‘यो आह्वानलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । केन्द्रमा पनि हाम्रो सभापति र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिसँग संवाद भइरहेको छ । त्यहीँबाट निकास आओस् भन्ने चाहेका छौँ,’ मल्लले भने ।
११ फागुन, काठमाडौं । कर्ण मल्लसहित नेपाली कांग्रेस (बिपी) डडेलधुराका नेता कार्यकर्ता नेपाली कांग्रेसमा फर्किन सकारात्मक देखिएका छन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले आइतबार विज्ञप्ति निकाल्दै सातौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवादपछि पार्टीबाट निष्कासनमा परेका पूर्व जिल्ला सभापति मल्लसहितका नेताहरूले पार्टीमा फर्किन आह्वान गरेको थियो ।
जसको प्रतिक्रियामा कांग्रेस (बिपी) ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस एकता प्रक्रिया अघि बढाउन तयार भएको जनाएको छ । बिपी कांग्रेसका जिल्ला सभापति भरत नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा डडेलधुरा कांग्रेसले गरेको आह्वानको स्वागत गर्दै भनिएको छ, ‘पार्टी एकताको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेलधुरा र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ ।’
डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउँदले आइतबार जारी गरेको विज्ञप्तिमा सातौँ जिल्ला अधिवेशनका बेला सहभागी हुन नपाएका तत्कालीन सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपालीलगायतलाई सक्रिय योगदान दिन आग्रह गरेको थियो ।
बिपी कांग्रेसका केन्द्रीय उपाध्यक्षसमेत रहेका मल्लले एकता प्रक्रिया कांग्रेसकै कारणले ढिलाइ भएको बताए । उनले भने, ‘श्रद्धेय सभापति शेरबहादुर देउवा हुँदादेखि नै दुई पार्टीबिच एकता प्रक्रिया सुरु भइसकेको थियो । पुस ३ गते नै कार्यविधिअनुसार पार्टी समायोजन गर्ने भनिएको थियो । उहाँहरूको विशेष महाधिवेशनपछि विकसित घटनाक्रमले ढिलाइ हुन पुगेको हो ।’
अहिले डडेलधुरा कांग्रेसबाट आएको आह्वानलाई आफूहरूले सकारात्मक रूपमा लिएको उनले बताए । ‘यो आह्वानलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । केन्द्रमा पनि हाम्रो सभापति र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिसँग संवाद भइरहेको छ । त्यहीँबाट निकास आओस् भन्ने चाहेका छौँ,’ मल्लले भने ।
डडेलधुराका हकमा पनि प्रक्रियागत रूपमा प्रस्ताव आए छलफल गर्न सकिने उनले बताए । ‘यो व्यक्ति भन्दा पनि दुई पार्टीको कुरा हो । उहाँहरूको सभापति र उम्मेदवारले प्रस्ताव ल्याउनुपर्यो,’ मल्लले भने, ‘समायोजनबारे यहीँ पनि आवश्यक छलफल गर्न सकिन्छ ।’
आफूहरूसँग कुनै सर्त नभएको पनि उनले बताए । ‘कुनै सर्त छैन । मात्र व्यक्ति भन्दा पार्टी समायोजनको कुरा भएकाले प्रक्रियामा जानुपर्यो भन्ने मात्रै हो,’ मल्लले भने ।