Suchana Vatika

कांग्रेस शीर्षमा,राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो

काठमाडाैँ । आइतबार १८ पदका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्न पुगेको छ । 
निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको छ । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित हुँदा राष्ट्रिय सभामा कांग्रेसको सिट बढेर २५ पुगेको छ । राष्ट्रिय सभामा २५ सांसदसहित कांग्रेसले पहिलो ठुलो दलको हैसियत बनाएको हो ।

यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए । निर्वाचनबाट ९ सांसद थपिएपछि उसको सिटसंख्या बढ्न पुगेको हो । यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएकाे छ । 
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल भएको थियो । यही तालमेल अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका हुन् ।

यस निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठुलो दलबाट झरेर दोस्रो ठुलो दलमा खुम्चेको छ । 
राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो ठुलो दलको हैसियत नेपाली कम्युनिस्ट पार्टीले बनाउँदा नेकपा एमाले भने पूर्ववत ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ ।

यसअघि पनि ११ सांसद रहेको एमाले ८ सांसद बाहिरिने र आइतबारको निर्वाचनमा ८ जना नै थपिएपछि राष्ट्रिय सभामा एमालेका सांसद ११ कायमै हुने भएका हुन् ।

त्यसबाहेक जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद राष्ट्रिय सभामा कायम भएका छन् । यद्यपि निर्वाचनपछि राष्ट्रिय सभामा बदलिएको समीकरण र फेरिएको हैसियतले आगामी फागुन २० पछि मात्र औपचारिकता पाउनेछ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.