Suchana Vatika

तीन जना पक्राउ – भदौ २४ गते नख्खु जेलबाट भागेका कैदीले गरेका थिए बालेन शाहको घरमा चोरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको घरमा चोरी गरेको भन्दै तीन जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-४ चप्पल कारखानास्थित शाहको डेरामा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

पक्राउ पर्नेमा बालाजु हाइट बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकका ४६ वर्षीय खिमबहादुर खड्का र डोटीका ४५ वर्षीय सञ्जय श्रेष्ठ छन्।

उनीहरूलाई शुक्रबार र शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका मनिष राजवाहकले बालेन शाहको घरमा चोरी गरेको स्वीकार गरेका छन्।

उनी चोरी मुद्दामा २०७९ मंसिर १८ गते पक्राउ परी ३ वर्ष ६ महिना कैद भुक्तान गरिरहेका थिए। भदौ २४ गते जेनजी आन्दोलन क्रममा नख्खु कारागारबाट भागेका थिए। त्यहाँबाट भागेपछि ५ वटा स्थानमा उनले चोरी गरिसकेका छन्।

उनी यो चोरीका मुख्य व्यक्ति समेत भएको प्रहरीले जनाएको छ।

‘उनी कारागारबाट भागेका व्यक्ति हुन्। लामो समयदेखि चोरी गर्दै आएका थिए। बालेन शाहको घरबाट केही ल्यापटप चोरी भएका थिए। ती सामान पनि उनीबाट बरामद गरेका छौं,’ एसएसपी थापाले भने।

उनी पछिल्लो समय खिमबहादुरको बालुवा डिपोमा गर्थे। उनीविरूद्ध प्रहरी वृत्त कालिमाटीमा र महाराजगन्जमा चोरी मुद्दा छन्।

उनले निर्माणाधीन घरबाट धारा, टुटी, चाँदीका गिलास, कचौरा, दियो, चाँदीका प्लेट लगायत चोरी गरेका छन्।

उनी चोरी गरी काठमाडौंको एक होटलमा बसेका थिए। त्यहाँबाट एउटा राउटर र दुईवटा सिसिटिभी क्यामरा पनि बरामद भएको छ।

त्यसैगरी पक्राउ परेका खिमबहादुर बालुवा डिपो सञ्चालक हुन्। उनले मनिषबाट चोरीका सामन लिएर बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूबीच पछिल्लो ७/८ वर्षदेखि चिनजान थियो।

उनको घरबाट सुनको जस्तो देखिने नक्कली धातुका लक्ष्मीको मूर्ति भएको झुम्का एक जोर, टाउकोमा लगाउने चन्द्रमा एउटा, चन्द्रमा सहितको झुम्का एक जोर, नीलो पत्थर भएको झुम्का एक जोर, गुलाबी र हरियो रंगको पत्थर भएको झुम्का एक जोर, एउटा सिक्री, धानको बाला जस्तो लप्सेरा दुईवटा, हरियो रंग लगाएको झुम्का एक जोर, घाटीमा लगाउने पत्थर माला (चुँडेको) एउटा, सानो तार जस्तो देखिने टुक्रा चार वटा बरामद गरेको छ।

सञ्जय श्रेष्ठ पनि पहिले कारागार बसिसकेका व्यक्ति हुन्।

उनको मनिषसँग रामेछाप कारागारमा हुँदा चिनजान भएको थियो। उनले मनिषबाट दुई वटा ल्यापटपबापत ८ हजार रूपैयाँ लिएका थिए।

उनको धादिङ स्थित घरबाट ल्यापटप, म्याकबुक लगायत बरामद भएका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.