उनीहरूले फेसनलाई व्यक्तिगत अभिव्यक्ति, सामाजिक विद्रोह र वातावरण संरक्षणको माध्यम बनाएका छन् ।
Summary
- जेनजी पुस्ताले सस्तो, सहज र व्यक्तिगत पहिचान झल्काउने फेसन रोज्छन्, जसमा युनिसेक्स र सस्टेनेबल ट्रेन्ड प्रमुख छन्।
- जेनजीहरूले डार्क कलरहरू मन पराउँछन् जसले उनीहरूको भावनात्मक गहिराइ, विद्रोह र मनोवैज्ञानिक अवस्थालाई प्रतिबिम्बित गर्छ।
अघिल्लो पुस्ता अर्थात् मिलेनियल्सको भन्दा जेनजी पुस्ताको फेसन निकै फरक छ । यिनीहरू अघिल्लो पुस्ताले जस्तो पहिरनमा खर्चिलो हुँदैनन् । सकेसम्म सस्तो र सहज पहिरन रोज्ने गर्छन् ।
भनौं, सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्ता हो यो । यिनीहरू पुरानो पुस्ताभन्दा धेरै व्यवहारिक र उन्नत सोच भएका छन् । यो पुस्ताले परम्परागत मान्यताहरूलाई पछाडि छाडेर नयाँ कुरा अपनाउन हिचकिचाउँदैन । फेसनको क्षेत्रमा पनि उनीहरूले प्राचीन र आधुनिकलाई जोडेर नयाँ प्रयोग गरिरहेका छन् ।
वातावरणप्रति सचेत भएकाले यो प्रभाव उनीहरूको फेसन ट्रेन्डमा स्पष्ट देखिन्छ । जेनजीको फेसनमा विविधता, स्वतन्त्रता र प्रयोगवाद प्रमुख विशेषता हुन् । उनीहरू ‘ट्रेन्ड के छ’ भन्दा पनि ‘म को हुँ’ भन्ने प्रश्नबाट फेसन छनोट गर्छन् ।
जेनजीको फेसन दृष्टिकोण : व्यक्तिगत पहिचान र सहजता
जेनजीका लागि फेसन भनेको ब्रान्डेड कपडा वा एकदम राम्रो देखिनु मात्र होइन, बरू आफूलाई सहज महसुस हुने र व्यक्तिगत पहिचान झल्काउने माध्यम हो ।
गौरव पोखरेल काठमाडौं बाँसबारीस्थित विश्व शान्ति चिरण मिलन क्याम्पसमा स्नातक दोस्रो वर्ष पढ्दैछन् । उनलाई नेपालीपन झल्कने कपडा लगाउन मनपर्छ । ‘फेसन भनेपछि एकदम राम्रो देखिनुपर्ने, ब्रान्डेड कपडा लगाउनुपर्ने कुरा मलाई मन पर्दैन’ गौरव भन्छन्, ‘मेरा लागि आफूलाई जे लगाउँदा सहज महसुस हुन्छ, त्यो नै फेसन हो।’
न्यू मिलेनियम कलेज, सुकेधारामा कक्षा १२ मा पढ्दै गरेकी मेलिना थापालाई ओभरसाइज्ड, कस्टम टी–सर्ट, ब्यागी प्यान्ट, कस्टम हुडी र चंकी स्निकर्स मनपर्छ । उनलाई युनिसेक्स फेसनले विशेष आकर्षित गर्छ, जसमा पुरुष र महिलाबीच कुनै भेदभाव हुँदैन । यो फेसनले लैङ्गिक लचिलोपन अपनाउँछ । मेलिनाको यो दृष्टिकोण जेनजीको समावेशी सोचलाई प्रतिबिम्बित गर्छ ।
समग्रमा, जेनजीको फेसनमा ओभरसाइज्ड टी–सर्ट, ब्यागी प्यान्ट, कार्गो प्यान्ट, हुडी, क्रप टप, लेयरिङ, युनिसेक्स कपडा, थ्रिफ्टेड वा सेकेन्ड ह्यान्ड कपडा जस्ता तत्वहरू प्रमुख छन् । यो पुस्ताले परम्परागत ‘मेल–फिमेल’ फेसनको सीमालाई तोड्न चाहन्छ । पुरुषले कुर्ता लगाउनु, महिलाले मेन्सवेयर स्टाइल अपनाउनु वा जेन्डर–न्युट्रल फेसन रोज्नु उनीहरूका लागि सामान्य भइसकेको छ ।
अघिल्लो पुस्ताले भन्दा सस्तो र सहज लुगा लगाउने गरेका छन् । यस्तै उनीहरु कालो रंग बढी रुचाउँछन् । युनिसेक्स वा केटा र केटीले सराबरी लगाउन मिल्ने पहिरन उनीहरुको रोजाइमा परेको छ ।
फेसन उनीहरूका लागि नियम होइन, बरू खेल मैदान जस्तै हो– जहाँ प्रयोग गर्न र गल्ती गर्न पनि स्वतन्त्रता छ । साथै, हिप्पी फेसन पनि जेनजीहरूमा लोकप्रिय छ, जसले स्वतन्त्रता र प्रकृतिप्रेमी दृष्टिकोणलाई जोड दिन्छ ।
डार्क कलरहरूको लोकप्रियता : मनोवैज्ञानिक र सांस्कृतिक कारणहरू
जेनजीहरूले कालो, गाढा खैरो, गाढा निलो, म्यारुन, डार्क ग्रीन जस्ता डार्क कलरहरूलाई विशेष रुचाउँछन् । यसका पछाडि मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक कारणहरू छन् ।
आत्मअभिव्यक्ति र भावनात्मक गहिराइ
