सारांश
- रामेछापको मन्थलीमा भएको बस दुर्घटनाको छानबिनको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्।
- दुर्घटनामा १२ जनाको मृत्यु भएपछि स्थानीय प्रशासन र यातायात समितिले चासो नदेखाएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।
- स्थानीयले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको माग गरेका छन्।
मन्थली । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् ।
१२ जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् ।
स्थानीयहरूले काठमाडौँबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाउँबाट छुटेका गाडीहरूलाई खिम्तीमै रोकेका हुन् ।
स्थानीयहरूले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगायतका माग राखेका छन् ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।