Suchana Vatika

लक्ष्मी निरन्तरता खोज्दै, बिरासत फर्काउने दाउमा गिरिराज महोत्तरी-१ मा

यी दुवै प्रतिस्पर्धीलाई यसपटक नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिने भएका छन् । यस क्षेत्रमा कांग्रेसले नयाँ अनुहारलाई अघि सारेको छ । वामपन्थीको किल्ला भत्काउन कांग्रेसले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई चुनावी मैदानमा उतारेको छ ।

८ माघ, महोत्तरी । वामपन्थीको किल्ला भनेर चिनिने महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । यहाँ एमाले–नेपाली कम्युनिस्ट पार्टीबीच जितको निरन्तरता र विरासत फर्काउने रस्साकस्सी छ । उनीहरुको पकडबाट मुक्त पार्ने दाउमा नेपाली कांग्रेस, जसपा, रास्वपा लगायतका दलहरु छन् ।

२०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रको किल्ला भत्काएर प्रतिनिधिसभा सदस्य जितेका नेकपा एमालेका लक्ष्मी महतो कोइरी आफ्नो कार्यकालको निरन्तरता खोज्दै चुनावी प्रतिस्पर्धामा छन् । अर्कोतिर लामो समयदेखि यस क्षेत्रमा प्रभाव जमाउँदै आएका नेपाली कम्युनिष्ट पार्टीका नेता (तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव) गिरिराजमणि पोखरेल गुमेको आफ्नो राजनीतिक विरासत पुन: फर्काउने लक्ष्यमा छन् ।

पटक–पटक मन्त्री बनेका पोखरेल लगातार २०६४, २०७० र २०७४ का तीनवटा चुनाव जितेका थिए । २०७९ को निर्वाचनमा पोखरेल नेकपा एमालेका कोइरीसँग पराजित भए । कोइरीले २३ हजार ४ सय २ मत ल्याउँदा पोखरेलले २२ हजार ३ सय ७२ मत मात्रै ल्याए । २०७४को निर्वाचनमा यिनै कोइरीलाई हराएर पोखरेल निर्वाचित भएका थिए । त्यसबेला कोइरी तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए ।

त्यसअघि २०७० मा देशभर माओवादीले लज्जास्पद हार बेहोरेको बेला पोखरेलले महोत्तरीमा जित निकालेका थिए । अर्थात्, पोखरेलको महोत्तरीमा बलियो पकड रहेको पुष्टि गर्थ्यो । तर, २०७९ को निर्वाचनमा कांग्रेस र लोसपालगायत तत्कालीन पाँच दलीय गठबन्धनबाट चुनाव लडेका पोखरेलले पराजय भोग्नुपर्‍यो । त्यसको बदला लिँदै यस चुनावमा आफ्नो राजनीतिक विरासत पुन: फर्काउने दाउमा पोखरेल लागेका छन् ।

अघिल्लो पटक जनता समाजवादी पार्टी नेपालको साथ पाएर चुनाव जितेका एमालेका कोइरीसँग प्रतिस्पर्धा गर्न यसपटक जसपाले आफ्नै उम्मेदवार उठाएको छ । जसपाले योगनारायण महतोलाई उम्मेदवार बनाएको छ । तर, यसले आफ्नो चुनावी परिणाममा खासै फरक नपार्ने कोइरीको दावी छ । ‘यहाँ कुनै पार्टीभन्दा पनि जनता सर्वोपरी हुन् । ममाथि जनताको विश्वास छ । अहिले एमालेको आवश्यकता छ,’ कोइरी भन्छन् ।

महोत्तरी क्षेत्र नं १ मा १४ जना स्वतन्त्रसहित २७ जना उम्मेदवार छन् । एक लाख ५ हजार ६४६ मतदाताले कसलाई जनप्रतिनिधि रोज्छन् भन्ने थाहा पाउन फागुन २१ नै कुर्नुपर्ने हुन्छ

