सारांश
- भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बद्री न्यौपानेको मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।
- भृकुटीमण्डपस्थित फन पार्क भ्रष्टाचार मुद्दामा विशेष अदालतले न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको थियो।
- अख्तियारले दायर गरेको मुद्दामा न्यौपानेलाई ९ वर्ष कैद र जरिबाना तथा बिगो असुल हुने फैसला भएको थियो।
काठमाडौँ । भृकुटीमण्डपस्थित फन पार्क भ्रष्ट्राचार मुद्दामा पूर्वमन्त्री बद्री न्यौपानेले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी चढेर पनि ‘हेर्न नभ्याइनेमा’ परेको हो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्वमन्त्री न्यौपानेसहित ९ जनालाई भृकुटीमण्डपस्थित फन पार्क भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । विशेषको फैसला उपर पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिबाना, सोही रकम बराबरको बिगो असुल हुने फैसला गरेको थियो ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सञ्चालनका लागि सस्तो दरमा भाडामा दिएर भ्रष्टाचार गरेको आयोगको दाबी थियो ।
न्यौपानेसँगै कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरीसहित १४ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।