Suchana Vatika

एक वर्ष राजधानीमै ७०० मिटर सडक विस्तार गर्न

महाराजगन्ज–चप्पल कारखाना सडकमा चिसोका कारण रोकियो कालोपत्र

सारांश

  • महाराजगन्ज-चप्पल कारखाना सडकखण्ड विस्तारको काम समयमै नहुँदा यात्रु र स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्।
  • सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक जटिलता, मौसम र खानेपानीका पाइपलाइनमा आएको समस्या हो।
  • सडक डिभिजनले फागुन १५ सम्म म्याद थप गरी फागुनको पहिलो साताभित्रै कालोपत्रे गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । राजधानीको व्यस्त सडक चक्रपथको महाराजगन्ज–चप्पल कारखानासम्मको सडक खण्ड लामो समयदेखि ‘धुलाम्य र हिलाम्य’ अवस्थामा छ । गत फागुनमा सडक विस्तार थालिएको यो खण्ड समयमै नबन्दा दैनिक हजारौँ यात्रु र स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । धुलो, खाल्डाखुल्डी र ट्राफिक जामले आजित बनेका सर्वसाधारणले समयमै नबनेको भन्दै आक्रोश पोख्न थालेका छन् ।

सडक डिभिजन काठमाडौँका प्रमुख सुवोधकुमार देवकोटाका अनुसार यो सडक विस्तारको काम अहिले रोकिएको छ । सम्झौताअनुसार विस्तारको म्याद सकिएकाले म्याद थप्ने तयारी भइरहेको छ । उनले फागुनसम्मका लागि म्याद थप्ने जानकारी दिए । 

देवकोटाले भने, ‘अहिले चिसोका कारण काम रोकेका छौँ । सडक विस्तारको म्याद सकिएको छ, म्याद फागुन १५ गतेसम्म थप गर्ने प्रक्रियामा छौँ । यो सडकमा फागुनको पहिलो साताभित्रै कालोपत्र सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ 

किन भयो ढिलाइ ?
सडक विस्तारमा भएको ढिलाइबारे डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख देवकोटाले जमिनमा देखिएको प्राविधिक जटिलता र मौसमलाई मुख्य कारण देखाएका छन् । प्रमुख देवकोटाका अनुसार सडक खन्ने क्रममा वर्षौं पुराना खानेपानीका पाइपलाइनहरू (डिस्ट्रिब्युसन र हाउसहोल्ड कनेक्सन) छताछुल्ल भएका थियो ।

‘पुराना पाइपहरूबाट भएको अत्यधिक चुहावटले सडकको तल्लो भागमा पानी जमेर दलदल अवस्था सिर्जना भयो,’ देवकोटाले भने, ‘त्यस्तो माटोमा सिधै कालोपत्रे गर्न मिल्दैन । त्यसको ट्रिटमेन्ट र बेस कोर्स तयार गर्न समय लाग्यो ।’ साथै जेनजी आन्दोलनको प्रभाव र असोज महिनामा परेको भारी वर्षाले पनि कामको गतिलाई पछाडि धकेलेको उनको भनाइ छ ।

उनकाअनुसार अहिले सडकको बेस तयार भइसकेको छ । बेस तयार भए पनि अत्यधिक चिसोका कारण कालोपत्रे गर्ने काम रोकिएको छ । प्राविधिक दृष्टिकोणले गुणस्तरीय कालोपत्र गर्न कम्तीमा १४ देखि १५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ, तर हाल उक्त क्षेत्रमा तापक्रम २ डिग्रीसम्म झरेकाले तत्कालै कालोपत्र गर्दा सडक नटिक्ने जोखिम हुन्छ ।

डिभिजन प्रमुख देवकोटाले भने, ‘अहिले हामीले बेस कोर्सको काम सकेर रोकिएका छौँ । बरु अन्य सडकमा ट्राफिक व्यवस्थापनका लागि रोड मार्किङ र ट्राफिक चिह्न राख्ने काम गरिरहेका छौँ ।’

