Suchana Vatika

भारी गिरावट अण्डाको मुल्यमा, कारोबार कतिमा हुँदैछ ?

चितवन । नेपाली बजारमा अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नुका साथै यही समयमा भारतबाट ठूलो परिमाणमा अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको हो। भारतीय अण्डाको आयातका कारण स्वदेशी अण्डाले बजार र उचित मूल्य पाउन नसकेको उनले बताए।

नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा (३० वटाको) प्रतिक्रेट ३७५ रुपैयाँ र मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ रुपैयाँ र मिडियम ४०५ रुपैयाँ थियो। त्यसभन्दा अघि माघ ११ गते ठूलो अण्डा ४९५ रुपैयाँ र मिडियम ४७५ रुपैयाँसम्म पुगेको थियो।

गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस समयमा फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।

सङ्घका अनुसार अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यस आधारमा प्रतिक्रेट लागत मूल्य ५७४ रुपैयाँ ६ पैसा हुन्छ। लागत मूल्यभन्दा निकै तल झरेर बजार मूल्य घटेपछि किसानहरू गम्भीर रूपमा निरास बनेका छन्।

अध्यक्ष पोखरेलले भारतीय सेतो अण्डाको आयात तत्काल नियन्त्रण गर्न सङ्घले सम्बन्धित सरकारी निकायसँग निरन्तर माग गर्दै आएको जानकारी दिए।

नेपाल लेयर्स कुखुरापालक सङ्घले देशभरका फर्महरूबाट मूल्य संकलन गरी चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.