कृषिको पकेट क्षेत्र मानिने यस क्षेत्रमा सिंचाइका लागि भएका कामलाई कोइरीले मुख्य उपलब्धिका रुपमा प्रचार गरिरहेका छन् । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक पूर्वाधारका योजनामा संघीय बजेट भित्राउन आफूले भूमिका खेलेको उनको दाबी छ । ‘अघिल्लो निर्वाचनमा यहाँका जनताले मलाई पाँच वर्षका लागि जिताएर पठाएको थियो । अहिले विशेष परिस्थितीमा बीचमै चुनाव भइरहेको छ । त्यस चुनावमा नागरिकले दिएको विश्वासलाई मैले कामबाट प्रमाणित गर्ने प्रयास गरेँ,’ कोइरी भन्छन्, ‘अझै अधुरा काम पूरा गर्न मेरो निरन्तरता आवश्यक छ ।’

उता, नेपाली कम्युनिष्ट पार्टीबाट मनोनयन दर्ता गरेका गिरिराजमणि पोखरेल भने यो निर्वाचनलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोडका रुपमा लिएका छन् । यसअघि लामो समय संसदीय राजनीतिमा सक्रिय रहेका उनी आफ्नो प्रभावशाली पकड पुन: स्थापित गर्ने रणनीतिमा छन् । ‘यो क्षेत्रसँग मेरो राजनीतिक, सामाजिक र भावनात्मक सम्बन्ध छ,’ पोखरेलले भने, ‘जनताको अधिकार, पहिचान र संविधानको मजबुत कार्यान्वयनका लागि फेरि संसदमा पुग्न चाहन्छु ।’

महोत्तरीसहित सिंगो मधेशलाई शिक्षाको महत्वपूर्ण केन्द्रविन्दु बनाउने आफ्नो अधुरो सपनालाई पूरा गर्न पनि जनताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त रहेको पोखरेल बताउँछन् । आफ्नो कार्यकालमा गौशाला इन्जिनियरिङ कलेज, बर्दिबास मेडिकल कलेज, किसाननगरको कृषि कलेज, खयरमाराको निर्मल लामा बहुप्राविधिक शिक्षालय, बर्दिबासमा होटल म्यानेजमेन्टको नाथम कलेजलगायतका शिक्षा, स्वास्थ्य, आयुर्वेदका कामहरुलाई महत्वपूर्ण उपलब्धिको रुपमा प्रस्तुत गर्दै पोखरेलले यस्ता थुप्रै कामहरुलाई अझ सशक्त ढंगले अगाडि बढाउनुपर्ने जिम्मेवारीका साथ अघि बढेको पोखरेलको तर्क छ ।

यी दुवै प्रतिस्पर्धीलाई यसपटक नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिने भएका छन् । यस क्षेत्रमा कांग्रेसले नयाँ अनुहारलाई अघि सारेको छ । वामपन्थीको किल्ला भत्काउन कांग्रेसले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई चुनावी मैदानमा उतारेको छ ।

२०७९ को चुनावमा नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई सघाएको थियो । त्यसबेला गठबन्धनबाट असन्तुष्ट बनेका नेपाली कांग्रेसका पोषण थापा बागी उम्मेदवार बनेका थिए ।

पुराना दललाई बाइपास गर्ने अठोटसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार महतो चुनावी मैदानमा छन् । उनले बालेन शाहलाई प्रधानमन्त्री बनाउने आफ्नो मुख्य एजेण्डा बनाएका छन् । बालेनको ‘क्रेज’ आफ्नो जितको मुख्य आधार रहेको महतोको दावी छ । तथापि रास्वपाका आकांक्षी टेकप्रसाद पोखरेल(विजय) बागी बनेर उनलाई चुनौती दिएका छन् ।

महोत्तरी क्षेत्र नं १ मा १४ जना स्वतन्त्रसहित २७ जना उम्मेदवार छन् । एक लाख ५ हजार ६४६ मतदाताले कसलाई जनप्रतिनिधि रोज्छन् भन्ने थाहा पाउन फागुन २१ नै कुर्नुपर्ने हुन्छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.