यस्तै यो खण्डमा तीनवटा स्पानसहितको एउटा कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । अब फागुनसम्ममा यो सडक विस्तारको काम सकिने अपेक्षा छ ।

यसअघि चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी चीन सरकारको अनुदान सहयोगमा विस्तार भइसकेको छ । दोस्रो खण्ड पनि चीनको अनुदान सहयोमा विस्तारका लागि डिजाइन र डीपीआर तयार भइसकेको छ, तर सरकारको प्रक्रियागत ढिलाइले निर्माण सुरु हुन सकेको छैन । 

चक्रपथ सडक तेस्रो खण्ड (महाराजगन्ज–कोटेश्वर) अन्तर्गत महाराजगन्ज–चपलकारखाना करिब ७०० मिटर सडक ११ महिना अघिदेखि विस्तारका क्रममा छ । २०८१ फागुनमा डिभिजन सडक काठमाडौँले एम/एस अम्बुजा/काली एसकेजेभीसँग २०८२ असार भित्र सक्ने गरी सम्झौता गरेको थियो । उक्त म्यादमा विस्तार कार्य करिब ३५ प्रतिशतमात्रै थियो । यसपछि २०८२ असोजसम्मका लागि म्याद थप गरियो । तर हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

यसअघि चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी चीन सरकारको अनुदान सहयोगमा विस्तार भइसकेको छ । दोस्रो खण्ड पनि चीनको अनुदान सहयोमा विस्तारका लागि डिजाइन र डीपीआर तयार भइसकेको छ, तर सरकारको प्रक्रियागत ढिलाइले निर्माण सुरु हुन सकेको छैन । 

तेस्रो खण्ड महाराजगन्ज–कोटेश्वर भने नेपाल सरकारले आफ्नै लगानीमा विस्तार थालेको छ । यो खण्ड पुरै साइड क्लियर नभएकाले साइड क्लियर भएको खण्डबाट विस्तार अघि बढाएको छ । साथै यो खण्ड चीन सरकारबाट कोटेश्वर–कलंकी सडक जसरी विस्तार गरिएको छ, त्यही स्ट्यान्डर्डमा यो खण्ड विस्तार भइरहेको जनाएको छ । जहाँ १० लेन (सर्भिस लेन सहित) मा विस्तार गरिँदै छ । 

धोबीखोलासम्म विस्तार गर्न ५१ करोडको प्रस्ताव

यस्तै चक्रपथ तेस्रो खण्डअन्तर्गत अर्को खण्ड विस्तारका लागि सडक डिभिजन काडमाडौँले नयाँ योजना अघि सारेको छ । चप्पल कारखानादेखि धोबीखोलासम्म करिब ९०० मिटर सडकखण्ड विस्तारका लागि ५१ करोड रुपैयाँ बराबरको बजेट सहमतिका लागि राष्ट्रिय योजना आयोगमा पठाइएको डिभिजन प्रमुख देवकोटाले बताए ।

‘यो खण्डलाई ‘बहुवर्षीय ठेक्का’ प्रणालीमार्फत हामीले राष्ट्रिय योजना आयोगमा बजेट माग गरेका छौँ,’ देवकोटाले भने, ‘आगामी आर्थिक वर्ष २०८३/८४ मा यो सडक खण्ड विस्तारका लागि बजेट विनियोजन हुने अपेक्षा छ ।’

यसअन्तर्गत चप्पल कारखाना अगाडिको कल्भर्ट दोस्रो चरणमा निर्माण हुनेछ भने धोबीखोला पुलभन्दा करिब १०० देखि १५० मिटर वरसम्मको सडक विस्तार गरिने जनाइएको छ । एकैचोटि पुलसम्म जोड्दा समस्या हुने भएकाले पुलको नजिकसम्म सडक विस्तार गर्ने गरी डिजाइन गरिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.