफैँ खुल्छ।

आज नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक द्वन्द्व पनि यही संकेत गर्छ। विचारभन्दा पद, सिद्धान्तभन्दा समूह, अनुशासनभन्दा अहंकार प्रधान हुन थालेको अनुभूति हुन्छ। यसले पार्टीलाई बलियो बनाउने होइन, भित्रैबाट कमजोर बनाउने खतरा बोकेको छ। महाभारतमा बुद्धि मिचियो, यहाँ विधान मिचिँदैछ। धर्मको आवाज दबाइयो, पार्टीको नियम, मूल्य र प्रक्रिया दबाइँदैछन्। व्यक्तिको हैसियत संस्थाभन्दा ठूलो ठान्ने प्रवृत्तिले इतिहासले दिएको चेतावनीलाई बेवास्ता गर्दैछौं।

यसैले नेपाली कांग्रेसको नेतृत्वले समयमै संयम अपनाउनुपर्छ। अहंकार होइन संवाद, दम्भ होइन प्रक्रिया, शक्ति होइन संस्था, व्यक्ति होइन नियम प्रधान हुनुपर्छ। नेपाली कांग्रेसको संस्थापन खेमाको अग्रसरतामा भएको निर्णयले कुरु कौरव विवादको झल्को दिन्छ। १८ पुसमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतको नाममा गरिएको महाधिवेशन कार्यतालिका परिमार्जनको निर्णय महाभारतमा हस्तिनापुरको कुरु परिवारको कौरव पाण्डवको विवाद झैँ देखिन्छ।

महाभारतमा पाण्डवहरूले हस्तिनापुर मागेका थिएनन्, भगवान श्री कृष्ण मार्फत केवल केही पाँच गाउँ मागेका थिए । नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि सत्ता वा सभापति पद मागेका छैनन्, केवल विधानअनुसार महाधिवेशनको माग गरेका मात्र हुन्। नियमित विशेष जे भए पनि महाधिवेशन गरिदिन भनिरहेका छन्। तर न्यूनतम माग स्वीकार नगर्ने प्रवृत्तिले पार्टीभित्र असन्तुलन सिर्जना गरेको छ।

कांग्रेसभित्र संस्थापनले अझै पनि व्यक्तिगत स्वार्थ, अहंकार र कुण्ठालाई त्याग्न नसके त्यसको मूल्य केवल नेपाली कांग्रेसको विभाजन मात्र हुने छैन, त्यसले देशकै लोकतान्त्रिक प्रणाली र राष्ट्रिय अस्तित्वमाथि गम्भीर संकट खडा गर्नेछ।

महाधिवेशन माग्नु विद्रोह होइन, अनुशासन हो। विधान सम्झाउनु अपराध होइन, उत्तरदायित्व हो। तर यतिबेला महामन्त्रीद्वय आवाजलाई गुटबन्दीको आरोप लगाएर दबाउने प्रयास भइरहेको छ। पार्टी सभापति शेरबहादुर देउवा नेपथ्यमा बसेर धृतराष्ट्रको भूमिका निभाइरहेको झल्को दिन्छ। दुर्योधन र शकुनी एक दुई होइन, प्रशस्त छन्।

कर्ण झैँ कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि मित्रताको धर्म निर्वाह गर्ने नाममा देउवा दम्पत्तिका गतिविधिमा ‘ह मा ह’ मिलाइरहेका देखिन्छन्। महाभारतमा पाण्डवमाथि अन्याय भइरहेको अनुभव हुँदाहुँदै पनि पितामह भीष्म, गुरु द्रोणाचार्य, कृपाचार्य र विदुर दुर्योधनकै पक्षमा उभिएका थिए। अहिले सभापति शेरबहादुर देउवा ठ्याक्कै धृतराष्ट्रको जस्तो अभिनय गरिरहेका छन्। शान्त तर सबै चलाइरहेका छन्।