जेनजीहरू खुला रूपमा मानसिक स्वास्थ्य, एक्लोपन, चिन्ता र अवसाद जस्ता विषयमा कुरा गर्छन् । डार्क कलरहरू उनीहरूको भित्री भावनाको प्रतिबिम्ब बन्छन् । यी रङहरू उदासी मात्र होइनन्, गहिराइ, सत्य र इमानदारीको प्रतीक पनि हुन् ।
विद्रोह र अस्वीकृतिको संकेत
अघिल्ला पुस्ताले चम्किला रङ, मिलेको पोशाक र ‘सभ्य’ देखिने फेसनलाई प्राथमिकता दिए । तर जेनजीले त्यसको उल्टो बाटो रोजेका छन् । डार्क कलर, रफ लुक र असजिलो देखिने स्टाइल समाजले बनाएको ‘सुन्दरता’ को परिभाषाप्रति गरिएको मौन विद्रोह हो ।
मिनिमलिज्म र गम्भीरता
डार्क कलरहरू सरल तर प्रभावशाली हुन्छन् । धेरै रङ मिसाउनु नपर्ने, सजिलै म्याच हुने र समयसँगै पुरानो नदेखिने गुण हुन्छ । जेनजीले छिटो परिवर्तन हुने ट्रेन्डभन्दा ‘टाइमलेस’ लुक मन पराउँछन्, जसमा डार्क कलर उपयुक्त हुन्छ ।
डिजिटल संस्कृतिको प्रभाव
जेनजी इन्टरनेट, गेमिङ, एनिमे, के–पप, अल्टरनेट म्युजिक र सब–कल्चरमा गहिरो रूपमा जोडिएका छन् । गोथ, इमो, पंक, ग्रन्ज, स्ट्रीटवेयर जस्ता संस्कृतिमा डार्क कलर प्रमुख हुन्छ । टिकटक, इन्स्टाग्राम र पिन्टरेस्टले यी स्टाइललाई अझ लोकप्रिय बनाएका छन् ।
सुरक्षा र आत्मविश्वासको अनुभूति
धेरै जेनजीका लागि डार्क कपडा ‘सेफ स्पेस’ जस्तै हुन्छ । यसले शरीर लुकाउँछ, कमजोरी ढाक्छ र आत्मविश्वास दिन्छ । कालो रङ लगाउँदा आफूलाई बलियो, कूल र नियन्त्रणमा भएको अनुभूति हुन्छ ।
यी कारणहरूले जेनजीको फेसनलाई भावनात्मक रूपमा गहिरो बनाएका छन् ।
सस्टेनेबल र एथिकल फेसनस् विचारलाई प्राथमिकता
जेनजीहरू ब्रान्डभन्दा विचारलाई महत्व दिन्छन् । कुनै ब्रान्ड वातावरणमैत्री छ कि छैन, त्यो कम्पनीले श्रमिकमाथि शोषण गर्छ कि गर्दैन, समावेशी छ कि छैन– यी प्रश्नहरू उनीहरूको फेसन छनोटसँग जोडिन्छन् । यसैले ‘सस्टेनेबल फेसन’ र ‘एथिकल फेसन’ जेनजीमाझ लोकप्रिय बन्दै गएको छ । थ्रिफ्टेड वा सेकेन्ड ह्यान्ड कपडा प्रयोग गरेर उनीहरू वातावरण संरक्षणमा योगदान दिन्छन् । यो पुस्ताले फेसनलाई सौन्दर्य मात्र होइन, सामाजिक जिम्मेवारीको रूपमा हेर्छ ।
फेसन विशेषज्ञको दृष्टिकोण
फेसन डिजाइनर दिलमाया मगरका अनुसार, जेनजीहरूले पछिल्लो समय ९० को दशकको स्टाइललाई निकै रुचाइरहेका छन् । पहिलेका पुस्तामा स्टाइलिश, सिरिलिक्क र शरीरमा फिट हुने लुगा धेरै प्रचलनमा थियो भने अहिले जेनजीहरू ब्यागी, लुज फिटिङ, ओपन अप र कम्फर्टेबल लुगालाई प्राथमिकता दिन्छन् । उनीहरू बडी फिटेडभन्दा बढी फ्री र क्याजुअल वेयर मन पराउँछन्, जसले सजिलो र आरामदायी महसुस गराउँछ ।
कलरको कुरा गर्दा, जेनजीहरू न्यूट्रल कलरहरू (जस्तै: स्किन टोन, टिन्टेड शेड) लाई रुचाउँछन् । यो ट्रेन्डमा कम्फर्ट मात्र होइन, ९० को दशकको प्रभाव पनि मिसिएको छ । फ्रिल जस्ता तत्वहरूले आरामको अनुभूति दिन्छन् । जेनजीहरू विगतका पुस्ताजस्तै यो स्टाइलमा ढल्किरहेका छन्, तर उनीहरूको मुख्य फोकस कम्फर्ट र सजिलो जीवनशैलीमा छ । यो प्रवृत्ति हुनुमा संगीत तथा अन्य सांस्कृतिक पक्षबाट प्रभावित भएको देखिन्छ । दिलमायाका अनुसार, जेनजीहरूसँग कुरा गर्दा उनीहरूले कम्फर्टलाई नै मुख्य कारण बताउने गर्छन् ।
जेनजीको फेसनले विविधता, स्वतन्त्रता, कम्फर्ट र जिम्मेवारीलाई जोड दिन्छ । उनीहरूले फेसनलाई व्यक्तिगत अभिव्यक्ति, सामाजिक विद्रोह र वातावरण संरक्षणको माध्यम बनाएका छन् । डार्क कलरहरूको प्रयोगदेखि युनिसेक्स र सस्टेनेबल ट्रेन्डसम्म, यो पुस्ताले फेसनलाई नयाँ उचाइ दिएको छ ।