Suchana Vatika

वडाबाटै जग्गाको काम सुरु काठमाडौँ महानगर

सारांश

  • काठमाडौं महानगरपालिकाले जग्गासम्बन्धी सेवा घरदैलोमै उपलब्ध गराउन ‘भू-सेवा केन्द्र’ र ‘भू-सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ।
  • भूमि व्यवस्था मन्त्रीले सेवाको शुभारम्भ गर्दै जग्गा नै मुख्य सम्पत्ति बनेको र प्रविधिको प्रयोग बढाइने बताए।
  • पाइलट प्रोजेक्टको रूपमा १० वटा वडाबाट सेवा सुरु गरिएको छ, र निकट भविष्यमै यसलाई ३२ वटै वडामा विस्तार गर्ने तयारी छ।

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकलाई जग्गासम्बन्धी सेवा घरदैलोमै उपलब्ध गराउन ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले यो सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

संविधानले परिकल्पना गरेको ‘गाउँगाउँमा सिंहदरबार’ को अवधारणालाई मूर्त रूप दिन र सिंहदरबारमा पाइने सुविधाहरू स्थानीय तहबाटै उपलब्ध गराउन जग्गासम्बन्धी अधिकार महानगरलाई हस्तान्तरण गरिएको हो। मन्त्री इङ्नामले काठमाडौँ उपत्यकाका ९५ प्रतिशत नागरिकको मुख्य सरोकार र सम्पत्तिको स्रोत जग्गा जमिन नै रहेकाले अब सरकारी सेवाका लागि मन्त्रालय वा विभाग धाइरहनु नपर्ने बताए। 

उनले राज्यले नागरिकलाई उद्योगधन्दामा लाग्न सिकाउन नसक्दा जग्गा नै मुख्य सम्पत्ति बन्न पुगेको भन्दै अब प्रशासनिक झन्झट मुक्त बनाउन प्रविधिको प्रयोग बढाइने जानकारी दिए।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ४७ औँ कार्यपालिका बैठकको निर्णय बमोजिम हाललाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा १० वटा वडाबाट यो सेवा सुरु गरिएको जानकारी दिइन्। पहिलो चरणमा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट सेवा सुरु भएको छ भने निकट भविष्यमै महानगरका ३२ वटै वडामा यसलाई विस्तार गर्ने तयारी छ।

प्राविधिक र भौतिक तयारीका कारण एकैपटक सबै वडामा जान नसकिए पनि पहिलो चरणको अनुभवका आधारमा अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिने उनले स्पष्ट पारिन्। यो प्रणाली लागू भएसँगै अब राजश्व संकलन, बायोमेट्रिक विवरण लिने, जग्गा किनबेचका लागि तमसुक बनाउने, बैंक प्रयोजनका लागि जग्गा रोक्का र फुकुवा गर्ने तथा जग्गाको पुर्जा प्रिन्ट गर्ने जस्ता महत्त्वपूर्ण कामहरू वडा कार्यालयबाटै सम्पन्न हुनेछन्। 

यसबाट मालपोत कार्यालयमा हुने अनावश्यक भीडभाड कम हुने र नागरिकले झन्झटरहित सेवा पाउने अपेक्षा गरिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.