नेपाली कांग्रेसको आन्तरिक सत्तादेखि पार्टी राजकीय सत्तामा रहँदा नायवी शासन चलाइरहेकी देउवा पत्नीलाई पनि दुर्योधनसँग तुलना गर्न मिल्छ। दुर्योधनको जस्तै अहंकार, घमण्ड, दम्भ र महत्त्वाकांक्षा राख्ने उनकी पत्नी डा. आरजु राणा देउवाको रणनीतिमा संस्थापन इतर भनिने डाक्टर शेखर कोइराला सहितका नेताहरूले महाधिवेशन कार्यतालिका परिमार्जनमा साथ दिएको दृश्य देखिन्छ। पितामह भीष्म, गुरु द्रोणाचार्य, कृपाचार्य र विदुर को भूमिकासँग तुलना गर्नु अन्यथा हुँदैन ।

डाक्टर शेखर कोइराला सहित इतर पक्ष पनि मनले भावनाले विशेष भन्ने अनि कार्यसम्पादन समितिमा सभापतिको पक्षमा उभिने । मन पाँच पाण्डव ( युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव ) तिर छ भन्ने अनि युद्ध दुर्योधनको पक्षबाट लड्ने काम गर्ने पितामह भीष्म, गुरु द्रोणाचार्य, कृपाचार्य र विदुर को समूह जस्तो । अनि पूर्व पदाधिकारी सात भाइ कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत कुरु सभाका दुर्योधन समर्थकलाई सम्झाइरहेका छन्।

यसरी हेर्दा नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति केवल व्यक्तिहरूबीचको प्रतिस्पर्धा मात्र होइन। प्रक्रिया र प्रवृत्तिबीचको संघर्ष पनि झन् गहिरो हुँदै गएको छ। बहुमत, विधान, नेतृत्व र नैतिकताको अर्थ अनि व्याख्या फरक फरक दिशामा तानिँदा पार्टीभित्रको ‘लोकतान्त्रिक ब्याटल’ अझ जटिल बन्दै गएको देखिन्छ। कुरुक्षेत्रको युद्ध भएको हजारौं वर्ष बितिसक्दा पनि अहंकार र घमण्डको प्रसंग आउँदा अहिले पनि महाभारतको स्मरण हुने गर्छ। त्यस युद्धले मात्र व्यक्तिहरूको भाग्य होइन, राज्य र समाजको भविष्यलाई पनि छाप छोडेको थियो। यदि कौरव पक्षले पाण्डवको न्यूनतम माग स्वीकार गरेको भए, आज हामीले महाभारतको कथा फरक तरिकाले पढ्ने थियौँ।

अहिले पढिरहेको कथाको स्वरूप शायद त्यस्तो हुने थिएन। नेपाली कांग्रेसमा देखिएको आन्तरिक द्वन्द्वलाई हेर्दा त्यही पुरानो संघर्षको झल्को पाइन्छ। अहंकार र व्यक्तिगत महत्त्वाकांक्षाले पार्टीभित्रको संवाद र प्रक्रिया दबाउन थालेको देखिन्छ। तर अहिलेसम्म युद्ध सुरू भएको छैन र शान्तिपूर्वक समाधान गर्ने सम्भावना अझै बाँकी छ।

प्रक्रिया र विधानलाई नकारात्मक रूपमा प्रयोग गर्दा पार्टीभित्रको विश्वास र अनुशासनमा असर पर्न सक्छ।

महाभारतको युद्धले केवल हस्तिनापुर तहसनहस मात्र गरेन, उतिबेलाको द्वापर युगको पूरा दुनियाँ नै त्यसबाट प्रभावित भएको थियो। त्यसैले आन्तरिक द्वन्द्वलाई बेवास्ता वा अत्यधिक बढाउने प्रवृत्ति नेपाली कांग्रेसको लोकतान्त्रिक संरचनालाई कमजोर पार्छ।

प्रक्रिया र विधानलाई नकारात्मक रूपमा प्रयोग गर्दा पार्टीभित्रको विश्वास र अनुशासनमा असर पर्न सक्छ।

यस दृष्टिले हेर्दा, नेपाली कांग्रेसमा अहिले सुरु भएको महाभारतले केवल पार्टीको भविष्यमा मात्र असर गर्नु हुँदैन, देशको संघीय लोकतान्त्रिक गणतन्त्र, स्वाधीनता, अखण्डता र सम्प्रभुता माथी पनि जोखिम सिर्जना गर्न सक्छ। पार्टीभित्रको रणनीति, संवाद र समझदारीको महत्त्व अझ प्रष्ट देखिन्छ। पार्टीभित्र बहुमतको नाममा अल्पमतमाथि दादागिरी गर्नु भनेको लोकतान्त्रिक मूल्य र संस्कारको धज्जी उडाउनु हो। राजनीतिक दलहरूमा बहुमत र अल्पमत दुवैको सम्मान हुनु अनिवार्य छ।

तर, पछिल्ला गतिविधिहरूले देखाइरहेको छ कि केही नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थ र प्रभाव जमाउने उद्देश्यले अल्पमतमाथि दबाब र दादागिरी गर्दै आएका छन्। यसले पार्टीभित्रको संवाद र सहमतिलाई कमजोर बनाउँछ। अल्पमतमाथि दादागिरी गर्दा केवल व्यक्तिगत लाभको प्रयास मात्र देखिँदैन, बरु यसले संगठनभित्रको विश्वास र भाइचारालाई पनि कमज़ोर बनाउँछ। जब पार्टीभित्र असहमति र विरोधलाई दबाइन्छ, त्यहाँ उत्पन्न हुने असन्तुष्टिले दीर्घकालीन रूपमा पार्टीको छवि र कार्यसम्पादनमा असर पार्छ।

लोकतान्त्रिक दलभित्र बहुमत अल्पमतको सन्तुलन राख्न सक्नु भनेको राजनीतिक समझदारी र नेतृत्वको परिपक्वता हो। केही नेताहरूले आफ्नो प्रभाव जमाउने प्रयासमा व्यक्तिगत कुण्ठा र स्वार्थलाई पार्टीको हितभन्दा माथि राख्ने प्रवृत्ति देखाएका छन्। यसले आन्तरिक संघर्ष बढाउदैन, पार्टीका निर्णयहरूमा जनताको विश्वास पनि कम गराउँछ। पार्टीभित्रको यस्तो वातावरणले नयाँ नेतृत्व र सृजनात्मक विचारहरूको विकासमा बाधा पुर्‍याउँछ। जसले पार्टीलाई गतिशील र अग्रगामी बनाउने क्षमता घटाउँछ। पार्टीको एकता जोगाउनको लागि बहुमतले मात्र होइन, अल्पमतले पनि भूमिका खेल्नुपर्छ। संवाद, समझदारी, र सहकार्यमार्फत मतभेद्लाई समाधान गर्नु नै सुदृढ नेतृत्वको संकेत हो। यदि सबै पक्षहरूले आफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठा त्यागेर साझा उद्देश्यमा केन्द्रित हुन सक्दैनन् भने पार्टीको राजनीतिक साख र संस्थागत मजबुतीमा संकट आउन सक्छ ।

अब जुटाउने कि फुटाउने सबै जिम्मेवारी सभापति शेरबहादुर देउवाको काँधमा छ। पत्नीको कुरा सुन्ने कि पार्टी पंतिको सभापति ज्युको जिम्मामा छ। पाँच पटक प्रधानमन्त्री भइसकेका, लोकतन्त्रका लागि लडेका देउवाले पार्टीको हित बुझेर निर्णय गर्नु जरुरी छ। पत्नीको कुरा सुन्दा पार्टी ओली पथमा देखिएको पार्टी राप्रपा बन्ने बाटोमा अग्रसर हुनेछ। पार्टी पंक्तिको कुरा सुनेमा कांग्रेस मात्र होइन देश जोगिने छ।

महामन्त्रीद्वयले उठाइरहेको विषय लोकतान्त्रिक गणतन्त्र अनि मुलुक जोगाउने हो।

त्यसैले पार्टीभित्रको महाभारत यदि नियन्त्रण बाहिर गयो भने, देश नै हस्तिनापुर बन्ने अवस्था सिर्जना गर्न सक्छ। पाँच पाण्डवले कुरुक्षेत्रमा धर्म, न्याय र कर्तव्यको मार्गमा अडिग रहेझैं महामन्त्री द्धयले पनि पार्टीभित्र विधान र प्रक्रिया पालन गर्ने कर्तव्य निर्वाह गरिरहेका छन्। उनीहरूको उद्देश्य सत्ता कब्जा गर्नु होइन तर पार्टीको नियम, लोकतान्त्रिक संरचना र विश्वासको रक्षा गर्नु हो। यसले देखाउँछ कि राजनीतिक ब्याटल केवल व्यक्तिगत स्वार्थ वा अहंकारको युद्ध होइन, संस्था र प्रक्रिया बलियो राख्ने चुनौती पनि हो।

नेपाली कांग्रेसको विवादमा विशेष महाधिवेशन पक्षधरको आवाजलाई व्यक्तिगत महत्त्वाकांक्षा पछि राखेर संवाद, प्रक्रिया लाइ प्राथमिकता दिइयो भने आन्तरिक द्वन्द्वले नकारात्मक असर मात्र होइन, सुधार र बलियो नेतृत्वको अवसर पनि ल्याउने सम्भावना उत्तिकै हुन्छ। गगन-विश्वप्रकाशको भूमिका यसमा उदाहरणीय छ। उनीहरूले प्रक्रिया र विधानको रक्षा गर्दै पार्टीभित्रको असन्तुलन नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन।

तर सभापति अहिलेसम्मसम्म पनि कौरवको पथमा छन। धृतराष्ट्र बन्ने लाइनमा छन्। नेपाली कांग्रेसमा आन्तरिक सत्ता संघर्ष केवल व्यक्तिहरूबीचको प्रतिस्पर्धा होइन। संवाद, विवेक, नियम, प्रक्रिया र साझा उद्देश्यको आधारमा यसलाई समाधान गर्न सके मात्र पार्टीको लोकतान्त्रिक संरचना सुदृढ रहन्छ।

सभापति शेरबहादुर देउवाले अहंकार होइन प्रक्रिया, शक्ति होइन नियम, व्यक्तिगत स्वार्थ होइन साझा उद्देश्यलाई प्राथमिकतामा राखेर आगामी कदम चाल्न जरुरी छ। संस्थापन पक्ष र कार्यवाहक दिएर रिमोट कन्ट्रोल आफैंसँग राखेका सभापति देउवाले ओली पथमा नलागेर कांग्रेसको लोकतान्त्रिक चरित्र जोगाउनु पर्छ।

नेपाली कांग्रेसभित्र संस्थापनले अझै पनि व्यक्तिगत स्वार्थ, अहंकार र कुण्ठालाई त्याग्न नसके त्यसको मूल्य केवल नेपाली कांग्रेसको विभाजन मात्र हुने छैन, त्यसले देशकै लोकतान्त्रिक प्रणाली र राष्ट्रिय अस्तित्वमाथि गम्भीर संकट खडा गर्नेछ। इतिहासले पटकपटक देखाइसकेको छ। जब नेतृत्व आत्मकेन्द्रित हुन्छ, तब दल कमजोर हुन्छ, संस्था भत्किन्छ र देश अस्थिर बन्छ।

त्यसैले सभापति देउवाले आफ्ना राजनीतिक गुरु, सन्त नेता तथा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले २०५१ सालमा ७२ र ३६ को विवादका बेला नेपाली कांग्रेसलाई जसरी विवेक, त्याग र दूरदर्शिताबाट विभाजनबाट जोगाए, त्यही राजनीतिक साहस र त्याग आज पनि देखाउनुपर्छ। होइन भने नेतृत्वको असफलता इतिहासमा माफ हुँदैन, र त्यसको जिम्मेवारी पुस्तौँसम्मले बोक्नुपर्ने हुन्छ। जसको मूल्य देशले अस्थिरता, अविश्वास र अवनतिको रूपमा तिर्नुपर्ने छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.